स्वास्थ्य मन्त्रालयले आफ्नै मातहतमा अस्पतालमा फार्मेसी सञ्चालन गर्ने

काठमाडौँ, फागुन ९ ,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका सबै अस्पतालमा आफैँले फार्मेसी (औषधि पसल) सञ्चालन गर्ने भएको छ। यसका लागि मन्त्रालयले सञ्चालन नीति तयारी अन्तिम अवस्थामा पुर्‍याएको छ।

अस्पतालले खुला प्रतिस्पर्धाबाट चयन गरेका औषधि पसलप्रति व्यापक जनगुनासो आएपछि मन्त्रालय आफैले मातहतका अस्पतालमा फार्मेसी सञ्चालन गर्न लागेको हो। मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले मन्त्रालयले अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न आवश्यक तयारी गर्न र नयाँ बोलपत्र नगर्न निर्देशनसमेत दिइसकेको बताए।

हाल मन्त्रालयअन्तर्गत केन्द्रीय, अञ्चल, जिल्ला अस्पताल गरी सयभन्दा बढी अस्पतालमार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ। यस्ता अस्पतालको हाता र हाता बाहिर खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रबाट फार्मेसी सञ्चालन भइराखेको छ। यसैबीच मन्त्रालयले अस्पतालमा रिक्त रहेका विशेषज्ञ सेवा शीध्र पूरा गर्ने तयारी गरेको छ।

यसका लागि मन्त्रालयले मन्त्रिपरिषद्बाट ३३० जना विशेषज्ञ चिकित्सक खटाउन स्वीकृत प्राप्त गरेको छ। मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख प्राडा तीर्थ बुर्लाकोटीले दरबन्दी स्वीकृत भएर आइसेकाले छिट्टै यससम्बन्धी काम अगाडि बढाइने बताए। रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com