हरपल हरदम लम्बेतान बगेर ,
किनारको फोहोर आफुमा समाहित गर्दै
ढुंगामा ठोकिएर
सयौं पटक मोडिएर
प्यासी बगर भिजाउँदै
अविरल बग्ने नदी र नारी एकै हो !
.
इतिहास पल्टाए पनि
बर्तमान लाई छामे पनि
कहिले जुवाको खालमा थापिए नारी ,
कहिले बन्दुकको नालमा उनिए नारी,
शाषक र तानाशाहका
काला हवसका सिकार भई
रातो रगत रोए नारीहरू ,
कोठा सडक या महल अनि
जून फूलेको रातमा होस् या
जुन निदाएको रातमा होस्
हरएक पल लुटिए नारीहरू,
एउटा भयंकर सपना जस्तो जिन्दगी बाँचेर,
कयौँले आफ्नो शुन्दर सपना टुटाए,
तर पनि छातिभरी आगो बोकेर
सुनाखरी हाँस्छन् नारीहरू,
किन की नारी सृष्टि हुन
यो धर्तीमा सुवाषित फूलहरू फूल्न छोड्नु हुन्न
आफै मुर्झिएर त फूल कसरि फक्रिएला यहाँ ?
घाम निरन्तर उदाउँछ र डुब्छ पनि
यानी उज्यालो पछिको अँध्यारो र
अँध्यारो पछिको उज्यालो धुर्बसत्य हो ,
अझ भनौ अँध्यारो त भ्रम हो आँखाको ,
जस्तो की औंशीको रातमा पनि
आकाशका तारा देखिन्छन्,
कालो रातले कहाँ छेक्छ आँखाको उज्यालो ?
हो अब यहि बेला बाटै
उज्यालो उदाउँनु नारी ,
चुला चौका तिम्रो दायरा हैन ,
बस्ति र सडकहरू डुल्ने गर
दाउपेचीहरू सँग दाउपेच खेल ,
अब यो युग तिम्रो हो ,
पात्र अनुसार अभिनय गर
अब तिमीले नै
नारीहरुको नियतिको
निराकरण खोज्नु पर्छ!!
मिरा मन थापा
माईधार झापा