पुर्व युवराज दुर्व्यसनीमा फसेको पुष्टि

काठमाण्डौ चैत्र १७, 

अब ९० दिन पुनर्स्थापना केन्द्रमा बस्नुपर्ने :

पुर्व युवराजाधिराज पारस शाह लागू औषध र मादक पदार्थको दुर्व्यसनीमा फसेको पुष्टि भएको छ । थाइल्याण्डको बैंककको समितिभेज अस्पतालमा हृयघातको उपचार गराई विहीवार डिस्चार्ज भएका शाह शुक्रवार चियाङमाईमा रहेको चान्स पुनर्स्थापना केन्द्रमा भर्ना भएपछि उहाँ दुर्व्यसनी भएको पुष्टि भएको हो । 

पूर्वराजाका सहयोगी फणीराज पाठकले विज्ञप्ति निकालेर शाह पुनर्स्थापना केन्द्रमा भर्ना भएको जानकारी दिनुभएको हो । शाह ९० दिन त्यो पुनर्स्थापना केन्द्रमा बस्ने उल्लेख भए पनि पुनर्स्थापना केन्द्र लागू औषध दुर्व्यसनीकै उपचार गर्ने ठाउँ हो वा होइन भन्ने बारे केही उल्लेख छैन । 

तर श्रोतले भने पूर्व युवराज पारस शाह लागू औषध र मादक पदार्थको दुर्व्यसनीमा फसेको र त्यसैको उपचारका लागि पुनर्स्थापना केन्द्रमा भर्ना भएको जानकारी दिएको छ । शाहको कोठाबाट केही समय अघि थाईल्याण्डको प्रहरीले लागू औषधसमेत वरामद गरेको थियो । शाहले लागू औषध सेवन गर्ने गरेको अपुष्ट समाचारहरु यसअघि पनि सञ्चार माध्यममा आउने गरेका थिए । 

यसबारेमा पूर्व राजपरिवारले केही बोलेको थिएन । तर पूर्व राजाका सहयोगी पाठकले शुक्रवार औपचारिक रुपमा विज्ञप्ति नै निकालेर पूर्व युवराजलाई पुनर्स्थापना केन्द्रमा भर्ना गरिएको जानकारी दिनुभएको हो । थाइल्याण्डको चियाङमाईमा लागू औषध र मादक पदार्थको दुव्र्यसनीमा फसेकाहरुको उपचार गर्ने अन्तर्राष्ट्रिय स्तरका पुनर्स्थापना केन्द्रहरु छन् । 

विज्ञप्तिमा भने डिस्चार्ज पश्चात् पनि अस्पतालका मुटु सम्बन्धी डाक्टरको सल्लाह अनुसार शाहले अझ पनि धेरै सावधानी अपनाउनु पर्ने र उपचारको क्रम जारी राख्नु पर्ने उल्लेख छ । उहाँको मुटु सम्बन्धी उपचारको व्यवस्था समेत सोही केन्द्रमा हुनेछ । पारसको तत्कालै नेपाल फर्कने कार्यक्रम नरहेको तथा बैंककमा रहेका पूर्वराज परिवारका सदस्यहरु उपचारको सवै व्यवस्था मिलाई सकेपछि मात्र स्वदेश फर्कने विज्ञप्तिमा उल्लेख छ ।(नेपालब्रिटेन)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com