ढाका, फाल्गुन १९ ,
बंगलादेशमा मुस्लिम दल जमात-ए- इस्लामीका उपाध्यक्ष दिलवर हुसेन सइदलाई मृत्युदण्डको सजाय सुनाएपछि भड्किएको हिंसामा ज्यान जानेको संख्या ५३ पुगेको छ । सयौं घाइते भएका छन् ।
यहाँको युद्ध अपराधसम्बन्धी अदालतले बिहीबार स्वतन्त्रताकालीन अपराधको आरोपमा नेता सइदलाई उक्त सजाय सुनाएको थियो ।
उक्त निर्णयको विरोधमा भएको हिंसा राजधानी ढाका लगायत मुलुकका अन्य भागमा पनि फैलिएको छ ।
युद्ध अपराधसम्बन्धी दण्ड सजाय सुनाउन गठित उक्त अदालतको फैसलाको विरोधमा जमात-ए-इस्लामीका कार्यकर्ता सडकमा उत्रिएपछि हिंसा भड्किएको हो । अदालत आफ्नो दलविरुद्ध खनिएको आरोप उनीहरूले लगाएका
छन् । तर अदालती फैसला अनुसार मृत्युदण्ड दिइनपुर्ने माग गर्दै सर्वसाधारण पनि सडकमा उत्रिएका छन् । अदालतको फैसला आएको अघिल्लो दिन पनि उनलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्दै राजधानी ढाकामा प्रदर्शन गरिएको थियो ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुनका लागि वर्तमान बंगलादेशले ठूलो क्रान्ति गरेको थियो ।
उक्त स्वतन्त्रता संग्राममा पाकिस्तान र उसका समर्थकहरूले बंगलादेशीलाई व्यापक दमन गरेका थिए । उक्त बेलाको अपराध छानविन गरी दोषीमाथि कारबाही गरिनुपर्ने आवाज अधिकारवादीले उठाउँदै आएका छन् । उक्त माग सम्बोधन गर्दै सन् २०१० मा उक्त अदालतको स्थापना पनि गरिएको होे ।
सइद पनि त्यसै वर्ष पक्राउ
परेका थिए ।
यसअघि सोही दलका अरू तीनजनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । सइदलाई युद्धअपराध अदालतले हत्या, आगजनी, बलात्कार तथा हिन्दुलाई बलपूर्वक इस्लाम बनाएको लगायत आठ अभियोगमा दोषी प्रमाणित गरेको छ ।
उनलाई झुन्डयाएर मृत्युदण्ड दिन आदेश दिइएको छ । सइदका आलोचकका अनुसार उनले स्वतन्त्रता संग्रामका बेला हिन्दु र स्वतन्त्रता समर्थकका सम्पत्ति लुट्न गिरोह समेत बनाएका
थिए । उनलाई मानवताविरोधी नरसंहारको अभियोग छ ।
अदालतले यस सम्बन्धी पहिलो निर्णय गत जनवरी २१ मा सुनाएको थियो । त्यसपछि उक्त निर्णयविरुद्ध राजधानी ढाका र देशका विभिन्न भागमा प्रदर्शन भए ।
निर्णयको विरोधमा इस्लामी कार्यकर्ताबीच भएको भिडन्तमा प्रायः प्रहरीले चलाएको गोलीबाट प्रदर्शनकारीको ज्यान गएको जनाइएको छ । प्रहरी अधिकारीले भने प्रदर्शनकारीले आफूहरूमाथि आक्रमण गरेकाले गोली प्रहार गरेको जानकारी दिएका छन् ।
प्रदर्शनकारीले पनि तीन आफ्ना अधिकारीलाई नियन्त्रणमा लिई हत्या गरेको प्रहरीले जनाएको छ । हिंसाका घटनापछि राजधानी ढाका लगायत विभिन्न प्रमुख सहरमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।
राजधानीमा मात्र कम्तीमा पनि १० हजार प्रहरी खटाइएको बताइएको छ ।
हिंसाबाट १५ जिल्ला बढी प्रभावित भएको जनाइएको छ । सत्तारूढ अवामी लिग पार्टी र जमात-ए-इस्लामी पार्टीका कार्यकर्ताबीच भएको झडपमा पनि एकजनाको ज्यान गएको बताइएको छ । सइदका वकिलले युद्धअपराधसम्बन्धी अदालतको फैसलाविरुद्ध सर्वोच्च मा अपिल गर्ने बताए । पाकिस्तानबाट छुटिने बेला भएको आन्दोलनका क्रममा बंगलादेशमा ३० लाखभन्दा बढीको ज्यान गएको थियो ।एजेन्सी;