पर्वत बैशाख १४,
राजु पौडेल : व्यावसायिक तरकारी खेती गरेर विद्यालय संचालन
विद्यार्थी आकर्षण गर्न पोशाक वितरण
पर्वत । पर्वतको देउपुरमा रहेको प्रभावकारी प्राविले तरकारी खेती गरेरै भएपनि निजी श्रोतका शिक्षक राखी १ देखि ५ सम्म अंग्रेजी पठनपाठन प्रारम्भ गरेको ।
जसका लागि व्यवासायिक तरकारी खेती संचालन समेत गर्दै आएको छ भने सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गैरहेको अहिलेको अवस्थामा विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई टिकाउन र नयाँ विद्यार्थीलाई आकर्षित गर्न खेलक’द, स्टेशनरीका साथै नयाँ शैक्षिक सत्रसँगै पोशाक समेत वितरण गरेको छ ।
सरकारले घोषणा गरेको विद्यार्थी भर्ना अभियान र विद्यालय स्वागत कार्यक्रम प्रभावकारी हुन नसकिरहेको बेला यहाँको एक विद्यालयले आफ्नै पहलमा विद्यार्थी आकर्षण गर्ने एउटा गतिलो उपाय अबलम्बन गरेको छ ।
विद्यार्थी टिकाउ र पहुँच बृद्धी गर्ने उद्धेश्यका साथ जिल्लाको देउपुर गाबिसको वडा नं ३ गैराथोकमा रहेको प्रभावकारी प्राथमिक विद्यालयले विद्यालयमा अध्ययनरत छात्रा(छात्रहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरी निशुल्क पोशाक वितरण गरेकोे छ ।
उक्त कार्यक्रममा ग्रीन नेपालको सहयोग र विद्यालयले संचालन गर्दै आएको व्यवसायिक तरकारी खेतिबाट भएको आम्दानीबाट विद्यालयका ५५ जना विद्यार्थीहरुलाई एक सेट पोसाक उपलब्ध गराइएको हो ।
पोशाक वितरणमा सत्ताइस हजार खर्च भएको विद्यालयले जनाएको छ ।
अधिकांश विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएको कारण नियमित रुपमा पोशाक लगाई विद्यालय आउन उनीहरुलाई समस्या भैरहेको थियो । यस कार्यले उनीहरुलाई नियमित विद्यालय आउन र पोसाकमा खर्चिनु पर्ने रकम शैक्षिक सामग्री किन्न सहयोग पुग्नेछ । विद्यालयका प्रधानाध्यापक झलक शर्माले बताए । उनले भने( हामीले विगत दुई बर्ष देखि विद्यालयकै पहलमा जग्गा भाडामा लिएर तरकारी खेति गरिरहेका छौँ ।
अदुवा, गोलभेंडा, मुला लगायतका तरकारीहरु उत्पादन गरी बिक्री गरेर त्यसबाट भएको आम्दानी विद्यालयमा निजी स्रोतमा नियुक्त गरिएका शिक्षक शिक्षिकाहरुको तलव, विद्यार्थीहरुको लागि आवश्यक पर्ने स्टेशनरी, अंग्रेजी माध्यमका पाठ्यपुस्तक खरिदका लागि लाग्ने थप खर्च, विद्यार्थीलाई पोशाक तथा छात्रवृत्ती लगायतका शीर्षकमा खर्च गर्ने गरेका छौं ।
विद्यालयले कक्षा पाँच सम्म अंग्रेजी माध्यममा पठन पाठन संचालन गर्दै आइरहेको छ ।
पठन पाठनको अतिरिक्त व्यवसायिक खेतिको बारेमा समेत विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने गरिएको विद्यालयकी शिक्षिका पवित्रा कार्कीले बताइन । विद्यालयका संस्थापक अध्यक्ष देव वहादुर क्षेत्रीले आफ्नो अनुभव सुनाउँदै भने ( केटा केटीहरु ससाना उमेरका भएको हुनाले उनीहरुलाई कठिन काममा लगाइएको छैन ।
खनजोत, गोडमेल लगायतका सबै काम हामी अभिभावक र शिक्षक मिलेर गर्छौ ।
विद्यार्थीहरुले बिदा र फुर्सदको समयमा अवलोकन गर्ने, पानी हाल्ने, खेति गर्ने तरिका सिक्ने गर्दछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम क्षेत्री भन्छन्( हाम्रा विद्यार्थीहरुले घरमा गएर परिवारका सदस्यहरुलाई काममा सघाउने गर्छन् । त्यत्तिकै अनावश्यक काममा भुलेर समय बर्बाद पार्ने गरेको हामीले भेटेका छैनौँ ।
उनीहरु कि त पढिरहेका हुन्छन् कि काममा व्यस्त हुन्छन् ।
सामुदायिक विद्यालयले नियमित पढाइको अतिरिक्त यी र यस्तै कार्यहरु गर्न सके विद्यार्थीहरुमा श्रम प्रति आस्था जगाउन र श्रमको सम्मान गर्ने बानीको विकास गर्न सकिँदो रहेछ भन्ने सन्देश विद्यालयले दिएको स्थानीय अभिभावकहरु बताउँछन् ।