कतार माघ २,
देशको राजनीति उथुलपुथल र केहि आफ्नै नितान्त व्यक्तिगत बाध्यताले घरदेश छाडी परदेशको यो खाडीमा पाईला टेकेको पनि कति छिटै छ वर्ष पुग्नै लागि सकेछ ,पछाडी फर्केर हेर्दा कहाली नै लाग्ने भैसकेछ | हाल देशको राजनीतिले केहि आशा लाग्दो किरणहरु छर्दै गरेको अवस्थामा मेरो जीवनले पनि निराशपनलाई केहि हद सम्म भए पनि पन्छाएको पाएकोछु |
यतिखेर म जिन्दगीको परिभाषा बुझ्न सक्ने भाछु | समस्या र बाध्यता जो कोहीको जीबनमा आउने कुरा हो, यो स्वाभाविक कुरा हो | यसलाई सहर्ष स्वीकार्नुको विकल्प म देख्दिन बरु जहाँ जस्तो हालतमा रहेर भए पनि त्योसंग मुकाबिला गर्नु बुद्धिमानी हो भन्ठान्छु म |वास्तबमा हो पनि | यदि त्यसो हो भने किन म पनि अब आफ्नै स्वदेशमा बसेर समस्या र बाध्यताहरुसंग पौंठे जोरी नखेल्ने? किन मुकाबिला नगर्ने?जस्ता दह्रो सोच र चेतना म भित्र सल्बलाईरहेको छ जस्लाई म मात्र अनुभूत गर्न सक्छु ।र त लाग्दैछु यति लामो समय पश्चात घरदेश जसरी खाली हात खाडी छिरें त्यसरी नै रित्तो रित्तो तर चेतनाको पोको पन्तुरो बाँधेर ।
म सम्झिन चाहन्छु यतिखेर हिजो उस्तै समस्या र बाध्यताको चाङ बोकेर सहयात्रामा निस्कनुभएका मेरा मित्रहरु ललित लगायत २१ जनालाई ।उहाँहरु जहाँ जे जस्तो हालमा भए पनि मेरो न्यानो माया र शुभकामना सुन्दर जीवनको ।
आफ्नो मूल्य आफै तिरी बेचिनुपर्दाको पीडालाई थाती राखेर अरुको अधिनमा स्वविवेकलाई बन्धक बनाई कडा परिश्रम गर्नुपर्दा असहज स्थितिको सामना त जोकोहिले पनि गरेकै हुन्छ ।म मात्र यसबाट अछुत रहुँला र? र पनि त्यसलाई मैले समस्याको रुपमा नलिई अवसरको रुपमा लिएँ । केहि सिक्ने केहि अनुभूत गर्ने परिकल्पना सहित म होम्मिएँ यो महासागारमा । यस मानेमा मेरो आफ्नो व्यक्तिगत अनुभवमा म केहि हद सम्म सफल पनि भएँ ।
यसैलाई मैले परदेशी जीवनको सबैभन्दा ठूलो उपलब्धि मानेको छु
प्राय हामीहरु घर देश छाडी विदेश भासिसकेपछीको अवस्थामा मात्र पैसा कमाउने धुनमा हुने गर्छौं र भने जसरी अथवा सोचे अनुरुप धन एकिकृत गर्न नसकेमा मानसिक रुपमा विक्षित्प्त हुन्छौ जस कारण हामी संधै तनाबमा हुने गर्छौं । फलस्वरूप सफलता भन्दा असफलता बढी हावी भएको महशुस गर्छौ तर सत्य अर्कै हुन्छ । नकारात्मक सोचाईले कतिपय अवस्थामा हामी आत्महत्या समेत गर्न पछि पर्दैनौं । एकातिर घरपरिवारबाट टाढा बस्नुपर्दाको पीडा अर्कोतिर नेपालीहरुप्रति गरिने भेदभावको शिकार हुनुपर्दा धेरै भन्दा धेरै नेपालीहरुले अकालमै ज्यान गुमाईरहेका छन् विदेशमा । त्यसमाथि जो होचो उस्को मुखमा घोचो भने झैं मौसमले पनि हामी नेपालीलाई साथ नदिईरहेको अवस्था सर्वविदित नै छ । यस्तोमा सम्हालिएर आफ्नो कर्तव्य निर्वाह गर्नु आफैमा चुनौति हो भन्दछु ।
यहाँनिर म अन्य कुरा भन्दा पनि मैले भोगेको, जानेको र मथिङ्गलले भ्याएसम्म बुझेको केहि अनुभवहरु राख्न चाहन्छु जसले गर्दा नेपालबाट भर्खरै आउनु भएका दाज्यु भाइ,दिदीबहिनीहरुलाई केहि हद सम्म भएपनि राहत मिलोस र धेरै बर्षदेखि यहाँ रहनुभएका अग्रज साथीहरुमा स्वदेश फर्की केहि गरौं भन्ने उत्प्रेरणा मिलोस । समस्या हल गर्ने ध्ययमा जन्मभूमिबाट अलग भैसकेको अवस्थामा सानोसानो कुरामा आफूलाई बहकाउनु पक्कै पनि राम्रो कुरा हैन । भगोलिक हिसाबले हामी आफ्नो जन्मथलोदेखि टाढा हुनुपर्दा हरेक कुराहरु फरक लाग्नु स्वाभाबिक कुरा हो जस्तो लाग्छ ।
एक त खाडी मुलुक उसै त हावापानी नमिल्ने अर्को समय पनि नमिल्ने ।त्यसो भएको हुदाँ यहाँ रहनुहुने कतिपय दाजुभाईहरुमा भ्रम उतपन्न भैदिन्छ कि
आफ्नो दैनिकीसंग नेपाली दैनिकी पनि मिल्छ भनेर । तर यथार्थमा त्यसो हुन्न । नेपाली समय यहाँको भन्दा लगभग ३ घण्टा छिटो दौडने हुनाले पनि यस्तो भ्रम सृजना भैदिन्छ जसको सास्ती नेपालमा बस्नुहुने आफ्ना प्रियजन आफन्तहरुले खेप्नुपरिरहेको हुन्छ जस्मा हाम्रो ध्यान गएकै हुदैँन । हामी त मस्त आफ्नो ड्युटी अफ भए पछि बाँकी पुरै समय फ्रि हुन्छौ तर नेपालमा रहनुहुने हाम्रा आफन्तजनहरु त व्यस्त नै भैरहनुभएको हुन्छ । यस्तोमा नानाभाँति शंका उपशंका गरि पटक पटक फोन गरेर घरका सदस्यहरुलाई तनाव दिनु मुर्ख्याँई हो ।
अनावश्यक शंकाले बनिबनाउ घर भत्किन बेर लाग्दैन । समय समयमा घरपरिवारको अवस्था हालचाल बुझ्नु छुट्टै कुरो हो तर छिन छिनमा एउटै कुरा दोर्यायई तेर्यारई घरका सदस्यहरुलाई तनाव भिडाउनु आफैमा लज्जास्पद र
हानिकारक कुरा हुन् ।यसो हुनुको अर्को एउटा कारण समय अन्तर हो भने अर्को ड्युटी अफ भएको पुरै समय अनावश्यक सोचेर हो हल्लामा बिताउनाले हो । हामीमा एउटा बानीको विकाश हुनु अत्यावश्यक छ त्यो हो फुर्सदिला क्षणको सदुपयोग गर्ने । सदुपयोगिताको सिद्दान्तमा हामी चल्न थाल्यौं भने पक्कै पनि आशातित फल प्राप्त गर्न सकिन्छ भने तनावबाट पनि हामी शतप्रतिशत मुक्त हुन्छौं ।
अब रह्यो सदुपयोग कसरी गर्ने? भन्ने कुरा । त्यसको लागि कुनै ठूलो योजना बनाउनु आवश्यक छैन । सानो भन्दा सानो काममा हामी आफूलाई अल्मल्लाउन सक्छौं जस्तै किताबहरु पढ्नु, अनलाईनमा समाचारहरु हेर्नु , केहि मनका भावनाहरु कोर्नु अथवा सुन्दर दृश्यावलोकन गर्नु इत्यादी ।
अर्को कुरा हामी यस्तो सर्कलमा घुलमिल हुनु आवश्यक छ जहाँ बौद्दिक बर्ग होस् । उहाँहरुबाट केहि सिक्ने केहि जान्ने मौका पाउँछौं । त्यस्तै विभिन्न संघसंस्थाहरुमा आबद्द भैई सामाजिक कृयाकलापमा आफूलाई सहभागी गराउन सके एक त परिचित हुने अवसर जुट्छ अर्को आत्मसन्तुष्टी पनि प्राप्त हुन्छ ।यसले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाईदा पुर्यासउँछ ।
म पनि विगत ६ वर्षदेखि यिनै उपयोगिताका सदुपयोगिताका सिद्दान्त आफूमा लागू गर्दै आईरहेको छु । यसबाट मलाई फाईदै भएको छ ।
आफू समस्या पर्दा होस् अथवा अरु कुनै साथी परेको होस् एक अर्कामा दु:ख सुख बाँड्ने गरियो भने जस्तै मुश्किलता पनि हल हुने सम्भावना रहन्छ । केहि समय अघि मात्रै मैले यहि खाडीमा आएर अलपत्र परेको मेरो भाईलाई यहिंको साथीभाईको समन्वयबाट उद्दार गरि स्वदेश फर्काउन सफल भएको थिएँ। यसमानेमा म आफूलाई भाग्यमानी पनि ठान्दछु कि यति ठूला र फराकिला हृदय बोकेका साथीभाईहरु मैले यो मरुभूमिमा पाएँ । साधुवाद ती मनहरुलाई ।
त्यस्तै हामी मध्य कतिपय साथीहरु विविध देशहरुबाट आएका कामदार मित्रहरुसंग घुलमिल हुन्छौं ।
घुलमिल हुनु आफ्नै ठाँउमा छ त्यहि घुलमिललाई मायाको नाम दिएर अन्य गलत गतिबिधिमा लाग्नु एक्दमै ठूलो भूल हो । मिठो बोल्दैमा कोहि कसैको मनमा पस्न सक्दैन । भ्रमका खेती गर्नेहरु प्रसस्त छन् यहाँ । माया प्रेमका नाटक मञ्चन गरेर कमाएको सारा सम्पती दम्पच पार्ने कुटिल चालमा पर्नुभएका हाम्रा थुप्रै दाजुभाईहरु हुनुहुन्छ । यसले एकातिर आफ्नो मेहनत खेर गैइरहेको छ भने अर्कोतिर आफैलाई बढि मानसिक कष्ट परिरहेको छ । यस्तोमा कोहि साथीहरु त विक्षिप्त समेत् हुनुभएको देखिएको छ। अत: यस्ता झिनामसिना कुराहरुमा आफूलाई अल्म्ल्याउनु हुन्न भन्ने मेरो मान्यता र सुझाव् छ ।
यहाँनेर प्राय हामी खाडी मुलुकमा बस्ने सबैले अनुभव गरेकै कुरालाई पनि म उप्काउन चाहन्छु । त्यो के हो भन्दा हामी बसेको ठाउँ अचाक्ली गर्मी हुने ठाउँ हो । यस्तो वातावरणमा मदिरा सेवन गर्नाले शारीरिक रुपमा अत्यन्तै घातक सिद्द हुन्छ । बरु यस्को साटो प्रसस्त मात्रामा पानी र झोल पदार्थहरु पिउनु पर्छ। यसले हाम्रो शरीरको तापक्रम बाहिरी वातावरणसंग एडजस्ट हुन सक्दछ।
यस्तै विचार र अनुभवहरु लिएर म स्वदेश फिर्ता हुदैंछु ।
यदि खेर मैले सबैलाई सम्झिनै पर्छ उहाँहरुलाई जसले मलाई यो खाडीमा बाँच्न सिकाउनुभो, संघर्ष गर्न आँट भर्नुभो ।
मलाई यतिका समयसम्म साथ दिनु भो उहाँहरु मेरो निम्ति सधैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ | नामै लिनु पर्दा यहाँका दुई साप्ताहिक पत्रीक राजधानी र कान्तिपुरलाई मैले भुल्नु हुन्न यि दुइ पत्रिका नै मेरो निम्ति आफ्नो कथा व्यथा पोख्ने माध्यम हो र त्यसै गरि विभिन्न वेभ साइटहरु मझेरी डट कम,डिसी नेपाल,नेपालइसराइल डट नेट,हाम्रो संसार डट कम,नारी दार्पण, नेपाल जापान डट कम लगाएत दर्जनौं साहित्यक वेभ पेजहरु प्रति म् ऋणी छु |त्यसै गरि यहाँका साहित्यिक संघ सस्थाहरु प्रति आभारी छु जहाँ बाट मैले धेरै सर्जकहरुलाई चिन्न पाएको छु र आफुलाई चिनाउन सकेको छु |
अन्त्यमा म सानो मान्छेको सानै योजनाको साथमा ठुलो र गहकिलो आत्मबल लिएर घर जाँदै छु । पक्कै पनि यहाँहरुको माया,सल्लाह सुझाब र साथ पाउने नै छु भन्ने कुरामा बिस्वस्त छु | साथै सबैमा पुन: उही आग्रह मान्छेको जिबनमा जति नै धन दौलत हात लागे पनि समस्याले कहिले पनि छाड्दैन । त्यसैले जे जति छ त्यतिमै चित्त बुझाउन सिकौं र आफ्नै देश फर्की यहाँका कम्पनीमा खटे जतिक्कै इमान्दारिता र लगनशिलताका साथ आफ्नै माटोमा परिश्रम गरौं । यसबाट प्राप्त हुने थोरै धन नै सहि तर बढिया आत्मसन्तुष्टी मिल्नेछ भन्ने मेरो विश्वास छ ।
कमसेकम आफ्नो परिवारको साथमा त रहन पाउनेछौं । उनिहरुको साथ एवं हौसलाले थप उर्जा पाउनेछौं ।मैले पनि यहि सोचलाई विस्तार गर्ने जमर्को गर्दै अरु केहि लान नसके पनि यतिका वर्षको मेहनतको रङ स्वरुप आफ्नै गीती संग्रह 'अतृप्त मनका रहर' बोकेर जादैंछु जसलाई म आफ्नो जननी नेपाल आमालाई श्रद्दाले सौगात स्वरुप अर्पण गर्न चाहन्छु ।