प्रकाश अधिकारि ; छोरा डेकेन्द्रको मुद्दामा वकिलहरूको बहस सुनिरहेकी गंगादेवी थापा बिहीबार दिनभर रोइरहिन् । आफ्नो पक्षका ५ जना वकिलले बहस गरिरहँदासम्म धैर्यपूर्वक इजलासमा बसेकी थिइन् । जब प्रतिवादीतर्फका वकिलले मानवीय संवेदनासमेत ख्याल नगरी डेकेन्द्रबारे तथानाम आरोप प्रमाणित गर्न थाले तब उनले मन थाम्न सकिनन् । विपक्षीको बहस सुन्नासाथ बेहोसजस्तै बनिन् ।
प्रतिवादीका वकिल कपिल पोखरेलले बहस गरिरहँदा छोरीलाई अंगालो मार्दै उनी रुँदै बाहिरिइन् । 'मन थाम्नै सकिनन्,' जीवनमा पहिलोपल्ट इजलास कक्षमा बहस सुन्न पुगेकी उनले बाहिरिने क्रममा भनिन्, अहिलेसम्म माओवादीले नलगाएको आरोप आज ती वकिलबाट सुन्नुपर्यो । झूटो कुरा गरेर कस्तो न्याय दिलाउन लागेका होलान् ।'
बोल्न गाह्रो भएपछि अदालतको गेटबाट बाहिरिएकी ६५ वषर्ीय गंगादेवीको अनुहार आँसुले निथ्रुक्क भिजेको थियो ।
उनी जीवनमै पहिलोपल्ट इजलास कक्षमा बहस सुन्न पुगेकी थिइन् । दुई छोरी र दुई बुहारीका साथ इजलास कक्षको बायाँ साइडको अग्रभागमा उनले करिब ३ घन्टाजति बहस सुनेकी थिइन् । बहस सुन्न पत्रकार, नागरिक अगुवा, माओवादी नेता कार्यकर्ता र अभियुक्तका परिवारका सदस्यहरूको इजलास कक्षमा भीड लागेको थियो । जाहेरी दर्खास्तवाला डेकेन्द्र पत्नी लक्ष्मी थापाको तर्फबाट जिल्ला न्यायाधिवक्ता डम्बर काफ्लेका साथमा अधिवक्ताहरू वसन्त गौतम, कृष्णबहादुर हमाल, सुरेन्द्र अधिकारी, ललितबहादुर मल्ल र प्रतिवादीका तर्फबाट गोपाल शिवाकोटी चिन्तन, केदार गुरागाईं र कपिल पोखरेलले बिहीबार बहस गरेका थिए ।
अभियुक्त पक्षबाट बहस गर्न चिन्तनसहितको टोली काठमाडौंबाट अघिल्लो दिन आइपुगेको थियो । डेकेन्द्रको पक्षबाट गोविन्द बन्दी लगायतका अधिवक्ताको बहस बाँकी छ । बहस सकिएपछि न्यायाधीशले शुक्रबार थुनछेकको आदेश दिनेछन् । जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज पन्तले शुक्रबार अभियुक्तउपर थुनछेकको आदेश हुने जानकारी दिए ।
डेकेन्द्र मुद्दाको विपक्षमा जिल्लाका कानुन व्यवसायीले साथ दिएका छैनन् । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले चिन्तनसहित ४ जना कानुन व्यवसायी दैलेख पठाएको हो ।
'डेकेन्द्र पत्रकारमात्र नभई असल समाजसेवीसमेत भएकाले उसप्रति जिल्लावासीको राम्रो सद्भाव रहिरहेको छ,' अधिवक्ता खड्गबहादुर सिजापतिले भने, 'डेकेन्द्रको अनाहकमा हत्या भएकाले विपक्षमा वकालत नगरेका हौं ।'
सरकारी वकिल कार्यालयले सोमबार हत्या अभियोगमा ९ जनाविरुद्ध सर्वस्वसहित जन्मकैदको माग राखी अदालतमा मुद्दा दायर गरेको थियो ।
जिल्ला न्यायाधिवक्ता डम्बर काफ्लेले प्रहरी प्रतिवेदनका आधारमा द्वारी गाविस-१ का लक्षीराम घर्तीमगर, बालुवाटार-९ का निरकबहादुर घर्तीमगर, वडा नं. ४ का वीरबहादुर केसी, द्वारी-३ का हरिलाल पुनमगर, रानीवन गाविस-१ का जयबहादुर शाही, छिउडीपुसाकोट-१ का बमबहादुर खड््का अरुण, केशव खड््का, कट्टी गाविस-१ का बमबहादुर खड््का मुक्ति, द्वारी-१ का भक्तिराम लामिछाने माथि कर्तव्यज्यानसम्बन्धी मुद्दा दायर गरेका थिए ।
अभियुक्तविरुद्ध मुलुकी ऐनको दफा १३ -३) बमोजिम सर्वस्वसहित जन्मकैद माग गरिएको छ ।
अन्य ४ जना अभियुक्तहरू फरार छन् । यदि शुक्रबार थुनछेकको आदेश भएमा अदालतले वारेन्ट तथा म्यादी पुर्जी जारी गर्नेछ । राज्यकै संरक्षणका कारण कट्टीका बमबहादुर खड्का मुक्ति, छिउडीपुसाकोटका बमबहादुर खड्का अरुण, सोही गाविसकै केशव खड्का र द्वारीका भक्तिराम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छैन ।
खानेपानीसम्बन्धी वार्तामा बोलाइएका थापालाई ०६१ असार १२ गते अपहरण गरी साउन २७ गते हत्या गरी गाडेका थिए ।
डेकेन्द्र हत्या पार्टी निर्देशनविपरीत भन्दै माओवादीका तत्कालीन पश्चिम क्षेत्रका इन्चार्ज पोस्टबहादुर बोगटीले विज्ञप्तिमार्फत माफीसमेत मागेका थिए । हत्याको चार वर्षसम्म माओवादी कार्यकर्ताले शव लुकाइराखेका थिए । नेपाल पत्रकार महासंघको पहल र राष्ट्रिय मानव अधिकार आयोगको सहयोगमा शव उत्खनन गरी डीएनए परीक्षणपश्चात् परिवारले दाहसंस्कार गर्न पाएका थिए ।इकान्तिपुर;