सैनिकले स्थानीयलाई कुटपिट गरेको भन्दै नुवाकोट तनावग्रस्त

नुवाकोट, फागुन १० ,

नुवाकोटको साततले दरबारको सुरक्षार्थ खटिएका सैनिक जवानहरूले स्थानीयलाई कुटपिट गरेको भन्दै गएरातिदेखि सो क्षेत्र तनावग्रस्त बनेको छ। हिजो बेलुका साढे १० बजे स्थानीय देवेन्द्र डङ्गोलको घरमा भोज खाएर फर्किरहेका स्थानीय छ जना किशोरलाई सैनिक जवानहरूले कुटपिट गरेको बताइएको छ। 

सुरक्षापोस्टका जवानहरूले बिनाकारण कुटपिट गरेको भन्दै स्थानीयले दोषी सैनिकलाई कडा कारबाही गर्न र सुरक्षापोस्ट नै हटाउन माग गरेका छन्। सँगैभोज खाएर फर्किएका सैनिकहरूले साततले दरबारनजिक आइपुगेपछि अँध्यारो ठाउँ बनाएर कुटपिट गरेकोस्थानीयवासीले आरोप लगाएका छन्।

सैनिक जवानहरूको कुटपिटबाट स्थानीय अनिल डङ्गोल, राम डङ्गोल, प्रवीण किशोर डङ्गोल, विज्ञान श्रेष्ठ, सन्तोष थापा, रामशरण डङ्गोल र धिरज पाण्डे घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेका छ। सैनिक जवानहरूले जथाभावी होहल्ला गर्दै किशोरहरूलाई कुटेको स्थानीयवासीले बताएका छन्।

घटनामा संलग्न रहेका साततले दरबार सुरक्षापोस्टका लेफ्टिनेट आकाश विष्ट र पाँचजनालाई स्थानीयसँग आज बिहान माफी माग्न लगाई विभागीय कारबाहीको लागि गणमा फिर्ता बोलाएपछि तनाव शान्त बनेको थियो।

सैनिकले माफी मागे पनि घटनाको विरोधमा स्थानीयले सैनिक पोस्टमा लगिएको खानेपानी, सञ्चार सेवा, इन्धन (दाउरा) बन्द गरिदिएका छन भने दरबार क्षेत्रबाट सुरक्षापोस्ट नै हटाउनुपर्ने माग कायमै राखेका छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com