समीकरण ईश्वर र मानिसको


काठमाण्डौ फागुन २१,

राजकुमार बानिया : नयाँ ईश्वरको घोषणा नामक काव्यका निम्ति २०६० सालमा मदन पुरस्कार पाइसकेका कवि हुन्, गोपाल पराजुली। काव्य, नाटक र कथाका पुस्तक निकाले पनि उनी केही वर्षयता गुमनामजस्तै छन्।

हुन त मदन पुरस्कार पाएका धेरै लेखकको चर्चा उनीहरूकै अन्य पुस्तकका सन्दर्भमा त्यति भएका छैनन्। अर्को वर्षको पुरस्कार घोषणा वा अर्को पुस्तक आउँदा उनीहरू चुरीफुरी गर्न सक्ने स्थितिमा पनि रहँदैनन्। 

नेपाली कवितामा एक खाले सीमा छ। अधिकांश कविताले मेची-महाकाली, दालभात, प्रेम-धोका र राजनीतिकै भूगोल क्रस गर्न सकेका छन्। गोपाल पराजुली भने घरायसी राजनीतिले जति अल्झाए पनि घरायसी कविता लेख्दैनन्। कवितामा उनका वैश्विक दृष्टिकोण छन्। गोपालको दसौँ पुस्तक अर्को विश्वको प्रस्ताव त्यसकै एउटा प्रमाण हो।

हामीकहाँ कविहरू लेख्नलाई लेख्छन्। के लेखेको भन्ने ख्यालसम्म राख्दैनन्। समीक्षकहरूले तोकेपछि मात्र उनीहरू झल्यास्स हुन्छन्। गोपाल त्यो मार्काका कवि लाग्दैनन्। उनलाई के लेख्दै छु भन्ने पूर्ण चेतना छ।

प्रस्तुत काव्यमार्फत गोपालले अनिश्चय, अर्थहीनता, अस्थिरता र निराशामय उत्तर  आधुनिकतावादलाई अस्वीकार गरी उत्तर-उत्तर आधुनिकता समातेका छन्। मानिसको केन्द्र ईश्वरमा र ईश्वरको केन्द्र मानिसमा सारेका छन्। नित्सेको सुपरम्यान, माक्र्सको अर्थमनुष्य र अरविन्दको अतिमानसलाई परै छाडिदिएका छन्।

बिनाकथा वैचारकि शृंखलामा उनिएको प्रस्तुत काव्यमा दुई पात्रको लामो संवाद समय, नित्सेको खारेजी, स्वतन्त्रता, गि्रन जोन र विश्व शीर्षकका ६२ कविता समेटिएको छ। ईश्वर र मानिस दुवैलाई स्रष्टा मान्ने र पूर्वीय र पश्चिमी दुवै विचार बुझेका पात्र छन्, प्रणव र गुणदत्त। उनीहरू एकअर्काका प्रतिद्वन्द्वी होइनन्। बरू एकअर्कालाई वैचारकि साथ दिएका छन्।

अर्को विश्वको प्रस्तावमा ईश्वर र मानिस दुवैको पुनःव्याख्या छ। अझ नित्सेले मारेको ईश्वरलाई पुनःजीवन दिएका छन् उनले। सुपरम्यानको ठाउँमा सिर्जनशील असल मानिसलाई राखेका छन्। ईश्वर र मानिसको समीकरण मिलाएका छन्। मानिसको काम कसरी ईश्वरीय हुँदै छ र ईश्वर कसरी मानवीय संसारमा आउँदै छन् भन्ने प्रस्ट्याउन खोजेका छन्।

सबै सिर्जनशील मानिस साकार ईश्वर हुन् र प्रत्येक मानिस ईश्वरको हकदार हुन् भन्ने उनको धारणा छ। राजनीतिक, धार्मिक र आर्थिक रूपमा अतिवादी विचारको क्रसफायरमा परेको विश्वलाई उनले नयाँ सिर्जनात्मक विचारको उपहार दिन चाहेका छन्। मानिसको स्वतन्त्र स्थान र संसारभित्र सौन्दर्यको परख गरेका छन्। त्यसो त ईश्वर र मानिससम्बन्धी उनको विचारमा हिन्दु दर्शनकै प्रभाव छ। कवि भन्छन्, "सूर्य, चन्द्रमा, हावा, आगो, पानी, पृथ्वी र आकाशको शाश्वत सत्यता नै ईश्वरको प्रमाण हो।"

लगभग १६ पृष्ठ लामो लेखकीय नै समेटिएको छ काव्यमा। "मैले धेरै कुरा भत्काएँ, कसमस भत्काइनँ। मन्दिरका पुराना इँटा र काठ भत्काएँ, देवता भत्काइनँ," उनले भनेका छन्, "असल मानिसले संसारलाई प्रेम गरेको दृश्य संसारको सबैभन्दा ठूलो सौन्दर्य हो।"

पाठकलाई सन्दर्भ सामग्री हुन सक्छ, उनकै पूर्ववर्ती काव्य नयाँ ईश्वरको घोषणा। त्यसमार्फत उनले नित्सेको ईश्वर मृत्युको घोषणालाई बदर गरेका छन्। उनले मानिसलाई ईश्वर मात्र घोषणा गरेका छैनन्, मानिस शक्तिशाली र स्वतन्त्र भएको जिकिरसमेत गरेका छन्।

शान्तिप्रेमी र स्वतन्त्रताप्रेमी कवि संसारलाई आशावादी दृष्टिले हेर्छन्। लेखेका छन्, "संसारका सबै झगडा वकिलहरूलाई, सबै रोग डाक्टरहरूलाई, सबै पाप दुष्टहरूलाई छाडेर म यहाँ लेखक भएको हुँ। मेरो हैसियत भने पनि, दाबा भने पनि कलम हो। कविताको समर्थनमा कलममा मसी राखिरहेको छु।"

खासमा पूर्वबक्सर यी कविले पछिल्लो काव्यमा आध्यात्मिक सोलुसन दिएका छन्, समकालीन विश्वलाई। काव्यमा नयाँ विचार 'सेलिब्रेट' गरेका छन्। एउटा काव्यमै उपन्यासमा जस्तै चिन्तन पस्कन सक्नु उनको सफलता हो।

गोपाल लेखनको कुनै नियम मान्दैनन्। त्यसैले विधागत अनुशासनको उनलाई पर्वाह छैन। चिन्तनमुखी भए पनि उनको काव्यकारिता सरल छ। यही सरलताले काव्यलाई पठनीय बनाइदिएको छ। उनको काव्यिक शैली मौलिक छ। कविताका नाममा नारा र गालीगलौज छैनन्। उनी नेपाली साहित्यका दीर्घजीवी लेखक हुन् । 

अर्को विश्वको प्रस्ताव
लेखक : गोपाल पराजुली
प्रकाशक : नेपाली साहित्य विकास परिषद्, बेलायत
पृष्ठ   :    २२४
मूल्य   :    २५० रुपियाँ 
(नेपाल)


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com