बुटवल, फागुन २९
शेरबहादुर केसी - एसएलसी प्रथम श्रेणीमा पास भएपछि पूजा रानाले यहाँको प्रतिष्ठित प्लस टुमा महँगो शुल्क तिरेर व्यवस्थापनमा 'प्लस टु' पढ्न थालिन्। बाबु सानै उमेरमा बितेपछि छोरीको शिक्षादीक्षाकै लागि आमा रोजगारीका लागि इजरेल गइन्। आमा विदेसिएपछि घरमा हजुरआमाको रेखदेखमा बसेकी पूजा कक्षा १२ मा पुग्दा कुलतमा फसिन्।
छोरीको पढाइकै लागि इजरेल हानिएकी आमाले पठाइदिएको पैसा पूजाका लागि लागुपदार्थमा खन्याइएपछि उनको भविष्य अँध्यारोतिर धकेलिएको छ। स्कुलमा पढ्न गएकी नातिनीबारे धेरै सोधखोज नगर्ने हजुरआमाले केही समयअघि प्रहरीले लागुपदार्थसँगै पक्राउ गरेपछि छाँगाबाट खसेझैं भइन्। अहिले पूजाको पढाइ कक्षा १२ मै रोकिएको छ।
बाबुआमा युके गएपछि हजुरआमाको रेखदेखमा 'प्लस टु' पढ्दै गरेकी दीक्षा सारुले पनि पढाइ पूरा गर्न सकिनन्।
युकेमा रहेका बाबुआमा, अस्टे्रलियामा रहेका दाजु अहिले उनीसँग टाढिएका छन्।
बाबुआमाको रेखदेख अभावमा किशोर-किशोरी लागुपदार्थको कुलतमा फस्ने क्रम दिनप्रतिदिन बढिरहेको छ। केही वर्ष अघिसम्म किशोरमात्रै लागुपदार्थको कुलतमा फस्दै आएकोमा अहिले किशोरीको संख्या पनि बढिरहेको प्रहरीले जनाएको छ।
अभिभावकको निगरानी अभाव र साथीसंगीको लहैलहैमा लागुपदार्थको कुलतमा फसेका किशोरहरूकै संगतमा किशोरी पनि कुलतमा फसेका छन्।
केही समयअघि लागुपदार्थ खा"दै गर्दा पक्राउ परेका तामनगरका इन्द्रबहादुर थापाले लागुपदार्थ खाने आफ्नो समूहमा पा"च केटी रहेको बयान प्रहरीलाई दिएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका उनले नागरिकलाई भने, 'लागुपदार्थ खाने युवायुवतीको छुट्टाछुट्टै समूह छ। हाम्रो समूहमा पा"च केटी र १२ केटा छौं।'
नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय सीमावर्ती बजार सुनौलीमा सजिलै पाइने भएकाले यस क्षेत्रमा लागुऔषध प्रयोग गर्ने किशोरकिशोरीको संख्या डरलाग्दो ढंगले अघि बढिरहेको छ।
नेपालमा प्रतिबन्धित स्पास्मो, नाइट्रोसन, नाइट्राभेट, डाइजेपाम, नुफिन, फेनरागन, लुपिजेसिक, फेन्साडिल र ब्राउनसुगर भारतीय सीमावर्ती बजार सुनौलीमा सजिलै पाइन्छ।
अभिभावकले किताब-कापी किन्न र खाजा खान दिएको पैसा लागुऔषध किन्न प्रयोग हुन थालेपछि उनीहरुको पठनपाठन बीचमै रोकिएको छ।
अभिभावकले लागुऔषध किन्न पैसा दिन छाडेपछि कुलतमा फसेका कतिपय किशोरी लागुपदार्थ खान पैसा जुटाउन यौनव्यवसायी बनेका छन्। बुटवल सुख्खानगरकी प्लस टु पढ्दै गरेकी एक किशोरी पढाइ छाडेर यौन व्यवसायी बनेको प्रहरी अनुसन्धानले खुलेको छ।
लागुपदार्थको कुलतमा फस्नेहरू सुरुमा चुरोट, गा"जा हुँदै अलि कडाखाले लागुपदार्थ खाने गरेका छन्। केटा साथीको संगतमा परेर केटीहरू पनि लागुऔषधको कुलतमा फस्ने क्रम बढिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक रामेश्वर कार्कीले बताए।
लागुऔषध खाने पुरुषभन्दा महिला न्युन भए पनि पछिल्ला केही वर्ष महिलाको संख्या बढ्दै गएको प्रहरीको भनाइ छ।
समाजमा लागुऔषधको कुलतमा फस्नेहरु बढ्दै गएपछि प्रहरीले बुटवल र आसपास क्षेत्रमा लागुऔषधविरुद्ध अभियान चलाएको छ। समाजलाई दुर्व्यसनमुक्त बनाउन स्थानीय संघसंस्थासँगको सहकार्यमा अभियान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले बताए। लागुऔषधविरुद्धको प्रहरी अभियान फागनु १ देखि सुरु भएको हो।(स्रोत-नागरिक)