काठमाडौं, फागुन २५ ,
तपाइँ काठमाडौँमा बसोवास गरिरहनुभएको छ र मतदाता परिचयपत्र बनाउन आफ्नो गृहजिल्ला अहिलेसम्म जान भ्याउनुभएको छैन भने चिन्ता नगर्नुस्। काठमाडौं जिल्ला निर्वाचन कार्यालयले फोटोसहित मतदाता नामावलीमा छुटभएका मतदाताका लागि पुनः फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गर्न लागेको छ।
आफ्नो जिल्लामा गई परिचयपत्र बनाउन नभ्याएका र यहाँ स्थायी बसोवास भई अहिलेसम्म मतदाता परिचयपत्र नबनाएकालाई लक्षित गरी कार्यालयले आगामी चैत १ गतेदेखि ३० गतेसम्म घरघरमा गई नामावली सङ्कलन गर्ने भएको हो।
हालसम्म कार्यालयले यहाँ स्थायीरुपमा बसोवास गरेका पाँचलाखभन्दा बढी मतदाता र विभिन्न जिल्लाबाट यहाँ आई अस्थायीरुपमा बसोवास गरिराखेका एकलाख ५० हजारभन्दा बढी मतादाताको फोटोसहितको मतदाता परिचयपत्र बनाई सम्बन्धित जिल्लामा पठाइसकेको छ।
अभियान सञ्चालन गर्नका कार्यालयले काठमाडौँ जिल्लाका ५७ वटै गाउँ विकास समितिसहित काठमाडौं महानगरपालिकाका सबै वडा र कीर्तिपुर नगरपालिकामा सामाजिक परिचालक परिचालन गर्ने भएको छ। ती परिचालकले मतदाता नामावलीमा छुटेकाको नामावली सङ्कलन, मतदाता नामावली शुद्धता र यसको महत्वका बारेमा आम मतदातालाई शिक्षा एवम् जानकारी दिने कार्यक्रम रहेको छ।
कार्यालयले काठमाडौँमा फोटोसहित मतादाता परिचयपत्र बनाउन चारलाखसम्म मतदाता बाँकी रहेका अनुमान गरेको छ। "ती मतदातालाई फोटोसहितको परिचयपत्र बनाउनका लागि हामीले अभियान सञ्चालन गर्न लागेका हौं" काठमाडौँ निर्वाचन कार्यालयका प्रमुख शम्भुप्रसाद चालिसेले भने।
उनले काठमाडौँ बाहिरका जिल्लाका मतदाताका लागि पनि फोटोसहितको मतदाता नामावली सङ्कलन गरी सम्बन्धित जिल्लामा पठाइने जानकारीसमेत दिए।
यसैबीच कार्यालयले नामावली सङ्कलन कार्यमा खटिनेका लागि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ। निर्वाचन आयोगका सहसचिव अनिलकुमार ठाकुरले अनुशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै प्रजातन्त्रको मेरुदण्ड निर्वाचन र निर्वाचनलाई निष्पक्ष बनाउन शुद्ध मतदाता नामावली आवश्यक रहेको बताए।
काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी प्रेमराज जोशी, आयोगका उपसचिव गोपाल अर्याल र काठमाडौँका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले मतदाता नामावली सङ्कलनका बारेमा चर्चा गरेका थिए। रासस;