काठमान्डू फागुन २८,
काठमाडौं- महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनका लागि आज बिहानैदेखि ठुलो घुइँचो लागेको छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा सो मन्दिर रहेकाले प्रत्येक वर्ष आजको दिन मन्दिरमा मेला लाग्ने गर्छ।
पशुपति क्षेत्र विकास कोषले मन्दिरमा आउने भक्तजन तथा दर्शनार्थीको सहजताका लागि गौशाला हुँदै वनकालीतर्फको मार्ग, चावहिलबाट मित्रपार्कको मार्ग र सिफल जयवागेश्वरीको मार्ग गरी तीनवटा मार्गको व्यवस्थापन गरेको छ।
त्यस्तै सोही मार्गमा रहेको विभिन्न स्थानमा दर्शनार्थीको जुत्ता तथा चप्पल राख्ने व्यवस्था मिलाइएको छ। कोषका निर्देशक भरत मरासिनीले पशुपति क्षेत्रमा आउने भक्तजनको सुरक्षाका लागि प्रहरी तथा स्वयम्सेवकको व्यवस्था गरिएको र आज रातभरि नै पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था मिलाइएको बताए। आज १० देखि १२ लाखले दर्शन गर्ने अनुमान गरिएको छ।
उनले यस पटक पनि रु एक हजारको सशुल्क दर्शन कायमै राखिएको र यसबाट करिब तीन हजार दर्शनार्थीले दर्शन गर्ने अनुमान गरिएको र नेपाली सेनाले हेलिकोप्टरबाट पशुपतिनाथ क्षेत्रमा पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको बताए। यस वर्ष पनि विभिन्न सङ्घ संस्थाले दर्शनार्थीका लागि अस्थायी स्वस्थ्य शिविर तथा भोजनको व्यवस्थासमेत गरेका छन्।
बागलुङ- महाशिवरात्री पर्वको अवसरमा धौलागिरि अञ्चलमा रहेका विभिन्न शिवपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। मुस्ताङको पवित्र मुक्तिनाथ धाम, म्याग्दीको गलेश्वर महादेव, बागलुङको गौरीशङ्कर मन्दिर र पर्वतको गुप्तेश्वर महादेवको मन्दिरमा विशेष पूजाआजा चलिरहेको छ।
शिव मन्दिरमा धौलागिरि क्षेत्र र आसपासका क्षेत्रबाट आएका भक्तजनको भीड लागेको छ। त्यस्तै ग्रामीण क्षेत्रमा रहेका सानाठूला शिवालयमा पनि बिहानैदेखि भजनकृतनसहित पूजाआजा चलिरहेको छ।
बजारक्षेत्रमा पनि बिहानैदेखि मन्दिर जाने र फर्कने मानिसको चहलपहल बढेको छ। विशेष गरी हिन्दु धर्मावलम्बीले धुमधामका साथ शिवरात्री पर्व मनाउने गरेका छन्। मन्दिरहरुमा शिव भगवानको महिमागान गाउने, भजनकृतन गर्ने, धुनी लगाउनेजस्ता कार्यहरु भएका छन्।
भक्तजनहरुले दिनभर निराहार व्रत बस्ने र साँझ घरघरमा धुनी लगाउने, भजनकृतन गाउने, आगोमा पड्काएको उखु खाने, शिव प्रसादी खानेजस्ता प्रचलन अहिले पनि छ। निर्जल व्रत, राति जाग्राम, चार प्रहरको पूजा, दूधले शिवलिङ्ग अभिषेक, शिवमहिमागानसहितका भजनकृतनका साथ महाशिवरात्रि पर्व मनाउने गरिन्छ।
फागुन कृष्ण चर्तुदशीका मनाइने शिवरात्रिलाई पर्वहरुको राजा पनि भन्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ। शिवरात्रिको पालनाले भोग र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। शिवजीको ध्यान र जप गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।
अर्घाखाँची- महाशिवरात्रीको अवसरमा नेपालमै एक मात्र स्फटिक धातुको शिवलिङ्ग रहेको सिद्धेश्वर शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। अर्घाखाँचीको चुत्राबेसीस्थित सिद्धेश्वर शिवालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिवलिङ्ग रहेको यस मन्दिरमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लागेको हो।
दैनिक वैदिक विधिपूर्वक पूजाआजा हुने यस मन्दिरमा आज लघुरुद्रीसहित विशेष पूजाआजा पनि राखिएको छ। मन्दिर परिसरमा मध्याह्न आरती, अखण्ड लक्ष्यवर्तीका दीपदान, सन्ध्याकालीन आरती तथा रातभरि भजनकीर्तन हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
सिद्धेश्वर शिवालय मन्दिर सजाएर झकिझकाउ पारिएको छ। भक्तजनको लागि मन्दिरमा दर्शन गर्नका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ। शिवरात्रिको दिन भक्तजनले आज शिवको महिमा गाउँदै शिवलिङ्गमा गाईको दूध तथा बेलपत्र चढाएका छन्। शिवरात्रिको दिन शिवलिङ्गमा दूध तथा बेलपत्र चढाए मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
त्यस्तै सन्धिखर्कमा रहेको १०८ गणेश पाञ्चायन मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ। यस मन्दिरमा पनि रुद्रीसहित पूजाआजा राखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
इटहरी- महाशिवरात्रि पर्वको अवसरमा शिवालयमा हिन्दु धर्मावलम्बी महिला तथा पुरुष बिहानैदेखि बेलपत्र र पूजा सामग्री लिएर शिवालयमा भीडभाडकासाथ भगवना शिवलाई पानी चढाउने र बेलपत्र अर्पण गरिरहेका छन्। पूर्वको सबैभन्दा महत्वपूर्ण शिवालयका रुपमा धरान विजयपुरगढी क्षेत्रमा रहेको पिण्डेश्वर शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
उता खोटाङ जिल्लाको हलेसी शिवालयमा पनि सयौँ भक्तजनले भगवान शिवको मूर्तिमा जल अर्पण गरेर भक्ति प्रकट गरिरहेका छन्। देवगणले समुन्द्र मन्थन गर्दा निक्केको अमृतलाई पीण्डेश्वरमा देवगणले ल्याई भगवान शिव स्थापना गरेकाले यो पावन भूमिमा आई भगवान शिवका पूजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले पनि धेरै मानिसको पीण्डेश्वर शिवालयमा आजका दिन पनि भीड लाग्ने गरेको हो।
प्रत्येक वर्ष साउन महिनाको सोमवार बोलबम मेलाको आयोजना गर्दै आएको यो समितिले महाशिवरात्री, गणेशचौथी, बालाचतुर्दशी, सरस्वती पूजाका अवसरमा पनि यहाँ विविध कार्यक्रम गर्ने गरेको छ। रुद्राक्षको उत्पत्तिभूमि र भगवान् शिवको प्रिय शितशैल क्षेत्र भएकाले पनि यहाँ गरिने पूजाले भगवान प्रसन्न हुने रुद्राक्षारण्यमा उल्लेख छ।
सुनसरीमा रहेको विभिन्न धार्मिक पर्यटकीयस्थलका तस्बिर अङि्कत रुद्राक्षाराण्य पीणेश्वर दर्पण पुस्तकको पनि आजै लोकार्पण गरिएको छ। विराट पर्यटन समितिका अध्यक्ष भवेश श्रेष्ठले सो पुस्तकको लोकार्पण गर्नुहुँदै पूर्वी नेपालको सुनसरी धार्मिक पर्यटनको दृष्टिकोणले ज्यादै उर्वरभूमिका रुपमा रहेको चर्चा गरे।
आज पीण्डेश्वर शिवालय परिसरमा लघु रुद्रीपाठको पनि आयोजना गरिएको पीण्डेश्वर शिवालय बोलबम समितिका सदस्य विकास बनेपालीले जानकारी दिनुभयो। पीण्डेश्वर धार्मिक पर्यटकीयस्थलका महिमालाई अरु उजागर गर्नका लागि महाशिवरात्रि पर्वका अवसर पारेर लघु रुद्रीपाठ आयोजना गरिएको उनको भनाइ छ।
साङ्घवेद संस्कृत विद्यालय, शङ्कराचार्यापीठ खुदुनाबारी झापाका ११ बटुकद्वारा यहाँ सारस्वरसहित लघुरुद्री पाठ बिहान ८ बजेदेखि सुरु गरिएको छ। यी कार्यक्रमसँगै प्रसाद वितरण र साँझमा धुनी बालिने कार्यक्रम छ। यहाँ शिवरात्रिको अवसरमा धरानका मनिष लोहियाको सहयोगमा मन्दिरमा रङ्गरोगनसमेत गरिएको पीण्डेश्वर बोलबम समितिले बताएको छ।
उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका पाँच शिवालय मन्दिर तथा सदरमुकाम गाईघाट क्षेत्रका विभिन्न शिव मन्दिरमा शिवरात्रिको अवसरमा आज बिहानैदेखि यस क्षेत्रका भक्तजन पूजा तथा दर्शन गर्नको लागि भीड लाग्न थालेका छन्। गाईघाटस्थित बोक्सेमा रहेको पञ्चेस्वर शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लाग्न थालेको छ। भगवान शिवलाई जल चढाउन र पूजा गर्नका लागि महिला पुरुष तथा तथा स-साना केटाकेटीलगायत अन्य वृद्धवृद्धासम्म पनि पञ्चेस्वर मन्दिरमा पूजा गर्न आइपुगेका छन्।
पञ्चेस्वर मन्दिरमा पूजा गर्न सदरमुकाम गाईघाट क्षेत्रका स्थानीय बासिन्दा कर्मचारी, सेना, तथा प्रहरीसमेत दर्शन गर्न आइपुगेको स्थानीय उमेश ढकालले बताए। यस्तै नगरकै वडा नं १ को ढिम्कीस्थित भैरवेस्वर शिवमहादेवको मन्दिरमा पनि दर्शन गर्नेहरुको भीड लाग्न थालेको छ।
बिहानैदेखि हजारौँको सङ्ख्यामा भक्तजन गाईघाट ढिम्कीस्थित भैरवेस्वर महादेव मन्दिरमा पूजा तथा दर्शन गर्न आइपुगेको स्थानीय कर्णबहादुर खड्काले बताए। यता नगरकै वडा नम्बर- ५ को भुल्केस्थित त्रिपुरेश्वर महादेवको मन्दिर र नगरकै वडा नम्बर १६ को कालीखोला जङ्गलमा रहेको ककनेस्वर महादेवको मन्दिरमा आज उदयपुरका धेरै भक्तजन दर्शन गर्नको लागि आइपुगेका छन्।
बिहान ६ बजेसम्मा झन्डै ५०० भक्तजनले ककनेस्वर महादेवको दर्शन गरिसकेको स्थानीय ढाकबहादुर कार्कीले बताए। यता नगरकै वडा- ४ स्थित असारी क्षेत्रमा रहेको सप्तेस्वर शिव मन्दिरमा समेत स्थानीय भक्तजनको पूजा तथा दर्शनको लागि भीड बढ्न थालेको स्थानीय निर्मलकुमार रेग्मीले बताए।
त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न शिवालय मन्दिरमा त्रियुगा नगरपालिका क्षेत्र तथा सदरमुकाम गाईघाटलगायत अन्य क्षेत्रबाट आउने भक्तजन गरेर झन्डै ५० हजारको सङ्ख्यामा भक्तजनले दर्शन गर्न सक्ने सनातन धर्म सेवा समिति गाईघाटका सदस्य केदार दाहालले बताए। रासस ;