ऐतिहासिक स्थल गलकोट पर्यटकीय क्षेत्रका रुपमा विकास

बागलुङ, फागुन २७ ,

बागलुङ जिल्लाको ऐतिहासिक स्थल गलकोटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय स्तरबाट पहल सुरु भएको छ। त्यसक्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न गाउँलेहरु यत्तिखेर कस्सिएका छन्। गलकोटमा रहेका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा गलकोटवासी जुटेका हुन्। गलकोटको पर्यटन विकासका लागि गलकोट घुम्टे पर्यटन विकास समिति गठन भएको छ। 

समितिले गलकोटमा रहेको एक हजार १०० फिट अग्लो घुम्टेको लेकमा पुग्ने पदमार्ग निर्माणको काम अघि बढाएको छ। पर्यटन कार्यालयको आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माणको कामअघि बढेको हो। रु १६ लाखको लागतमा निर्माण हुने ६ किलोमिटरको उक्त पदमार्गका लागि स्थानीय जनताले रु तीन लाख बराबरको श्रमदान जुटाउने भएका छन्। 

बाँकी रु १३ लाख भने पर्यटन कार्यालय पोखराले उपलब्ध गराएको छ। समितिले आगामी दिनमा पनि गलकोट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि काम गर्ने जनाएको छ। आगामी वैशाखभित्रै पदमार्ग निर्माणको काम सकिने गलकोट समितिका अध्यक्ष झमकबहादुर बस्नेतले बताए। उहाँका अनुसार घुम्टेको लेक, ऐतिहासिक गलकोटे राजाको दरवार, गाजाको दह, गाइघाटको झरना, हटियाको कोतदरवार, दर्जनौँ ठाउँमा रहेका गुफा, दरमखोलालगायतका ठाउँलाई पर्यटकीय क्षेत्र घोषणाका लागि पहल गरिने छ। 

'पर्यटन विकासका लागि प्रशस्त सम्भावना भएपनि प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा गलकोट ओझेलमा परेको छ', बस्नेतले भने, 'गलकोटलाई पर्यटकीय क्षेत्रको रुपमा उजिल्याउने हाम्रो लक्ष्य छ।' पदमार्ग निर्माणमा अगुवाइ गरेका पर्यटन व्यवसायी एवम् गलकोट विकास मञ्च काठमाडौँका मेघ खत्रीले आगामी पाँच वर्षभित्र गलकोटको मुहार फेरिने बताए। 

बागलुङ सदरमुकामदेखि १० कोष पश्चिममा रहेको गलकोट क्षेत्रभित्र १६ गाविस पर्छन्। चौबिसे राज्य हुँदा गलकोटे राजाले शासन गरेको स्थान भएकाले पनि उक्त स्थान ऐतिहासिक हिसाबले महत्वपूर्ण छ। प्राकृतिक सम्पदा, भूबनोट, सँस्कृति, रीतिरिवाज र जैविक हिसाबले पनि गलकोट जिल्लाको महत्वपूर्ण क्षेत्र मानिन्छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com