महाकाली नदीमा नयाँ पक्की पुल बनाउने कार्य सुरु

कञ्चनपुर, फागुन २६,

सीमा नदी महाकालीमा नयाँ पक्की पुल बनाउन पहल सुरु गरिएको छ। वनबासा-गड्डाचौकी जोड्ने महाकाली नदीमाथि वर्षौं पहिले बनाइएको पुल जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माणका लागि पहल सुरु गरिएको हो। पुल निर्माणका लागि सम्भावित क्षेत्रको पहिचान गर्न भारतीय राजदूतले हालै टनकपुर, वनबासा र दोधारा चाँदनी जोडने झोलुङ्गे पुल क्षेत्रको भ्रमणसमेत गरेका थिए।

भ्रमणका क्रममा भारतीय राजदूतले वनबासा गड्डाचौकी जोड्ने पुरानो पुल नजिकै नयाँ पुल बनाउन उपयुक्त स्थान भएको जानकारी दिएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले बताए। राजदूतले चाँडै पुल निर्माणका लागि भरमग्दुर प्रयास गर्ने अश्वासन दिएको उहाँले बताए।

नेपाल- भारत जोड्ने एकमात्रै सारदा ब्यारेजको पुल जीर्ण हुँदा मालबाहक सवारीसाधन पुलमा आवतजावतमा रोक लगाइँदा यहाँका व्यापारीले मालसामन आयात निर्यात गर्न कठिनाइको सामना गर्नुपरेको छ। महाकाली नदीमा वैकल्पिक पुलको व्यवस्था भएमा यहाँको व्यापार व्यवसाय फस्टाउने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ऋषिराम खरेलले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले महाकाली नदीमा बन्ने नयाँ पुल नेपालीको हितमा बन्नुपर्ने बताए। पूरै पुल नेपाली भूमिमा बन्नुपर्छ उनले भने, 'दोधारा चाँदनी क्षेत्रमा रहेको झोलुङ्गे पुल भएको क्षेत्रको उत्तरतर्फ पुल बन्नुपर्छ।'

दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाउने कुरा अगाडि बढेको उल्लेख गर्दै केन्द्रीय सदस्य सावदले भने, 'यस क्षेत्रमै पुल बन्ने हो भने यसलाई सार्क हाइवेसँग जोड्न सकिन्छ र यस क्षेत्रको व्यपार व्यवसाय फस्टाउने सम्भावना प्रवल हुनेछ।' नेपाली भूमिमै पुल निर्माण हुनुपर्नेमा जोड दिँदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले भने, 'यसबाट भारतीय सुरक्षाकर्मीको पैसा असुली र भारतीय मुद्राको समस्या समाधान हुन्छ।' रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com