१० रुपियाँँ सापट छिमेकीले पत्याउँदैनथे-जसमाया

कुश्मा  माघ ११,

प्रकाश बराल : १३ वर्षअघिसम्म पर्वतको शालिजा-६ की जसमाया पुन, ३५, बिरामी पर्दा औषधी किन्ने पैसा जोहो गर्न नसकेर जडीबुटीकै भर पर्थिन्। सिकिस्त बिरामी भएर १० रुपियाँँ सापट माग्दा छिमेकीले पत्याउँदैन थिए। उनलाई 'आफ्नो कमाइ छैन, लोग्नेको पत्तो छैन, के गरी तिर्छे' भनेर खिसी गरिन्थ्यो। 

ज्याला मजदुरीको काम खोज्दै भारत गएका उनका पति टीकाबहादुरको अत्तोपत्तो थिएन। उनलाई मेलापात नगएको दिन हातमुख जोर्नै धौधौ पथ्र्यो। ०५६ सालमा लघु उद्यम विकास तालिम शालिजा पुग्यो। जसमायाले जंगलमा खेर गइरहेको सिस्नोबाट धागो बनाउन सकिन्छ भन्ने थाहा पाइन्। १५ दिने तालिम पाएपछि उनले जंगलमा पाइने अल्लो -चाल्ने सिस्नो) संकलन गरेर धागो उत्पादन गर्न थालिन्। शालिजाको हम्पाल सामुदायिक वनमा अल्लो संकलन गर्ने, प्रशोधन गर्ने र धागो बनाउने काम उनको दैनिकी बन्दै गयो। 

'सेवा नेपाल' नामक गैरसरकारी संस्थाले उत्पादित धागोलाई बजारसम्म पठाउन थाल्यो। जिल्ला तहमा लघु उद्यमी संघ पनि गठन भयो। कमाइ बढेसँगै जसमायाको आत्मविश्वास बढ्यो। आफूले जस्तो दुःख अरूले नपाउन् भन्ने हेतुले उनले जानेको सीप छिमेकका १५ महिलालाई पनि बाँडिन्। हातैले बुन्ने चर्खालाई स्तरोन्नति गर्ने उनको सोचमा लघु उद्यम विकास कार्यक्रम, जीविकोपार्जनका लागि वन कार्यक्रम तथा सभासद् अर्जुनप्रसाद जोशीले सघाए। 

"आफ्नै क्षमताले केही गर्न सक्ने थिइनँ, सहयोगी हातहरू पाएँ," उनी भन्छिन्, "सहयोगी थपिएकै कारण अहिले गाउँमै ६ वटा मेसिन पुगेका छन्।" अहिले अल्लो तालिममा जसमाया मुलुकमै उत्कृष्ट प्रशिक्षकक कहलिएकी छन्। तालिम पाएका महिला वा पुरुष उद्यमी बनेका छन्। "पश्चिमका दैलेख, जाजरकोटदेखि पूर्वका संखुवासभा, ताप्लेजुङसम्म पुगेर धेरैलाई तालिम दिएकी छु," उनी भन्छिन्, "मेरो जस्तो दुःख र पीडा कसैले नभोगून् भनेर घरै छाडेर महिनौँ तालिम दिएकी हुँ।" 

शालिजामा रहेको हम्पाल अल्लो उद्यमी समूहकी अध्यक्षसमेत रहेकी जसमायाको अगुवाइमा प्रत्यक्ष २५ र अप्रत्यक्ष रूपमा थप १५ महिलाले रोजगारी पाएका छन्। गाउँमा उत्पादित धागो र कपडा सदरमुकाम कुश्मामा बिक्रीकक्ष स्थापना गरेर राखिएको छ। ती कपडा पर्यटकीय सहर तथा विदेशमा पनि सजिलै बिक्री भइरहेका छन्। 

प्रतिमिटर चार सयदेखि पाँच सय रुपियाँँसम्ममा कपडा बिक्री हुने भएपछि स्थानीय महिलाको जीवन स्तरमा सुधार आएको छ। ग्रामीण क्षेत्रमा बसेर सफल उद्यमी बन्दै दर्जनौँ महिलालाई रोजगारी दिएको भन्दै जसमायाले ३ पुसमा आशा सामाजिक उद्यमशीलता अवार्ड २०१२ प्राप्त गरेकी छन्।नेपाल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com