कतारमा १० औँ तलाबाट खसेर एक-नेपालीको मृत्यु

खोटाङ, चैत ४,

भवनको तलाबाट खसेर कतारमा खोटाङका एक युवकको ज्यान गएको छ। कतारको स्थानीय एक कम्पनीमा स्क्याफोल्डिङको काम गर्दै आएका खोटाङ टेम्मा-५ का २१ वर्षीय प्रदीप बस्नेतको भवनको १० औँ तलाबाट खसेर शनिबार ज्यान गएको खोटाङ सेवा समाज कतारका महासचिव नारायण बस्नेतले जानकारी दिए।

बस्नेत रोजगारीका सिलसिलामा सात महिनाअघि मात्र कतार पुगेका थिए। बस्नेतको शव स्थानीय हमाद अस्पतालमा राखिएको छ। बस्नेत र एक हप्ताअघि ज्यान गुमाएका खोटाङकै बाँझेच्यानडाँडाका दिलीप भुजेलको शव एकैसाथ नेपाल पठाउने तयारी भइरहेको महासचिव बस्नेतले जानकारी दिए।

मृतक बस्नेतका श्रीमती र तीन महिनाकी छोरी छन्। समाजका अनुसार नौ महिनाको अवधिमा कतारमा ज्यान गुमाउने खोटाङ्गे युवाको सङ्ख्या छ पुगेको छ।

उनीहरूमध्ये चार जनाको हृदयघात, एक जनाको रहस्यमय र अहिले पछिल्लोपटक बिल्डिङबाट खसेर ज्यान गएको खोटाङ सेवा समाज दोहा कतारले जनाएको छ। रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com