इज़रायल माघ २०,
बिदेशिनु रहर नभइ वाध्यता हो । अझै पनि सामान्य बुझाइ अनुसार बिदेश भन्नाले सजिलै संग मनग्य धन कमाउन सकिने ठाउ भनेर नेपालमा बुझ्ने गरिन्छ । सायद यस्तै बुझाइको परिणाम कै कारण पनि केहि हद सम्म बैदेशिक रोजगार प्रती आकर्षित हुनु हो ।
एकातिर बिदेशको बारेमा सामान्य बुझाइको मिठो सपना देख्ने परिभाषा कायम छ भने अर्को तिर बिदेशी माटोमा कामदारको रुपमा भोगेका तिता अनुभव हरुको संगालो उत्तिकै कारुणिक छ ।नेपालमा मोटा मोटी रुपमा नेपाली कामदारहरुले बिदेशमा गर्ने कामको प्रकृतीको बारेमा माथिल्लो तहमा बुझ्ने कोशीस गरे पनि यथार्थता र वास्तविकता भने भोग्नेहरुकै दैनिकीमा सिमित छ जुन कुरा पढेर वा सुनेर बुझ्न अनि महसुस गर्न निकै गार्हो छ ।
नेपालमा दशकौ अघि देखि नै पुरुषहरु बैदेशिक रोजगारीमा जाने आउने क्रम जारी छ । यो कुनै नया कुरा नभई बिगत देखि निरन्तरता दिदै आयको बिषय हो । समयको परिवर्तन संगै महिलाहरु पनि आत्मनिर्भर बन्न देखाएको अग्रसरतालाई पुरुषहरुले जारी राखेको बैदेशिक रोजगारलाई आफुले पनि आत्मसाथ गर्न थालेका छन । सुनौलो भविष्यको आशा राख्दै अवसरको खोजीमा घर परिवार ,बाल बच्चा छाडेर एकल रुपमा बिदेशी भूमिलाई आफ्नो कर्म थलो बनाउन पछिल्लो दशकमा हजारौको संख्यामा नेपाली महिलाहरु बिदेशीयको तथ्यांक हामि कहाँ छ ।
विभिन्न किसिमका कम्पनिमा अनि घरेलु कामदारको रुपमा महिलाहरुले काम गर्दै आइरहेका छन् । आफ्नै मुलुकमा जहा पायो त्यहि काम गर्न हिचकिचाउने , डर मान्ने , असुरक्षित महसुस गर्ने नेपालि महिलाहरु बिदेशी मालिकको खटन अनुसार आफुलाई दिइएको जिम्मेवारी पुरा गर्न निरन्तर लागि परेका छन । स्वदेशमा आफ्नो कुनै पेशामा खटिनु भन्दा बिदेशको संघर्ष त्यसमा पनि एकल रुपमा बाहिरीएका महिलाहरुको लागि निकै चुनौतिपूर्ण छ जुन कुरा शब्दमा उतारेर बिश्वास गरिदैन होला ।
महिलाहरु आत्मनिर्भर बन्न घर बाहिर निस्किनु , स्वदेश तथा बिदेशमा रोजगारीमा संलग्न हुनु नेपाली समाज देखिएको थप नया परिवर्तन हो । तर दुख लाग्दो कुरा यो परिवर्तनलाइ आत्मसाथ गर्दा बिशेष रुपमा एकल रुपमा बाहिरीने महिलाहरुले बिदेशमा विभिन्न किसिमका पारिवारीक , शारिरीक , मानसिक आदि खालका दुख र पीडाहरु संग साक्षात्कार गरिरहेका छन् । शारिरीक रुपमा प्रकृतिले नै महिलाहरुलाइ पुरुष भन्दा कमजोर बनायको छ तर बिदेशी भूमिमा तोकिएको कामलाई आफ्नो क्षमता भन्दा बाहिर हुदा हुदै पनि जिम्मेवारी वहन गर्नु पर्ने वाध्यात्मक कारणले कतिपय महिलाहरुको शरीर जोखिममा परेका घटनाहरु पनि छन् जसले गर्दा आजीवन आफ्नो अपाङ्ग शरीर लियर बाच्न विवश छन् ।
मानिसलाई सर्वश्रेष्ठ बुद्दिजिवि प्राणि मानिए पनि मानव समाज भित्र विश्वका हरेक समाजहरुमा केहि न केहि रुपमा महिला हिंशा कायम छ । बिदेशिएका नेपालि महिलाहरुको बिदेशी भुमि मै पनि अस्मिता लुटिने गरेको र दुर्ब्यबहारको शिकार बन्न पुगेका खबरहरु प्रसस्तै बाहिरीने गरेका छन् । त्यसैले जति सुकै बिकसित , राम्रो कानुन र महिलाहरु अधिकार सम्पन्न भयको मुलुक भय पनि आफुहरु सत प्रतिशत सुरक्षित महसुस गर्न सक्दैनन । रातकै समयमा यात्रा गर्दा होस् वा नया ठाउमा कामकै खोजीमा जानु पर्दा नै किन नहोस मन भरी आफु माथि हुन सक्ने सम्भावित दुर्ब्यबहारको खतराले उत्तिकै भयवित बनायको हुन्छ यो भन्दा ठुलो मानसिक तनाव बिदेशी भूमिमा अरु नहोला ..... !!
अर्कोतिर परिवार अनि आफुले जन्माएका प्राण भन्दा पनि प्यारा सन्तानहरु देखि बिछोडीएर बर्षौ सम्म अरुकै अधिनमा आफ्नो स्वतन्त्रता बिना केवल पैशाकै लागि बस्नु पर्दाको नमिठो पिडा दिनरात निकै नै कस्टका साथ महिलाहरुले सहिरहेका छन् । हुर्कदै गरेका साना साना सन्तानहरुलाई मातृत्वको न्यानो काख बाट बन्चित गराउदै लाखौ कोष टाढा बसेका आमाहरु सन्तान कै पिरले आफुलाई मानसिक रोगी समेत बनायका छन् भने कोहि चाहि बिदेसीदा लागेको लगानी पनि उठाउन नपाउदै स्वदेश फर्कने गरेका छन् ।
मनमा जस्तो सुकै पिडा र बेदना भय पनि आफ्नै परिवारको समुन्नत भविष्यको लागी जिउ ज्यान बिदेशी माटोमा बन्दकी राख्न पुगेका नेपाली दिदीबहिनीहरु स्वदेशमा रहने आफ्नै परिवार अनि आफन्तबाट सहयोग , सदभाव , माया ,ममता साथै थप उर्जा मिल्ने खालको हौसला उचित रुपमा नपाएको गुनासो पनि सुनाउने गर्छन ।
परिवारबाट उल्टै विभिन्न किसिमका आशंका , आरोप, प्रत्यारोप लगाई आफुलाई मानसिक तनाव दिने गरेका यथार्थता पनि विदेश बसाइकै अबधिमा भोग्नु परेको बताउने गर्छन । एकातिर घरपरिवार अनि समाजले गर्ने उपेक्क्षित ब्यबहार अर्कोतिर दिन रात भोक निन्द्रा पनि नभनी कामकै लागि खट्नु पर्ने तितो सत्य वास्तवमै नेपाली महिलाहरुको विदेश भोगाइ अदृश्य पिडा बनेको छ यिनै अदृश्य पिडाहरुलाई साहसमा परिणत गर्दै कर्म भूमिमा पसिना बगायका छन् ।
लक्ष्मी मरासिनी ज्ञवाली, गुल्मी :