चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने 'रामनवमी' पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ। आज यो पर्वको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको छ।
असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ।
आज काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ।
आजकै दिन उहाँको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म- -वाल्मीकि- तुलसीकृत- भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ। आजका दिन व्रत बसी रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने 'व्रतार्क' नामक धर्मग्रन्थमा उल्लेख छ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई विष्णुको सप्तम अवतारका रूपमा जन्मनुभएका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गर्नुभएको तथा आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ। रासस;