ओखलढुङ्गामा ऊर्जा सङ्कट कम गर्न ऊर्जा प्रदर्शनीको आयोजना

ओखलढुङ्गा, माघ १३ - देशमा ऊर्जा सङ्कट बढिरहेको अवस्थामा ओखलढुङ्गामा ऊर्जा सङ्कट कम गर्न ऊर्जा प्रदर्शनीको आयोजना गरिएको छ।

नवीकरणीय ऊर्जाको प्रवर्द्धन र प्रचारप्रसार गरेर ऊर्जा सङ्कट कम गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो। जिल्ला विकास समिति, जिल्ला ऊर्जा तथा वातावरण शाखा र स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) को आयोजनामा तीन दिने जिल्ला स्तरीय ऊर्जा प्रदर्शनी आयोजना गरिएको रिमरेकका फिल्ड संयोजक राजेन्द्र धमलाले जानकारी दिए।

प्रदर्शनीमा साना लघु जलविद्युत्, बायोग्यास, वायु ऊर्जा, सुधारिएको चुल्हो, सोलार सौर्य ऊर्जालगायतका प्रविधिको प्रदर्शनी गरिएको थियो। यस्ता प्रविधिको प्रदर्शनीले ऊर्जा प्रविधिको प्रचार प्रसार हुने र व्यवसाय बढ्नुका साथै ऊर्जा सङ्कट कम हुने व्यवसायीहरुले बताए।

विभिन्न प्रविधिसँग सम्बन्धित सात जना व्यवसायीले प्रदर्शनीमा भाग लिएका थिए। ऊर्जा प्रदर्शनीले व्यवसायमा सकारात्मक प्रभाव पार्ने सूर्योदय ऊर्जाका आधिकारीक बिक्रेता नीरबहादुर राईले बताए। जिल्लामा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीले उत्साह थपिएको अर्का सौर्य ऊर्जा कम्पनीका जिल्लास्थित बिक्रेता शैलेन्द्र धमलाको भनाइ छ।

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि प्रदर्शनी अवलोकन गरेका थिए। प्रदर्शनीमा पाँचसयभन्दा बढीले नवीकरणीय ऊर्जा प्रविधिको अवलोकन गरेको जिल्ला ऊर्जा तथा वातावरण शाखाका विनोद भण्डारीले जानकारी दिए। -रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com