काठमाडौं, फागुन २९,
जिल्ला निर्वाचन कार्यालय काठमाडौँले फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक बनाउन घरदैलो कार्यक्रम पुनः सञ्चालन गर्न लागेको छ। नामवली सङ्कलन गर्न कार्यालयका प्रतिनिधि प्रत्येक घर घरमा पुगी मतदाता नामावली सङ्कलन तथा सङ्कलन भएकाहरूको नामावली अद्यावधिक गरी शुद्ध पार्नेछन्।
यसका लागि वडा कार्यालयहरूमा गठन भएका वडा नागरिक मञ्चलाई पनि परिचालन गरिने छ। साथै माइकिङ्समेत गरिने छ।
राजनीतिक सहमतिले जुनसुकै मितिमा नयाँ निर्वाचन घोषणा हुने भन्दै कार्यालयले अगामी चैत १ गतेदेखि ३० गतेसम्म काठमाडौँ जिल्लाका सबै गाविससहित महानगरपालिका र कीर्तिपुर नगरपालिकाका प्रत्येक वडामा स्थायी एवम् अस्थायी रूपमा बसोबास गरिराखेका मतदाताको फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ।
कार्यालयका प्रमुख शम्भुप्रसाद चालिसेले दिनुभएको जानकारी अनुसार कार्यालयले काठमाडौँका ५७ वटै गाविस, महानगपालिकाका र कीर्तिपुर नगरपालिकाका वडाहरूमा विगतमा फोटोसहितिको मतदाता नामावलीमा छुटेकाहरूको नयाँ नामावली सङ्कलन तथा अद्यावधिक गर्न १४ वटा प्राविधिक टोली परिचालन गर्न लागेको छ।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न कार्यालयले सबै गाविस तथा वडा कार्यालयका सचिवहरूका साथै सामाजिक परिचालन गर्न लागेको छ। 'उहाँहरूका लागि प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिसक्यौं', -कार्यालयका प्रमुख चालिसेले जानकारी दिए।
हालसम्म कार्यालयले यहाँ स्थायीरूपमा बसोवास गरेका पाँच लाखभन्दा बढी मतदाता र विभिन्न जिल्लाबाट यहाँ आइ अस्थायीरूपमा बसोवास गरिराखेका एकलाख ५० हजारभन्दा बढी मतादाताको फोटोसहितको मतदाता परिचयपत्र बनाई सम्बन्धित जिल्लामा पठाइसकेको छ।
कार्यालयले काठमाडौँमा फोटोसहित मतादाता परिचयपत्र बनाउन चारलाखसम्म मतदाता बाँकी रहेका अनुमान गरेको छ।
'ती मतदातालाई फोटोसहितको परिचयपत्र बनाउनका लागि हामीले अभियान सञ्चालन गर्न लागेका हौं', काठमाडौँ निर्वाचन कार्यालयका प्रमुख चालिसेले भने।
कार्यालयले फोटोसिहतको मतदाता नामावलीका आधारमा राष्ट्रिय परिचयपत्र बनाउन सहयागसमेत हुने भएकाले यसकार्यलाई सहयोग गर्न कार्यलयले आग्रह गरेको छ। रासस;