भक्तपुर, चैत १०,
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा आज सम्पन्न भएको छ। चैत १ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले बताए।
कार्यालयले यस वर्ष ५८ वटा विषयको परीक्षा सञ्चालन गरेको थियो। गत वर्षको परीक्षाभन्दा यस वर्षको परीक्षामा देशभर नै निकै सुधार भएको दाबी गर्दै उनले तराईका जिल्लामा केही छिटफुट घटना मात्रै घटेको बताए।
यस वर्षको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी भएका थिए जसमध्ये नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रक खगराज बरालले बताए।
परीक्षाका लागि देशभरिमा एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएको थियो जसमा सबैभन्दा बढी काठमाडौँमा ८६ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एकएक केन्द्र कायम गरिएका थिए।
परीक्षामा देशभरिमा एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ जना सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० जना निरीक्षक, सात हजार २९७ जना सहयोगी र १९ हजार ८६० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
कार्यालयले यस वर्ष सुस्तश्रवण भएका परीक्षार्थीले एसएलसीमा आधा घण्टासम्म सहजकर्ता राख्न पाउने व्यवस्था गरेको थियो। त्यसैगरी दृष्टिविहीनले गत वर्षसम्म कक्षा ८ उत्तीर्ण गरेकालाई सहजकर्ता राख्न पाउने व्यवस्था रहेकामा त्यसलाई परिमार्जन गरी यस वर्षदेखि दृष्टिविहीनले कक्षा ८ अध्ययन गरिरहेकालाई मात्रै सहजकर्ता राख्न पाउने व्यवस्था गरिएको थियो। रासस: