काठमान्डू चैत्र १८,
अनिल न्यौपाने : चाबहिलकी समता ढकाल (नाम परिवर्तन) दुई सन्तानकी आमा हुन् । अब उनलाई थप सन्तानको इच्छा छैन । उनका श्रीमान स्थायी बन्ध्याकरण गर्न डराउँछन् र कण्डमको प्रयोग गर्न पनि झन्झट मान्छन् । उनीहरुले प्राकृतिकरूपमा महिनावारीको चक्र र परम्परागत बिधि (वीर्य बाहिर फाल्ने) अपनाउदा अनिच्छित गर्भ रह्यो ।
उनी गर्भपतन गराउन दुई पटक प्रसूति गृह पुगिन् । अस्पतालले परिवार नियोजनबारे परामर्श दिएर गर्भपतन गराइदियो । तर, ६ महिनापछि उनी पुनः गर्भपतन गराउन आइन् । प्रसूति गृहकी बृहत गर्भपतन सेवा केन्द्र इन्चार्ज हरीदेवी महर्जनका अनुसार समताले परामर्शअनुसार नै पिल्स खान थालिछन् । तर पिल्सले वाकवाकी लाग्ने र महिनावारीको समयमा बढी पेट दुख्ने भएपछि औषधि छोडिछन् । छ महिनापछि उनी तेस्रो पटक गर्भपतन गराउन जानुप¥यो ।
ताराका श्रीमान् वैदेशिक रोजगारमा छन् । श्रीमान्को अनुपस्थितिमा उनी एक जना आफन्तसँग नियमित शारीरिक सम्पर्क राख्थिन् । उनीहरु धेरैजसो अवस्थामा वीर्य बाहिर फाल्ने विधि अपनाए । तर पनि गर्भ रहन पुग्यो । उनले प्रसूति गृह पुगेर गर्भपतन गराइन् । तीन महिनापछि उनको लोग्ने आए । लोग्नेले कण्डम लगाउन मानेनन् । उनी पुनः गर्भवती बन्नुप¥यो । एक छोराकी आमा ताराले दोस्रो पटक पनि गर्भपतन गराइन् ।
सरकारी अस्पताल प्रसूति गृह मात्रै होइन, धेरै निजी अस्पतालमा अहिले यस्तै पटकपटक गर्भपतन गराइएका घटना बढिरहेका छन् । अवैध रुपमा सम्बन्ध राख्नेहरु देखि सन्तान नबनाउने योजना बनाएका पनि चाहेर वा नचाहेर गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा अपानाइ रहेका छन् । विभिन्न अध्ययनले पनि अनिच्छित रूपमा रहेको गर्भपतन गराउने उद्देश्यले शुरू भएको सुरक्षित गर्भपतन सेवालाई परिवार नियोजनको विकल्प रुपमा अपनाउने प्रवृत्ति बढ्दै गएको देखाएको छ ।
गर्भपतनका लागि सूचीकृत संस्थामा सेवाग्राही माझ गरिएको एक अध्ययनले समेत एकभन्दा बढी पटक गर्भपतन गराउनेको संख्या बढ्दै गएको देखाएको छ । विज्ञहरुले यस्तो अवस्थामा गर्भपतनको सट्टा परिवार नियोजनका सामग्रीको पहुँच बृद्धि गर्ने र दोहो¥याएर गरिने गर्भपतनको हानीबारेसमेत जनचेतनाको आवश्यकता औल्याएका छन् । यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको ओम अस्पतालका बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. भोला रिजाल बताउँछन् ।
अनुसन्धानकर्ता डा. श्याम थापाले सूचीकृत गर्भपतन सेवाका प्रमुख संस्थामध्ये प्रसूति गृह र मेरी स्टोप्स सेन्टरमा सर्जिकल गर्भपतन गराउन आएका सेवाग्राहीबीच अध्ययन गरेका थिए । ती केन्द्रहरुमा अध्ययन अवधिभरमा सर्जिकल (क्युरेट) सेवा लिन आएका महिलामध्ये एक तिहाईले एकभन्दा बढी पटक (रिपिट) गर्भंपतन सेवा लिएका थिए । अध्ययनमा दुबै केन्द्रमा गरी ११ सय ७२ सेवाग्राहीलाई सहभागी गराइएको थियो । ‘ती मध्ये एक तिहाईले रिपिट गर्भपतन गराएको पाइयो’ अनुसन्धानकर्ता डा.थापाले भने । थापाका अनुसार यसरी पटकपटक गर्भपतन गराउनेमध्ये अधिकांश बढी उमेर र धेरै छोराछोरी भएका महिला थिए ।
अध्ययनले एकपटक भन्दा बढी गर्भपतन गराउनेहरुले सरकारी भन्दा निजी स्वास्थ्य संस्थालाई छान्ने गरेकोसमेत देखाएको छ । अनुसन्धानकर्ता डा. थापाले थप बच्चा जन्माउन नचाहने र शिक्षित महिलाहरुले बढी गर्भपतन गराउने गरेको बताए । ‘एकभन्दा बढी पटक गर्भपतन गराउन आउँदा पनि अधिकांश सेवाग्राहीको कारण उही थियो । यसले गर्भपतन सेवालाई परिवार नियोजनको विधिको रुपमा बुझिएको भन्ने शंका गर्न ठाउँ दिएको छ । अध्ययनले रिपिट अवोर्सन गराउनेमध्ये १६ देखि २४ उमेर समूहका १८ दशमलव ६ प्रतिशत र ३५ देखि ४८ वर्ष उमेर समूहका करिब ५० प्रतिशत रहेको देखाएको छ । तीमध्ये एउटा मात्रै बच्चा भएका महिलाको दर १३ दशमलव ७ प्र्रतिशत र दुई वा दुई भन्दा बढी बच्चा भएका महिलाको दर ४२ दशमलव ६ प्रतिशत थियो ।
अनुसन्धानले एकभन्दा बढी पटक गर्भपतन गराउन आउनुका चार कारणमा स्वास्थ्यका कारणले परिवार नियोजनको साधन प्रयोग नगर्नु, अस्थायी साधनको प्रयोग छुट्नु, स्थायी साधान मन नपराउनु र महिनावारीको तालिका अनुसारको चक्रमा भर पर्नु रहेको देखाएको छ । यो अध्ययन प्रतिवेदनले सामान्यतः एकपटक गर्भपतन गराएपछि महिलाहरुले सचेत भएर साधन प्रयोगको बाटो रोज्छन् भन्ने मान्यतासमेत गलत भएको देखाएको छ ।
एक तथ्यांक अनुसार सन् २००८ मा ५६ देशका ६ करोड महिलाले सुरक्षित गर्भपतन गरेका थिए । अमेरिकामा सन् १९७० मा गर्भपतनले कानूनी मान्यता पाएपछि एक भन्दा बढी पटक गर्भपतन गराउने महिलाको संख्या २० प्रतिशतबाट बढेर सन् १९८० तिर ४० प्रतिशत पुगेको थियो । तर यो संख्या सन् १९९० देखि स्थिर भएर करिब ५० प्रतिशतको हाराहारीमा छ । युरोपमा सन् २००० देखि एकभन्दा बढीपटक गर्भपतन गराउने महिलाहरुको दर ३२ देखि ३८ प्रतिशतको हाराहारीमै छ । डा.थापाले सुरक्षित गर्भपतनको सहज उपलब्धतासँगै केही समयसम्म बढी पटक गर्भपतन गराउनेको संख्यामा पनि बृद्धि हुदै जाने विभिन्न अनुभवले देखाएको बताए । उनले नेपालमा पनि केही समयपछि यो संख्या स्थिर हुने अनुमानसमेत गरेका छन् ।
अनुसन्धान प्रतिवेदनले संख्यात्मक रुपमा गर्भपतन बढ्दो दरमा रहेको देखाएपछि चिकित्सकहरुले यो क्रमले महिलाको स्वास्थ्यलाई जोखिमको अवस्थामा पु¥याउन सक्ने बताएका छन् । डा. रिजालले महिलाले गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिएकाले पनि गर्भपतन गराउनेको सख्या बढ्दै गएको बताए । उनले पछिल्ला दिनमा मेडिकल एबर्सन असफल भएर पुनः सर्जिकल एबर्सन गर्नुपर्ने घटनासमेत बढेको जानकारी दिए ।
डा. रिजालको अनुभवमा पनि एकभन्दा बढी पटक गर्भपतन गराउनेमा सहरीया शिक्षित वर्ग नै अगाडि छ । गर्भपतनपश्चात् अस्थायी वा स्थायी साधनका बारेमा उचित परामर्श र प्रेरित गर्न नसक्नुले पनि पटकपटक गर्भपतन गराउनेको सख्या बढ्दै गएको हुनसक्ने उनको भनाइ छ । ‘कतिपय महिलामा गर्भपतन वा बच्चा जन्मिएपछि महिनावारी नहँुदासम्म गर्भ रहदैन भन्ने भ्रमले पनि अनिच्छित गर्भधारण बढेको छ ।’ उनले भने ।
विज्ञहरुले परिवार नियोजनका आधुनिक साधनको कम उपलब्धता र महिलामा ज्ञानको अभावले अनिश्चित गर्भधारण बढेको बताएका छन् । अस्थायी साधान अपनाउन छाड्दै जाने, स्थायी पनि नअपाउने प्रवृत्तिले महिला स्वाथ्यमा ठूलो समस्या निम्त्याइरहेको विज्ञहरुको भनाइ छ । डा. रिजालले धेरै पटक गर्भपतन गर्दा निसन्तान हुनसक्ने, पाठेघरको भित्री भाग कुहिने, पाठेघर टाँसिने र खुम्चने खतरा हुने बताएका छन् । उनले यस्ता जोखिम पहिलोपटक गर्भपतन गर्नेमा भन्दा पटकपटक गर्भपतन गर्नेहरुमा चार गुणा बढी हुने बताए ।
यसलाई कम गर्न सबैभन्दा सजिलो तरिका साधनप्रतिको भरोसा र उपलब्धता बढाउनु नै भएको विज्ञहरु बताउँछन् । परिवार नियोजनका आधुनिक साधन प्रयोग दर बढाउन सरकारले बार्षिक करोडौं रुपैयाँ खर्चिदै आए पनि साधनको प्रयोग दर भने घट्दै गएको छ । सरकारले परिवार नियोजन कार्यक्रमका लागि मात्रै सन् २००६ देखि २०११ सम्म ७५ करोड रुपैयाँ खर्च गरिसकेको छ । खर्चको आधारमा प्रतिफल घट्दै जानु नीति निर्माताहरूका लागि चिन्ताको विषय भएको छ ।
सुरक्षित गर्भपतनको क्षेत्रमा कार्यरत संस्था आइपास नेपालकी राष्ट्रिय निर्देशक डा. इन्दिरा बस्नेतले बढ्दो वैदेशिक रोजगारमा जाने कारणले परिवार नियोजन साधनको प्रयोग घटेको हुनसक्ने बताइन् । उनले सुरक्षित गर्भपतनको दर बढेकोले साधन प्रयोग घटेको भन्नु सरासर गलत भएको बताइन् । ‘बरु परिवार नियोजनका साधन गाउँगाउँमा उपलब्ध नहुनु र यसको प्रयोगबारे उचित परामर्श अभावले अनिच्छित गर्भ रहने दर बढेको हुनसक्छ ।’ बस्नेत भन्छिन्, ‘यस्तो अवस्थामा रिपिट अवोर्सन बाध्यता बन्छ ।’ उनले साधन नपाएपछि रहेको अनिच्छित गर्भका कारण सुरक्षित गर्भपतन गराउनेको संख्यामा समेत बृद्धि भएको बताइन् । ‘ शुुरुमै साधन उपलब्ध गराइदिने हो भने गर्भपतन गराउने बाध्यता नै पर्दैन’ उनले भनिन् ।
महिलामा साधनबारे जानकारी नहुँदा, समयमा गर्भनिरोधक औषधि नखाँदा, साधनको नकारात्मक असरको डर र परम्परागत विधि अपानाउँदा अनिच्छित गर्भ रहनेको सख्या बढ्दै गएको हो । सरकारले साधनको उपलब्धता बढाउन गाविस स्तरसम्मका स्वास्थ्य संस्थाबाट वितरण गर्ने कार्यक्रम सन्चालन गरेको छ । सरकारले मुलुकका सबै जिल्ला अस्पतालमा सात किसिमका तथा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा डिपो, पिल्स र कण्डम गरी तीन किसिमका साधन उपलब्ध गराउने व्यवस्था गरेको छ ।
नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम–दुईले सन् २०१५ भित्रमा प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रमा तीनवटा साधनमा आइयुसिडि र इम्प्लान्टसमेत थप गरी ५ प्रकारका अस्थायी साधन उपलब्ध गराउने लक्ष्य लिएको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा.सेनेन्द्र उपे्रतीले बताए । उनले उपलब्धता र छनौटका विकल्प बढाउनका लागि अस्थायी साधानसहित महिला र पुरुष बन्ध्याकरण सेवा विस्तारको योजनासमेत रहेको सुनाए । (स्वास्थ्य खबर)
पटकपटक गर्भपतनका खतरा :
:- पाठेघर प्वाल पर्ने
:- पाठेघरको संक्रमण
:- अत्याधिक रक्तश्राव
:- पाठेघर टाँसिने
:- पाठेघर कुहिने
:- पाठेघर खुम्चने
:- निसन्तान
:- पाठेघर फुट्ने
:- कतिपय अवस्थामा ज्यानै जान सक्ने