निर्वाचन आयोगको कार्यालय नुवाकोटबाट चतुराले गाँउ विकास समितिमा खटिएको फोटोसहितको मतदाता नामावली सङ्कलक टोलीको सामानहरु लुटिएको छ।
हिजोबाट सुरु भएको मतदाता नामावली सङ्कलन कार्यका लागि चतुराले पुगेका सङ्कलक टोलीसँग भएको ल्यापटपलगायतको सामग्री गएराति लुटिएको चतुरालेबाट सामाजिक परिचालक अरुणराज पाठकले जानकारी दिए ।
रातिको समयमा चार जनाको समूहमा नकाब र हातमा लाठी लिएर आएका व्यक्तिहरुले आफूहरु नेकपा-माओवादीको कार्यकर्ता भन्दै निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लुटेर लगेका छन्।
मतदाता नामावली सङ्कलनको तीन दिने कार्यक्रमअन्तर्गत हिजो पहिलो दिन आठ जनाको नाम सङ्कलन गरी चतुराले गाविसको वडा नम्बर १ स्थित मङ्गलदाश श्रेष्ठको घरमा सुत्न लागेको समयमा ल्यापटप, किबोर्ड चार्जर, वेभ क्यामरा, फिङ्गर प्रिन्ट र निर्वाचनसँग सम्बन्धित कागजात लुटेर लगेको कम्प्युटर अप्रेटर रिना अर्यालले जानकारी दिए ।
यता, नेकपा-माओवादीले भने मतदाता नामावली सङ्कलनमा अवरोध गर्ने भने पनि सामान नै लुट्ने भने नभएको बताएको छ। नेकपा-माओवादी जनवर्गीय सङ्गठन नुवाकोट प्रमुख नारायण नेपालले मतदाता नामावली सङ्कलनका लागि विशेष सहमतिको आवश्यक रहेकाले तत्कालका लागि भने अवरोध नै गर्ने बताए ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयको निर्देशनअनुसार अन्तिम पटकलाई भन्दै मुलुकभर नामावली सङ्कलनका लागि गाँउहरुमा सङ्कलक टोली खटिरहेको छ। नुवाकोटमा पनि गएको फागुन २७ बाट सुरु भएको नामावली सङ्कलन कार्य चैत मसान्तभित्र सकाउने लक्ष्य राखिएको छ। एउटा गाविसमा तीन दिनसम्म बस्ने टोलीले नुवाकोटमा फोटोसहितको मतदाता नामावली बनाउन छुटेका ३२ हजार नागरिकलाई समेट्ने लक्ष्य लिएको छ। रासस;