काठमान्डू चैत्र १३,
डा.हेमराज कोइराला- फागुन शुक्ल पुर्णिमाका दिन होलीका दहनको खुसीयालीमा होली पर्व मनाइन्छ। सिंन्दुर, अबीरका साथै अरु रंग दलेर सुख, स्वास्थ्य, संमृद्धिको कामना गर्दै मनाइन्छ। होलीका दहनको कथा बोकेको पर्व आधुनिक युगसम्म आइपुग्दा स्वास्थ्य दहनको उत्सव बन्दै छ।
रङ/ के बाट बन्छ/स्वास्थ्यमा हानी:
कालो/ लेड अक्साइड/ मृगौला फेलिएर, नयाँ कुरामा सिक्नमा असक्षमता, कलेजोलाई हानी
हरियो/ निलो तुथो/ आँखाको एलर्जी, अल्पकालीन अन्धोपन, छालामा जलन
बैजनी/ क्रोमियम आयोडाइड/ आस्थमा, एलर्जी, श्वास रोग
चाँदी जस्तो सेतो/ एल्मिुनियम/ ब्रोमाइड क्यान्सर
रातो/ मरक्युरी सल्फेट/ छालाको क्यान्सर, मानसिक थकान, प्यारालासिर, अन्धोपन
निलो/ प्रशियन ब्लु/ छालाको एलर्जी
हरबल (बनस्पति) रंङ्गहरुको स्थान रासायनिक रंगहरुले लिई दिँदा स्वास्थ्य समस्या झेल्न बाध्य हुनु परेको छ। रासायनिक तत्वबाट रंग बनाउनु र कडा रंग निकाल्न प्रतिवन्धित पदार्थ मिलाउनुले होली जस्तो पवित्र पर्व स्वास्थ्य नासको अग्निकुण्ड बन्दै छ।
नब्बे प्रतिशत घुलनशील रंग बनाउन स्वास्थ्यमा प्रतिकुल असर पार्ने डाइहरु प्रयोग गरिन्छ। सुख्खा रंग बनाउन सिसा, मरक्यिुरी, पेट्रोलियम प्रोडक्ट जस्ता स्वास्थ्यका लागि हानीकारक तत्व प्रयोग गरिन्छ।
यसरी बनाइएका सुख्खा रंगमा एस्वेस्टस र सिलिका जस्ता तत्व पनि हुन्छ। यी तत्वले आँखा र छालाको संक्रमण गर्नुका साथै दम, खोकी जस्ता रोग जन्म दिन्छ।
सस्तो सामाग्रीबाट रङ्ग बनाउन पेट्रोलियम उत्पान, डिजल इन्जिन तेल, सिसाको धुलो हाल्नाले छाला, रगत, मृगौलाको संक्रमण हुन्छ। त्यस्तै कलेजो, मस्तिष्क र आँखा जस्ता कोमल अंगहरु दुर्बल बन्छन्। टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्छ। घुलनशिल रंगमा प्रायः जेनशियन भायोलेट भन्ने विषात् तत्व मिलाइएको हुन्छ। यसले छाला चिलाउने एलर्जी हुने, फोकाफोकी आउने, छालाको रङ्ग खुइलिने, डर्माटाइटिस जस्ता समस्या निम्त्याउन सक्छ।
रासायनिक तत्व मिलाएर बनाइएको कालो रङ्गमा लेडअक्साइड मिसाइएको हुन्छ। यो रसायन निलेमा वा श्वास द्धारा लिए घातक हुन सक्छ। यसले छाला, आँखा, श्वास नली, फोक्सो, मष्तिस्क, आन्द्रा, मृगौला, रगत र प्रजनानंङ्गहरुलाई प्रभावित गर्छ। एलर्जी छाला सुनिने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मृगौला फेलिएर हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड पोइजनिङमा (बिषात्तता) देखा पर्छ।
हरियो रङ्ग बनाउन कपर सल्फेट (नीलो तुथो) भन्ने रसायन हालिएको हुन्छ यो रसायनले आँखा तथा छालामा बिषात्तता पैदा गर्छ। छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउने र कोर्निया खराब हुने जस्ता समस्या आउन सक्छ। यो तत्व निलेमा बान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुकासाथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अङ्गहरुलाई पनि हानी पुर्यातउँछ।
क्रोमियम ब्रोमाइड भन्ने रसायन बैजनी रङ्ग बनाउन प्रयोग गरीन्छ। यो तत्व श्वास र फोक्सोका लागि हानीकारक छ। श्वास बढ्ने दम, खोकी लाग्ने एलर्जी हुने जस्ता लक्षण देखिन सक्छ। चाँदी जस्तो चम्कने (ग्लिटर) सेतो रंगमा एल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको बिषत्ताले क्यान्सर हुन सक्छ। आँखा, छाला र श्वासन प्रणालीमा प्रत्यक्ष हानी पुर्याबउने तत्वले फोक्सोको क्षय, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुनिने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या निम्त्याउँछ।
निलो रङ्ग बनाउन प्रशियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्स जस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियत समस्या देखिन सक्छ।
रातो रंग बनाउन प्रयोग गरीएको मरक्युरी सल्फेट तत्व श्वासद्धारा शरिरभित्र गए छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाई हुने, दम बढ्ने जस्ता समस्या देखा पर्छन।
यो तत्व आँखामा पर्न गए नानी जल्न गई अन्धोपन हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्व मिसाइएको रंग खाएमा पेट दुख्ने, वाक वाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखा पर्छन। बिषत्तता ज्यादै भए रक्त नलीहरुले काम गर्न छोड्छन्।
अन्त्यमा :
होली आमोद प्रमोदको पर्व हो। खुसीको यो उत्सवमा हानीकारक रंग छनोटले स्वास्थ्य समस्या भोग्नु पर्ने हुन सक्छ। विशेष गरी आँखा, छाला, श्वासन अंग बचाउन जरुरी छ। समस्या देखिए चिकित्सकको सल्लाह लिनु पर्छ। (स्रोत-नागरिक)