काठमाण्डौ चैत्र १४,
नारायण अमृत : अहिले मनबहादुर मुखिया मौन छन् तर कहिलेकाहीँ मन र मस्तिष्क हल्लेको अनुभव भने हुन्छ। कारण, उनले चाहँदा नचाहँदै पनि बेचैन दार्जीलिङको खबर बेलाबेलामा सुनिरहनुपर्छ। पत्रपत्रिका, रेडियो र टेलिभिजनमा उदाउने यस्ता समाचारले उनलाई चसक्क छुनु स्वाभाविक हो। किनभने, यिनी तिनै मनबहादुर हुन्, जसले आजभन्दा चार दशकअघि दार्जीलिङका नेपालीभाषी जनताका दुःख, पीडा, मर्म र अन्तरमन जनाउने चर्चित नाटक 'अनि देउराली रुन्छ' बनाएका थिए।
सोही नाटकमार्फत छामेका थिए, सबैको नाडीको चाल र मुटुको धड्कन। "नाटक त्यति धेरै चर्चित होला भन्ने सोचेको थिइनँ," मुखिया भन्छन्, "अनि देउराली रुन्छ साँच्चै नै दिलबाट लेखिएको र मञ्चन गरिएको नाटक हो। त्यो नाटकसँग मेरो जीवन पनि धेरथोर जोडिएको छ।"
हुन पनि हो, दुईवर्षे बालक मनबहादुर बाबुको काँधमा चढेर दार्जीलिङ पुगेका थिए, दोलखा बाब्रेको धारापानी गाउँबाट। गाउँबाट १०-१२ परिवारसँगै काम र मामको खोजीमा सीमा छिचोल्दै गर्दा उनका बाबुले भनेका थिए रे, 'छोराले राम्रो शिक्षा पाओस्। मलाई त्यति भए पुग्छ।' बसाइँसराइको मधुरो सम्झना मस्तिष्कमा सजाएर मनबहादुर दार्जीलिङमै हुर्के। त्यहीँको शिक्षा लिए। र, कर्म गर्न फेरि नेपाल आइपुगे।
एउटा चर्चित रंगकर्मीको जीवन यति बेला गुमनामजस्तो छ। उनकै शब्दमा, 'फिका चियाजस्तो'। काठमाडौँको गौरीघाटमा भेटिने मनबहादुर अहिले शिक्षण पेसामा छन्। रंगमञ्चको मूलधारमा उनको नाम कहीँकतै छैन। "मेरा विद्यार्थीलाई नै मेरो विगत थाहा छैन," चिम्सा आँखाको चेप तन्काउँदै उनी भन्छन्, "जिन्दगी यसरी नै अघि बढ्छ भन्ने कसैलाई थाहा नहुने रहेछ।"
खासमा त्यति बेलाका तन्नेरी मनबहादुरलाई एकाएक 'लाइमलाइट'मा ल्याएको उनको पहिलो पूणर्ाङ्की नाटकले नै थियो। ६ अक्टोबर १९७२ को त्यो साँझ, उनको नाटक 'अनि देउराली रुन्छ' पहिलोपटक दार्जीलिङको गोर्खा दुःख निवारण सम्मेलन -जीडीएनएस) केन्द्रको प्रेक्षालयमा देखाइएको थियो।
"पहिलो दिन त कम दर्शक थिए तर दोस्रो दिनदेखि नाटक यति चर्चित भयो कि मान्छेहरू प्रेक्षालयमा अटाउनै छाडे," सम्झँदै उनी भन्छन्, "पछि पछि त यति धेरै स्थानबाट सोही नाटक देखाइदिन माग हुन थाल्यो कि, हामीलाई भ्याइनभ्याइ हुने स्थिति आयो।"
हुन पनि दार्जीलिङ र यता नेपालमा गरेर सबैभन्दा बढी सार्वजनिक 'सो' गरिएको नेपालीभाषी नाटक यही नै होला। मुखियाका अनुसार यो नाटक कम्तीमा पनि चार सयपटक देखाइसकिएको छ। भन्छन्, "नेपालमा पनि धेरै सो गरियो। राष्ट्रिय नाचघरमा त मान्छेहरू टिकट नपाएर फर्किने दिन पनि थिए।"
त्यति चर्चित नाटक मनबहादुरले पहिलोपटक दार्जीलिङबाट आफ्नो पुख्र्योली थलो दोलखाको बाब्रे घुमेर फर्केपछि लेखेका हुन् ।
बाब्रेको जनजीवन, त्यहाँका दुःख, त्यहाँबाट दार्जीलिङ पुगेका व्यक्तिका सपना र आफ्नो घरको वातावरणबाट प्रभावित भएर उनले 'अनि देउराली रुन्छ'को परकिल्पना गरेका रहेछन्। "त्यही बेला दार्जीलिङमा नेपाली भाषालाई राष्ट्रिय भाषाहरूको सूचीमा पार्नुपर्छ भनेर लबिङ् सुरु भएको थियो। सम्भवतः त्यो मुडलाई नाटकले छोयो, यही कारणले हुन सक्छ, अनि देउराली रुन्छ हिट भयो," मुखिया भन्छन्, "नाटक हिट भएपछि केही विवाद पनि सतहमा आए।"
भएछ के भने भाषा आन्दोलनमा लागेका केही अगुवाले यो नाटकले आन्दोलनलाई कमजोर बनाउने प्रतिक्रिया दिएछन्। यस्तो प्रतिक्रिया दिनेहरू दार्जीलिङमा पहिल्यैदेखि बसेकाहरू थिए। "मेरो परविार पछि दार्जीलिङ पुगेको र मेरो नाटकले त्यहाँको मूल समस्या नउठाएको भन्ने उनीहरूको भनाइ थियो, जुन कुरामा कुनै तुक थिएन," उनी भन्छन्, "त्यसैले मैले त्यस्ता कुरामा ध्यान दिइनँ।" मुखियाको मनमा स्कुले जीवनदेखि नै रंगमञ्चको चस्का पसेको थियो। उनले दार्जीलिङको सेन्ट रोबटर्स हाइस्कुल पढ्दा होस् या गभर्मेन्ट कलेजबाट स्नातक गर्दा होस्, कुनै न कुनै नाटकमा काम गरे। त्यति बेला उनले नै दुई-चारवटा एकाङ्की गरसिकेका थिए। उनी त्यसै बेला पनि आफैँ लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने काममा उत्साहित हुन्थे।
विशेषतः 'मोनोएक्ट' (एकलाभिनय) उनको विशेष रुचिको विषय थियो।
गभर्मेन्ट कलेजबाट स्नातक सकेर उनले मिलन संघ प्राथमिक पाठशालामा अध्यापन गरे। नाटक मञ्चनका लागि भव्य आयोजना गर्न नसके पनि स्थानीय विद्यालयमा यस्ता गतिविधि गरेर आफ्नो नाटकीय तिर्सना मेट्थे। ठूल्ठूला मञ्चमा नाटक गर्न त मन थियो तर स्रोत थिएन। ०२१ सालमा जीडीएनएसबाटै आफ्नै लेखन-निर्देशनमा 'एक फूल, चार काँडा' नाटक मञ्चन गरेपछि उनमा रंगमञ्चप्रतिको आकर्षण अझै अकासियो।
प्रवासमा बस्ने नेपालीभाषीको पीडा भिन्न खालको हुन्छ। पहिचान र भाषाको लडाइँ लामो हुन्छ। मान्छेहरू धेरै थोक भएर पनि केही गुमेजस्तो, हराएजस्तो भावमा हुन्छन्।
उनलाई दार्जीलिङमा हुँदा यस्तै मनोदशाले छुन्थ्यो। त्यसैले होला, उनका अधिकांश नाटकमा पहिचान र स्थानीयताको बाछिटा भेट्न सकिन्छ। "नाटक जीवन्त हुनुपर्छ, जनजीवन प्रकट गर्ने खालको हुनुपर्छ," मुखियाको रंगमञ्चीय अनुभवले भन्छ, "दर्शक रभिmाउन दर्शककै आवाज मुखरति हुनुपर्छ।"
'अनि देउराली रुन्छ'को सफलताले मनबहादुर मुखियाको कीर्ति र कृति दुवैलाई व्यापक विस्तार गरसिकेको थियो। नाटकको सफलताले उनलाई रंगमञ्चप्रति थप जिम्मेवार पनि बनायो। त्यसैले उनले रंगमञ्चका विभिन्न सिद्धान्त र आयामहरूबारे अध्ययन तीव्र बनाए। नाटकबारेका छलफल र गोष्ठीहरूमा आफ्नो उपस्थिति बढाए। भन्छन्, "यही जिम्मेवारीले मलाई अलिक फरक खालको प्रस्तुतिका लागि उत्साहित पार्यो।"
मुखियाले 'अनि देउराली रुन्छ'पछिका नाटकमा अलिक प्रयोग गर्न खोजे। उनका पछिल्ला नाटकहरूमा मनोरञ्जनको साथसाथै बौद्धिकता उपस्थित हुन थाल्यो। मञ्चन परम्परा पनि अलिक फरक पार्न खोजियो। यही क्रमको पहिलो नाटक थियो, 'फेर िइतिहास दोहोरन्िछ'। यो नाटकपछि 'असत्यम् अशिवम् असुन्दरम्' र 'क्रसमा टाँगिएको जिन्दगी' मञ्चन भए। यसरी रंगमञ्चमा एकपछि अर्को गर्दै उनका नाटकहरूको ओइरो लाग्न थाल्यो। एक एक वर्ष बिराएर 'पैँचो मागेको विश्वास' र 'विद्रोही' पनि मञ्चन गरे उनले। "मेरो पहिलो पूर्णाङ्कीभन्दा अलिक फरक भएर होला, पछिल्ला नाटकमा दर्शकको उपस्थिति अलिक पातलो देखियो," मुखिया भन्छन्, "त्यसले कताकता खिन्न पार्यो पनि।"
सम्भवतः यही खिन्नताले हुन सक्छ रंगमञ्चमा उनको उपस्थिति पहिलेको जस्तो सक्रिय रूपमा रहेन।
यति बेलासम्म उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा 'प्राइभेट' स्नातकोत्तर सकिसकेका थिए। र, जागिरको खोजीमा कुम्लो कसेर उनी दार्जीलिङबाट काठमाडौँ आए। धेरै दौडधूप गर्दा बल्लतल्ल मीनभवन क्याम्पसमा प्राध्यापकको जागिर पाए र केही राहतको सास फेर्न पाए।
"०३६ सालमा नेपाल आएपछि पनि 'हराएका क्षितिजहरू'जस्ता प्रयोगशील नाटक लेखन तथा मञ्चन गर्ने जमर्को त गरेँ तर सोचेजस्तो भएन," मुखिया भन्छन्, "अन्ततः हातमुख जोर्न र परिवार पाल्न मैले रंगमञ्चलाई बिदा गर्ने निधो गरेँ।"
त्यसयता मूल रंगमञ्च नटेके पनि कहिलेकाहीँ चुपचाप थिएटरसम्म पुग्छन् र नयाँ पुस्ताले बनाएका नाटक हेर्छन्। दर्शकहरूको प्रतिक्रिया सुन्छन् र पुराना दिन सम्झन्छन्। भन्छन्, "ती दिनका तस्बिरहरू हेरेर मन शान्त पार्छु। तर, के हो भने एकपटक रंगमञ्चको नशामा परेको मान्छे हतपती यसबाट बाहिर आउन सक्दैन।" (नेपाल)