ओखलढुंगा, चैत २,
सुन्निएको गाला सुकाउन भनेर चिकित्सकले सुई लगाएपछि जिल्लाको मुलखर्क गाविस- ५ का अढाइ वर्षीय बालकको गाला झन् सुन्निएको छ।
शिक्षण अस्पताल काठमाडौं चिकित्सकले सुकाउने भनी सुई लगाई दिएपछि मूलखर्क- ५ का लक्ष्मण तामाङका तीन छोरामध्ये कान्छा धर्म तामाङको देब्रे गाला अस्वाभाविक रुपमा सुन्निदै गएको छ।
२६ दिनअघि एउटा सुई लगाएपछि गाला झनै अस्वाभाविक बढेकाले तामाङ दम्पती चिन्तित छन्।
जन्मेको छ महिनादेखि देखिएको सानो फोका उपचारका लागि कान्ति बाल अस्पताल लाँदा त्यसको उपचार टिचिङमा मात्रै सम्भव हुने भनेर सिफारिस गरिएका थिए। 'अहिले शल्यक्रिया गर्न मिल्दैन।
सुकाउनका लागि एउटा सुई लगाइदिनुपर्छ भनेर सुई लगाइदिए' बालकका बुबा लक्ष्मणले भने, फेरि चैत १६ गते बोलाएका छन् तर यहाँ ल्याउनेबित्तिकै यसरी बढेपछि डर लागेको छ।
उनका अनुसार गालामा बढेको भाग दुख्ने गरेकाले बच्चा धेरैजसो रुने गर्छ।
छाम्दाखेर ससाना गिर्खाजस्तै भेटिने गालाको उक्त भाग साह्रो भएको छ।
यसअघि पनि उपचारका लागि लाँदा नसामा पानी जमेको हो, अहिले शल्यक्रिया गर्न बच्चा सानो छ, पछि ल्याउनु भनी काठमाडौँबाट बच्चालाई फर्काएका थिए।
ट्युमरजस्तै देखिने गरी अस्वाभाविक गाला बढेपछि ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा लगे पनि चिकित्सकले यहाँ उपचार सम्भव नहुने बताएको तामाङ दम्पतीले बताए। बालक धर्मको गालाको भाग बढेकाले टाउको नै सीधा नहुने अवस्थामा पुगेको छ।
चिकित्सकले चैतमा बोलाए पनि अब छिट्टै पुनः सोही अस्पताल पुर्याएर देखाउने अभिभावकले बताए। आर्थिक अवस्था सामान्य भएका बालकका बुबा लक्ष्मण हालै मात्र वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकबाट फर्किएका हुन्।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै