साक्षरता कक्षामा कपाल फुलेका वृद्धवृद्धा

चितवन, चैत २,

चितवनमा यस वर्ष औपचारिक रुपमै साक्षरता कक्षा सुरु भएको छ। चितवनको भरतपुरस्थित गोन्द्राङमा कपाल फुलेका वृद्धवृद्धालाई कसरा सिकाएर जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले आज साक्षरता कक्षाको उद्‌घाटन गरे।

कक्षा सञ्चालनका लागि शिक्षकहरुलाई तालिम दिइसकेको र यो अभियानलाई जिल्लाभर नै प्रभावकारी बनाउँदै लैजाने शर्माले बताए। साक्षरता कक्षामा भरतपुरका स्थानीय ६० देखि ८० वर्षसम्मका २५ वृद्धवृद्धा सहभागी रहेका छन्। कपाल फुलेपनि किताब, कपी र कलम समाउन पाएकामा निक्कै खुसी भएको सहभागी वृद्धवृद्धाले बताएका छन्।

उनीहरुले अब भने अरुले पढेको सुन्नुपर्ने भजन पनि आफूले पढ्न पाउने आशा समेत व्यक्त गरेका छन्। नयाँ गोरेटो पुस्तक हातमा लिएर पढ्न बसेका उनीहरु आफैँले लेखेर भजन गाउनसमेत आतुर रहेको बताउँछन्। नयाँ गोरेटो नामको किताब बोकेर साक्षरता कक्षामा सहभागी भएकी ७८ वर्षकी गोमा गिरीले भाका हालीहाली साक्षरताको गीत मात्रै गाउनु भएन पढ्नलाई समेत सवैमा प्रेरणा दिए। चितवनमा कुल ६२ हजार निरक्षर रहेको शिक्षा कार्यालयको तथ्याङ्क छ।

यो वर्षमा करिब १५ हजारलाई साक्षर बनाउने लक्ष्य रहेको छ। एउटा फूलबारी गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपनि चितवनमा अन्य गाविसलाई पूर्ण साक्षर बनाउन सकिएको छैन। एक दर्जन गाविसलाई भने निःशुल्क र आधारभूत शिक्षा लागू भएको घोषणा गरिएको छ। चितवनमा कुल ७७ प्रतिशत मानिस साक्षर छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com