देशभर नारी दिवस मनाइ रहँदा घरेलु हिंसा पीडित महिलाको प्रहरी कार्यालयमै मृत्यु भएको

रुकम, फागुन २५ 

कमल थापा,- देशभर नारी दिवस मनाइरहेको बेला रुकुममा घरेलु हिंसा पीडित एक महिलाको प्रहरी कार्यालयमै मृत्यु भएको छ। पतिबाट पीडित रुकुम कोल गाविस- १ की ४५ वर्षीया कासीपुरा बुढाको जिल्ला प्रहरी कार्यालय रुकुमको परिसरमै अचानक मृत्यु भएको हो। 

पति लालकुमारले दोस्रो विवाह गरेपछि न्यायको लागि प्रहरी कार्यालयको परिसरमा छलफल हुँदै गर्दा उनी बेहोस भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। ‘छलफलको लागि दुबै पक्षलाई प्रतिक्षालयमा बसेका थिए । एक्कासी कासीपुरा बेहोस हुन पुगिन्,' प्रहरी नायव उपरीक्षक भट्टले भने, ‘बेहोस अवस्था रहेकी उनलाई अस्पताल लैजाँदा लैजाँदै बाटोमै मृत्यु भयो।' 

मृतक कासीपुराले पतिको विरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएकी थिइन्। उनले पति लालकुमारबाट आफू पीडित भएको भन्दै गासबासको व्यवस्था गरिदिन जिल्ला प्रहरी कार्यालयमा कारकाहीको लागि निवेदन दिएकी थिइन्। सदरमुकाममा महिलाहरुले मुक्तिको नारावाजी सहित बजार परिक्रमा गरिरहेका थिए। 

महिलाहरुले लगाएका नारा बारे छलफल भइरहेको स्थानमा प्रष्ट सुनिन्थे। महिलाहरुको र्यामली लगाएको चर्को नाराले उनलाई न्याय दिन सकेन। बोल्दा बोल्दै एक्कासी भुइँमा लडिन्। त्यसपछि उनको होस नै आएन्। कासीपुरा प्रहरी कार्यालयमै न्यायको लागि कुरिरहँदा उनकी १४ वर्षीया छोरी छायाँ बुढा भने नारी दिवसको कार्यक्रममा सहभागी हुने तरखरमा थिइन्। कान्छी पत्नी ल्याएपछि उनि छुट्टै बस्दै आएकी थिइन्। आमाको मृत्यु भएपछि उनको छाराछोरीको बिचल्ली हुने अवस्था आएको छ। 

कान्छी पतिबाट भने सन्तान भएको छैन। जेठी पत्नीको नाममा रहेको घरजग्गा कान्छी श्रीमतीको नाममा बनाइ दिन थालेपछि उनीहरुबीच विवाद हुँदै आएको हो। आफूलाई बेला बेला कुटपिट गरेर हिंसा गदै आए पछि लामो समयदेखि उनी न्यायको खोजीमा थिइन् । 

घटनाबारे जिल्ला स्थित अधिकारवादी संघ सस्थाहरुले कुनै चासो देखाएका छैनन्। दुई महिना यता ७ जना महिलाले विभिन्न कारणमा आत्महत्या गरेका छन्। गत वर्ष भन्दा यो वर्ष झन्डै दोब्बर महिला हिंसाका घटना प्रहरीमा दर्ता भएका छन्। यस वर्ष प्रहरी, महिला तथा बालबालिका कार्यालय र महिला सञ्जालमा गरी ८० भन्दा बढी महिला हिंसाका उजुरी परेका छन्।  (स्रोत-नागरिक)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com