रिपोर्टर्स क्लब नेपाल -- प्रधानन्यायधिसलाई निशर्त रुपमा चुनावी सरकारको नेतृत्व दिनु पर्छः अध्यक्ष थापा

काठमाडौ, १० फागुण ,

जेठसम्ममा निर्वाचन हुन नसके अन्तरिम संविधानको दाहसस्कार गरेर विकल्प खोज्नु पर्ने भनाई  

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ मसान्तसम्ममा निर्वाचन सम्पन्न गराउन प्रधानन्यायधिसलाई निसर्त नेतृत्व दिनु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले सर्त राखेर जेठमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै तीन महिनाभित्र निर्वाचन गर्ने गरी कुनै पनि सर्त नराखी प्रधानन्यायधिसको नेतृत्वमा निर्वाचन गराउनु पर्ने बताए । 

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अध्यक्ष थापाले अन्तरिम संविधान भ्यान्टिलेटरमा अचेत अवस्थामा रहेको बेला त्यसलाई बचाउने कोरामिनबाहेक कुनै विकल्प नहुने भन्दै प्रधानन्यायधिसको नेतृत्वले मुलुकमा कोरमिनको काम गर्ने दावी गरे । उनले भने– भेन्टिलेटरमा रहेको विरामीलाई बचाउने बिकल्प हुन्छ र जसरी बाँच्छ त्यही उपाय अपनाउनु पर्छ । अहिले मुलुकको अवस्था पनि त्यस्तै छ । 

मुलुकमा ब्यवस्थापिका नभएको ,कार्यपालिका पनि कामचलाउ मात्रै भएको अवस्थामा शक्ति पृथकीकरणको कुनै हैसियत नभएको दावी गर्दै थापाले निर्वाचन पछि आफै शक्ति पृथकीकरण कार्यान्वयन हुने भएकोले निर्वाचनमा जान विलम्ब नगर्न सुझाव दिए । यद्यपि उनले बाबुराम भट्टराई सहित दलका नेताहरुको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष नहुने भएकोले त्यसमा भने सहभागि नहुने स्पष्ट पारे । दलहरुले तयार पारेको नौ बुँदे दस्तावेज चारदलीय सेण्डिकेटलाई संविधानमा लेखेर बैद्यानिकता दिई राज गरिरहने षडयन्त्र भएको आरोप लगाउँदै उनले नौ बुँदे प्रस्तावलाई चुनाव नगराउने र सत्तामा टिकिरहने चारको कलुषित धारणा भएको बताए । 

निर्वाचनमा जान प्रमुख दल डराउनु अहिलेको समस्याको प्रमुख कारक तत्व भएको थापाको दावी थियो । उनले जेठ मसान्त भित्र निर्वाचन हुन नसके अन्तरिम संविधानको दाहसस्कार गरेर त्यसको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याउँदै त्यसको उपयूक्त विकल्प २०४७ सालको संविधान हुन सक्ने धारणा राखे । थापाले भने– १२ बुँदे दिल्ली सम्झौताको औचित्य समाप्त भईसक्यो, २०६२–६३ सालको आन्दोलनको मार्ग चित्र असफल भईसक्यो, संविधानसभाको विघठन पछि अन्तरिम संविधान पनि असफल भईसक्यो । यसले अब मुलुकलाई निकास दिन सक्दैन । त्यसैले पनि विकल्प खोज्ने बेला आयो । 

पछिल्लो समयमा राष्ट्रपतिको भूमिकामा प्रश्न उठाउँदै थापाले संविधानको संरक्षक र पालक राष्ट्रपति चार दलिय सेण्डिकेटको संयोजक भएको आरोप लगाए । उनले राष्ट्रपतिले आफ्नो कार्यालय शितल निवासलाई समेत चार दलिय सेण्डिकेटको कार्यालय बनाएको बताए । थापाले भने– एक दर्जन असक्षम नेताहरुको नेता बनेर उनीहरुसँग छलफल गरेर निकास हुँदैन । राष्ट्रपतिले विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसँगको छलफलबाट निकास खोज्नु पर्छ । नभए निकास निस्कदैन । 

जेठभित्रमा निर्वाचन हुन नसके आफूहरु विकल्पको लागि सडक आन्दोलनमा जाने चेतावनी दिदै निर्वाचन र आन्दोलनमा सहकार्य गर्ने गरी राष्ट्रबादी शक्तिहरुवीचको तालमेलको आधारमा तेस्रो शक्ति निर्माण गर्ने तयारी भईरहेको जानकारी दिए । त्यस्तो मोर्चामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीसँग भने आफूहरुको कुनै सहकार्य र एकता हुन नसक्ने थापाले स्पष्ट पारे । उनले भने–उहाँहरु अर्कै बाटोमा हुनु हुन्छ । त्यसैले उहाँहरुसँग एकता र सहकार्यको कुनै सम्भावना छैन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com