सडक दुर्घटना रोक्न गाडीको स्पिड कम गर्न अनुरोध

कावासोती, फागुन ३० ,

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा रहेको मकुन्डे खोला पुलमा आज बस ठोकिँदा बसमा सवार ३४ जना घाइते भएका छन्। नारायणगढबाट कावासोती आउँदै गरेको ना२ख ६६७६ नम्बरको बस अनियन्त्रित भई पुलमा ठोकिँदा सो दुर्घटनामा भएको हो।

दुर्घटनामा अमरापुरीका ३७ वर्षीय पुनममाया रानामगर, दिव्यपुरी-६ का २१ वर्षीय युवराज मल्ल, दिव्यपुरी-४ का १८ वर्षीय कुलबहादुर लुङ्गेली, कावासोती-१ का २२ वर्षीय सुमन रिजाल, रजहर-८ का नरबहादुर परियारलगायका ३४ जना घाइते भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये ३० जनाको पुरानो मेडिकल कलेज र अन्यको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको प्रहरीले जनाएको छ। घाइतेहरूको टाउको र हातमा बढी चोट रहेको छ। करिब सात आठ जना गम्भीर भए पनि अधिकांश सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

तीन दिनयता नवलपरासीमा दिनहुँ दुर्घटना भएको छ। सोमबार कावासोती जङ्गलमा बस पल्टदा २१ जना घाइते भएका थिए भने मङ्गलबार गैँडाकोटमा रोकेको ट्रकमा ट्याक्सी ठोकिँदा एक जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए।

दिनहुँजसो सवारी दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले स्पिड कन्ट्रोल गर्न चालकलाई अनुरोध गरेको छ। बसलाई टाइम कार्डअनुसार समयमा पुग्ने होडबाजी हुँदा दुर्घटना बढेको हो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com