पाकिस्तानी पूर्व राष्ट्रपति मुसर्रफ गिरफ्तार

इस्लामावाद, वैशाख ६,

पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई राजधानी इस्लामावादस्थित उनको निवासबाटै प्रहरीले गिरफ्तार गरेको छ। बिहीबार बिहान इस्लामावाद उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। फैसला आउने बित्तिकै मुसर्रफ अदालत परिसरबाट भागेका थिए।

कडा सुरक्षा व्यवस्था भए पनि पूर्व राष्ट्रपतिलाई कसैले पनि रोक्ने प्रयास गरेका थिएनन्। त्यसपछि हिजो उनलाई नजरबन्दमा राखिएको थियो। उनी पाकिस्तानका राष्ट्रपति रहँदा न्यायाधीशहरुलाई बर्खास्त गरिएको सम्बन्धमा परेको एउटा मुद्दा अहिले उनले खेपिरहेका छन्।

यो साता मुसर्रफका लागि निकै कठिन भएको छ। सन् १९९९ मा सैनिक विद्रोह गरी झण्डै एक दशक सत्तामा रहेका उनी चार वर्षको स्वनिर्वासनपछि गत महिनामात्रै स्वदेश फर्किएका थिए। तर मे ११ मा हुन लागेको संसदीय निर्वाचनमा उम्मेदवार हुन उनलाई पेशावरको एउटा अदालतले गत साता प्रतिबन्ध लगाएको थियो।(एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com