हजुरआमाको बाइबल छोएर ओबामाले लिए शपथ

वासिङटन, माघ ८,

बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदको दोस्रो कार्यकाल आजदेखि औपचारिक रुपमा सुरु गरेका छन्। अमेरिकी समय अनुसार आइतबार मध्याह्न उनले पद तथा गोपनीयताको शपथ सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टससामु लिए।

बायाँ हातले पत्‍नी मिसेल ओबामाकी हजुरआमाको बाइबल छोएर ओबामाले ह्वाइट हाउसको ब्लुरुममा शपथ लिएका हुन्। शपथ समारोहमा उनकी पत्‍नी र दुई छोरी पनि उपस्थित थिइन्। संविधान अनुसार राष्ट्रपतिको नयाँ पदावधि जनवरी २० देखि सुरु हुन्छ। 

तर यो मिति आइतबारको दिन परेकोले ओबामा र उपराष्ट्रपतिले निजी समारोहका रुपमा शपथ लिएका हुन्।दुवैले सोमबार फेरि शपथ लिनेछन्। यो शपथ समारोह चाहिँ पारम्परिक हुनेछ। त्यसमा सम्बोधन र ह्वाइट हाउससम्मको परेड र इभिनिङ बल सबै हुनेछन्। 

ओबामा चार पटक शपथ लिने दोस्रो अमेरिकी राष्ट्रपति बन्दैछन्। सन् २००९ मा शपथ लिँदा शब्दहरु यताउता परेकोले फेरि निजी रुपमा अर्को पटक शपथ लिनुपरेको थियो। चार पटक शपथ लिने अर्का राष्ट्रपति फ्रान्कलिन रुजवेल्ट हुन्। 


तर उनले चार पटक शपथ लिन चार कार्यकाल पूरा गरेका थिए। पछि मात्रै अमेरिकी राष्ट्रपतिको पदावधि दुई कार्यकालमा सीमित गरिएको थियो। एजेन्सी,


तस्बिरः एपी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com