बुटवल, चैत्र १६ ,
अमृता अनमोल : मक्रहरकी कल्पना चौधरीको स्नातक पढ्ने धोको पूरा हुँदै छ । जिल्लाको विकट मानिने मैनहिया गाविसमा क्याम्पसन सञ्चालन भएपछि यी गृहिणीको चाहनाले उकेरा पाएको हो किनभने स्नातक पढ्ने बेलामा राम्रो ज्वाइँ आएको भन्दै बाआमाले विवाह गरिदिएका थिए ।
छिमेकी गाविस फर्साटिकरमा यज्ञदय बहुमुखी क्याम्पसमा सञ्चालन भएपछि कल्पनाजस्तै धेरै विवाहिता छोरी, बुहारीलाई विश्वविद्यालय शिक्षामा पहुँच विस्तार भएको हो । कल्पनाजस्ता विवाहका कारण पढाइ छुट्ने अवस्थामा पुगेका गाउँका धेरै छोरीबुहारीले अहिले क्याम्पस पढ्न पाएका छन् ।
घरबाहिर गएर पढ्न नपाउने छोरीबुहारीलाई लक्षित गरेर गाउँमै क्याम्पस सञ्चालन भएपछि छोरीबुहारीको बीचमै पढाइ छुट्ने समस्या हटेको हो । छोरीबुहारी शिक्षित हुने क्रमसँगै रोजगारी गर्ने क्रम पनि बढेको छ ।
दस वर्षअघि महायज्ञको आयोजना गरी क्याम्पस सञ्चालन गरिएको हो । त्यस निम्ति स्थानीय समाजसेवी दूधनाथ चौधरीले एक बिगा तथा रामलखन चौधरीले ५ कठ्ठा जग्गा दान गरेका थिए । जसमा क्याम्पस सञ्चालित छ ।
महायज्ञ गरेर सञ्चालित क्याम्पस भएकाले यसको नामसमेत यज्ञदय राखेको स्थानीय अगुवा तथा यज्ञदय बहुमुखी क्याम्पस सञ्चालन समिति अध्यक्ष सोमनाथ शर्माले बताए । उनका अनुसार क्याम्पसमा छोरीबुहारी ल्याउन सहज बनाउन वरपरका गाविस समेटेर सञ्चालक समिति बनाइएको छ ।
उक्त समितिलाई नै गाउँका विद्यार्थी ल्याउन जिम्मेवारी पनि दिइएको छ ।
विद्यार्थी तथा घरपरिवारलाई पढ्न पढाउन परामर्श गरेपछि छोरीबुहारीलाई क्याम्पस ल्याउन सहज भएको समिति सदस्य पदमलाल विश्वकर्माले बताए । 'घरपायकमा क्याम्पस र क्याम्पसले विद्यार्थी ल्याउने तरिका सहज भएकाले पढ्न इच्छा हुने बुहारीले पढाइलाई बीचैमा छोड्नुपर्ने अवस्था अहिले छैन,' उनले भने ।
२०६० मा स्थापित यज्ञदय स्नातक तहका बीए, बीएड, र बीबीएस पढाइ हुन्छ ।
क्याम्पसमा अहिले फर्साटिकर सहित आसपासका मोतीपुर, मानमटेरिया, मैनहिया, हर्नैया लगायत १० गाविसका ४ सय ५० विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ७६ प्रतिशत महिला रहेको क्याम्पस प्रमुख खगुपति न्यौपानेले बताए । छोरीबुहारीको पढाइप्रतिको लगाव देखेरे स्थानीयले स्नाकोत्तर तहसमेत गाउँमै सञ्चालन गर्ने तयारी गरेका छन् ।(इकान्तिपुर)