मोरङ, फागुन २६ ,
एमाले सम्बद्ध पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको सातौँ राष्ट्रिय अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनहुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन हुने भएको छ।
विराटनगरको वीरेन्द्र सभागृहमा जारी अधिवेशनमा आज दिउँसो एक बजेदेखि निर्वाचन हुने भएको हो।
अधिवेशनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, महासचिव, कोषाध्यक्ष, केन्द्रीय सदस्य र अञ्चल संयोजकका लागि पत्रकारहरूले उम्मेदवारी दिएका छन्।
गएराति सम्ममा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि आज बिहानदेखि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।
उम्मेदवारहरूले सामाजिक सञ्जाल फेसबुकबाट, मोबाइलमा एसएमएस गरेर र प्रत्यक्ष भेटेर आ-आफनो लागि मत मागीरहेका छन्।
मतमाग्दा आफू योग्य उम्मेदवार भएको र सबैले श्रमजीवी पत्रकारहरूका लागि प्रतिवद्ध भएर सेवा गर्ने वचन दिएका छन्। चौतारीको नयाँ अध्यक्षमा पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्याल, पूर्व महासचिव विष्णु रिजालबीच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ।
वरिष्ठ उपाध्यक्षमा शरद अधिकारी, बालकुमार नेपाल, प्रकाश खतिवडा र दुर्गाप्रसाद शर्माले उम्मेदवारी दिएका छन्। यस्तै महासचिवमा लक्की चौधरी, माधव नेपाल र बद्री खनालले उम्मेदवारी दर्ता गराएका छन्। सचिव पदमा राजेश राई, रामकुमार एलन, गणेश पाण्डेलगायत नौ जनाले उम्मेदवारी मनोनयन गराएका छन्।
कोषाध्यक्षमा विश्वमणी सुवेदीसहित दुई जनाको उम्मेदवारी परेको छ।
केन्द्रीय सदस्य र अञ्चल संयोजकसहित चौतारीमा जम्मा ६० पदका लागि प्रतिस्पर्धा हुँदैछ।
एमाले पार्टी र चौतारी नेतृत्वसहितका शीर्ष नेताहरूले शुक्रबार रातभर अध्यक्ष पदको नेतृत्व सर्वसम्मत गराउन प्रयास गरेपनि प्रतिस्पर्धीहरूले नमानेकोले नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुन लागेको हो। रासस;