विश्व नेपाली साहित्य महासंघ इजरायलको नयाँ कार्यसमिति गठन तथा ई-बुक बिमोचन

तेलअभिव चैत्र ४,

नारीदर्पाब डटकम : बिश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाले १६ मार्च २०१३ लेवन्स्की ८ तेल-अभिवमा एक भब्य समारोह बीच ईबुक गीत गज़ल बिमोचन सहित बिदाई र नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । 

विश्व नेपाली साहित्य महासङ्घकि अध्यक्ष श्रीमती काजल घिमिरे नानुको सभापतित्व र इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रह्लाद कुमार प्रसाईज्यूको प्रमुख आतिथ्यमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र स्थानिय मिडियाकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ इजरायलकी महासचिव सुनिता (यासिन) राईले उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गर्दै विश्व नेपाली साहित्य महासंघले स्थापनाकालदेखि नै विभिन्न साहित्यीक कार्यक्रमहरु गर्दै आएको र इज़रायाल्मा स्थापित संघ संस्थाहरु सँग हातेमालो गर्दै  थुप्रै सामाजिक कार्यहरु गरेको र भोलिका दिनहरुमा पनि मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको बीचमा नव सर्जक तथा विश्व नेपाली साहित्य महासङ्घकि निवर्तमान अध्यक्ष श्री कविता शर्मा (घिमिरे ) को “दुख्छ मन मेरो पनि “गीत,गज़ल ई -बुकको बिमोचन प्रमुख अतिथि महामहिम राजदुतज्यूद्वारा बिमोचन गरिएको थियो ।


विश्व नेपाली साहित्य महासङ्घ  इजरायल शाखाको स्थापना २१ जनवरी २०१२ मा अध्यक्ष कविता शर्माको अध्यक्षतामा भएको थियो । निवर्तमान अध्यक्ष शर्मा बिशेष कारणवश नेपाल फर्कने हुनाले उहाँको बिदाई तथा नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रम समेत गरिएको उक्त कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई राजधुत श्री प्रल्हाद कुमार प्रसाईंले अबिर र खादा ओढाएर स्वागत तथा बधाई दिनु भएको थियो । श्रीमती काजल घिमिरेको अध्यक्षतामा विश्व नेपाली महासङ्घको वर्तमान कार्य समिति २५ जना रहने गरी गठन गरिएको छ । अध्यक्ष-काजल घिमिरे नानु , उपाध्यक्ष- कृष्ण कुमार रायमाझी, उपाध्यक्ष- दिपेन्द्र थापा, महासचिब- सुनिता (यसिन) राइ , सचिब -सबिना खड्का ,सहसचिब -सानु गुरुङ्ग , कोषाध्यक्ष -धर्मराज भण्डारी, सहकोषाध्यक्ष -यमुना ढकाल (मुना ) सदस्यहरु : निशा खनाल, रजनी शर्मा, सावित्रा लुईटेल, सुरेन्द्र प्रसाई, कल्पना पौडेल( जिज्ञासु ), देवी सुबेदी, राज्यवती त्रिपाठी, रश्मी सुबेदी,गोपिमाया राई,लिला प्रसाई, पन्च शेर्मा,करुणा थापा, जमुना घिमिरे, संगीता सुबेदी, चन्द्रा के .सी,गीता उप्रेती ) रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिज्यूले प्रवासी काम कार्य व्यस्तताको वावजुत पनि साहित्य सिर्जनामा लागेर नेपाली साहित्यको उठान र नेपाली साहित्य भण्डार भर्न लागिपर्नुहुने सम्पूर्ण साहित्य अनुरागीहरु प्रति खुशी व्यक्त गर्नु भयो । मन्तब्यकै क्रममा उहाँले कविता शर्मालाइ बधाई दिदै उहाँले पहिले कुनै पुस्तक निकाल्न इन्डिया सम्म पुग्नु पर्ने तर अहिले भने नेपालमै सजिलै पुस्तक प्रकाशन गर्ने सुविधा रहेको बिचार व्यक्त गर्नु हुदै अहिले संचार सुविधा युगिन परिवेशमा कुनै पनि कुरा पढन वा लेख्न पुस्तक पल्टाई रहन नपर्ने बताउनु भयो । साथै, उहाँले भोलिका दिनहरुमा विश्व नेपाली साहित्य महासङ्घ इजरायलले यस्तै नव प्रतिभाहरु जन्माइरहुन् भन्ने शुभकामना व्यक्त गर्नु भयो । 

मन्तब्यकै क्रममा नव सर्जक कविता शर्माले इजरायलमा बसेर गीत गज़लमा लाग्नु भएको नव प्रतिभा कविता शर्मा (घिमिरे)ले आफ्नो ई -बुक साहित्यिक अनुरागीहरु बीच ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै यसमा लाग्ने प्रेरणा दिने आदरणीय डा.मधुमाधुर्य,रमण घिमिरे, डा. टिकाराम पोख्रेल लगायत अग्रजहरुप्रति आभार व्यक्त गर्दै इन्टरनेटबाट पढन मिल्ने गीत गज़ल ई -बुकको प्रकाशन ल्याएको बताइन । इजरायलबाट बिभिन्न विधाका साहित्यिक पुस्तक र सिडीहरु प्रकाशित भए पनि इन्टरनेटबाट पढन मिल्ने ई-बुक पहिलो थियो । त्यस्तै कार्यक्रममा सुरेन्द्र प्रसाई, यासिन राई ,निशा खनाल,रोजा ओली ,कल्पना जिज्ञासु, दिपेन्द्र थापा, राज्यवती धर्मराज भण्डारी लगायतका श्रष्टाहरुले बिभिन्न रचनाहरु वाचन गरेका थिए ।

उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाका प्रथम उपाध्यक्ष कृष्ण रायमाझी, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलका अध्यक्ष प्रमोद लम्साल, सत्यसाइबाबा केन्द्रका उपाध्यक्ष्य सूर्य साइराम, विश्व नेपाली साहित्य महासंघका सल्लाहकार बिजय बिष्ट,लगायतका बक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए ।

मध्यान्न साढे बाह्रमा सुरु भएको कार्यक्रम उलेख्य नेपालीहरुको उपस्थितिमा अपराहन्न ३ बजे सम्म चलेको थियो । नाचगान सहित जलपानको पनि ब्यवस्था गरिएको  उक्त कार्यक्रम दिपेन्द्र थापाले संचालन गर्नु भएको थियो । कार्यक्रमकी सभापति काजल घिमिरे नानुले प्रमुख अतिथित लागाय बिभिन्न संघ सस्थाका प्रतिनिधि, मिडियाकर्मी र उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो । 




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com