नेपाली जनताको निर्णय नै आधिकारिक हुने कार्टर

काठमाडौं, चैत १९ ,

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति एवम् दि कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरले आफ्नो मुलुकको निर्णय लिन नेपाली जनता स्वयम् सक्षम रहेको बताएक छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली जनता आफ्नो अधिकारको प्रयोग गर्न सक्षम रहेको र उनीहरुले गर्ने निर्णय नै सबैभन्दा आधिकारिक हुने बताएका छन् । 

तोकिएकै समयमा संविधानसभाको निर्वाचन हुनुपर्नेमा आफूले नेपालका राष्ट्रपति, अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष, प्रमुख राजनीतिक दलका नेताहरुलाई सुझाएको बताउँदै कार्टरले मनसुनको समयभन्दा आगामी मङ्सिरमा नै निर्वाचन गर्नु उपयुक्त रहेको आफ्नो सुझाव रहेको भएपनि यसबारे नेपाली जनताले लिने निर्णय नै आधिकारिक हुने बताए । 

निर्वाचनबाट नै नेपालको प्रजातन्त्र र लोकतन्त्रको विकास र विस्तार हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले राजनीतिक सङ्कट समाधानका लागि प्रमुख राजनीतिक दलले गरेको सहमतिले मुलुकलाई निर्वाचनमा केन्द्रित गरेको भन्दै खुसी व्यक्त गरे । आफूले भेट गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचनलाई समयमै सम्पन्न गर्न प्रतिवद्ध रहेको पाएको जानकारी दिँदै उनले नेपालमा चाँडो भन्दा चाँडो संविधान लेखन हुनुपर्नेमा आफ्नो जोड रहेको बताए । 

मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले मुलुकका विभिन्न स्थानमा मतदाता नामावली सङ्कलनमा गरेको अवरोध जायज नभएको आफूलाई लागेको बताउँदै उनले आफूसँगको भेटमा पनि वैद्यले आफू निर्वाचनको विरोधी नरहेको बताएको जानकारी दिए । मतदाता नामावली सङ्कलनमा अवरोध गर्नुलाई गैरकानुनी भन्दै उनले सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने र मतदाता नामावली सङ्कलनमा देखिएको अवरोधलाई हल गर्नुपर्ने बताए । 

पछिल्ला दिनमा नेपालमा महिलामाथि हिंसाको घटना बढेकामा आफूलाई दुःख लागेको पनि उनले बताए । पूर्व राष्ट्रपति कार्टरले विघटित संविधानसभामा जस्तै यसपटक पनि महिलाको उपस्थिति उल्लेख्य हुनुपर्ने र अन्य क्षेत्रमा महिला तथा अल्पसङ्ख्यक क्षेत्रका नागरिकको सहभागिता बढी हुनुपर्नेमा जोड दिए । आफ्नो नेपाल भ्रमण अत्यन्तै सफल भएकामा खुसी व्यक्त गर्दै उनले नेपाल र नेपाली जनताले गर्ने निर्णय विश्व समुदायकालागि स्वीकार्य भएको बताए । 

यही चैत १६ गते नेपाल आउनुभएका कार्टरले राष्ट्रपति डा रामवरण यादव, अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, एमाओवादी, नेपाली काँग्रेस, नेकपा-माओवादी, मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग भेटवार्ता गरेका छन् । अघिल्लो संविधानसभाको निर्वाचनमा कार्टर सेन्टरले अनुगमन गरेको थियो भने आगामी संविधानसभाको निर्वाचनमा पनि अनुगमनका लागि सरकारसँग अनुमति मागेको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com