निर्वाचनको आधार मतदाता नामावली, मतदाता नामावलीको आधार नागरिकतालाई ध्यान दिँदै निर्वाचन आयोगले नागरिकता वितरण कार्य सुरु गर्न गृहमन्त्रालयलाई लिखित आग्रह गरेको छ। आयोगको सभाकक्षमा आज भएको आयोगका पदाधिकारीसहित गृहमन्त्रालयका उच्च अधिकृतहरुको बैठकमा आयोगले सो आग्रह गरेको हो ।
आयोगले नागरिकताबिना मतादाता नामावली सङ्कलन नहुने हुँदा नागरिकता वितरण सुरु गर्न गृहमन्त्रालयलाई आग्रह गरेको हो।
संविधानसभाको नयाँ निर्वाचनलाई ध्यान दिँदै गृहमन्त्रालयले अगामी दस दिनभित्रमा सवै जिल्लामा नागरिकता वितरण कार्य सुरु गर्न टोली परिचालन गर्न लागेको जानकारी आएको आयोगका प्रवक्ता एवम् सहसचिव अनिलकुमार ठाकुरले जानकारी दिए ।
नागरिकता वितरणका लागि गृहमन्त्रालयले ३०५ देखि ५६१ सम्मको टोली देशका सवै जिल्लामा परिचालन गर्ने र आयोगले साथ साथ फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न थाल्ने तयारी पनि बैठकमा भएको उनले जानकारी दिए ।
नागकिता वितरणका लागि गृहमन्त्रालयले १८ हजार ८८४ रजिष्टर्ड छाप्न समयलाग्ने भएकाले दसदिनपछि नागरिकता वितरण कार्य सुरु गर्न लागिएको हो। हालसम्म १ करोड १० लाखको फोटोसहितको मतदाता नामावली सङ्कलन भइसकेको र थप १५ लाख बनाउने लक्ष्य आयोगको भएको जनाइएको छ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नागरिकता नै फोटो सहितको नामावली संकलन गर्ने आधार भएकाले नागरिकता वितरण कार्य सुरु गर्न आग्रह गरेका थिए । रासस;