काठमाडौं, चैत २ ,
काठमाडौं जिल्लाका प्रमुख राजनीतिक दलहरुले फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक बनाउने कार्यलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँले फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक बनाउन यही चैत १ गतेदेखि ३० गतेसम्म जिल्लाका ५७ वटै गाविस, महानगपालिका र कीर्तिपुर नगरपालिकाका वडामा विगतमा फोटोसहितको मतदाता नामावलीमा छुटेकाको नयाँ नामावली सङ्कलन तथा अद्यावधिक गर्न १४ वटा प्राविधिक टोली परिचालन गरेको छ ।
ती काममा दलहरुको सहयोग अति आवश्यक पर्ने हुँदा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी), नेकपा-माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न २५ भन्दा बढी दलका नेताले सो प्रतिबद्धता जनाएका हुन्।
ती दलका नेताहरुले कार्यालयले सञ्चालन गरिराखेको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक बनाउने कार्यलाई सहयोग गर्ने जानकारी दिएका छन् ।
कार्यक्रममा नेकाका जिल्ला सभापति भीमसेनदास प्रधान, नेकपा (एमाले)का उपाध्यक्ष कृष्ण राई, एनेकपा (माओवादी)का सचिव श्रीकृष्ण श्रेष्ठ, माओवादीका नेता देवराज लुईंटेल, तमलोपाका नेता मुरलि सिंह, राप्रपाका नेता सुवर्णराज भण्डारीलगायतले फोटोसहितको नामावली सङ्कलन तथा अद्यावधिक बनाउन सहयोग गर्ने बताएका छन् ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले फोटोसहितको नामावली सङ्कलन तथा अद्यावधिक बनाउन सहयोग पुर्यािउन राजनीतिक दल, नागरिक समाजलगायत सबै पक्षसँग आग्रह गरे ।
हालसम्म कार्यालयले यहाँ स्थायीरूपमा बसोवास गरेका पाँच लाखभन्दा बढी मतदाता र विभिन्न जिल्लाबाट यहाँ आई अस्थायीरूपमा बसोवास गरिराखेका एकलाख ५० हजारभन्दा बढी मतादाताको फोटोसहितको मतदाता परिचयपत्र बनाई सम्बन्धित जिल्लामा पठाइसकेको छ।
कार्यालयले काठमाडौँमा फोटोसहित मतादाता परिचयपत्र बनाउन चारलाखसम्म मतदाता बाँकी रहेका अनुमान गरेको छ।
'ती मतदातालाई फोटोसहितको परिचयपत्र बनाउनका लागि अभियान सञ्चालन गरिएको हो,' काठमाडौँ निर्वाचन कार्यालयका प्रमुख चालिसेले भने।
फोटोसहितको मतदाता नामावलीका आधारमा राष्ट्रिय परिचयपत्र बनाउनसमेत सहयोग हुने भएकाले यसकार्यलाई सहयोग गर्न कार्यलयले आग्रह गरेको छ। रासस: