सासेक सूचना राजमार्ग आयोजना निर्माण सम्झौता हस्ताक्षर

काठमाडौँ, माघ ११,

सूचना तथा सञ्चार मन्त्रालय र दक्षिण कोरियाको आइसिआरएएफटी कम्पनी लिमिटेडबीच सासेक सूचना राजमार्ग आयोजना निर्माण गर्ने विषयमा हिजो एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

एसियाली विकास बैंकको अनुदान सहयोग तथा नेपाल सरकारको लगानीमा निर्माण हुने सो आयोजना
अन्तर्गत काठमाडौँ, धुलिखेल, नेपालथोक, खुर्कोट, सिन्धुली, ढल्केवर हुँदै विराटनगर र वीरगन्जबाट भारतको सञ्जालमा आबद्ध गर्ने गरी उच्चगतिको इन्टरनेट सेवा प्रवाह हुने अप्टिकल फाइवर बिच्छ्याइने छ।

सो रुटमा तीसवटा सुविधा सम्पन्न सामाजिक इ-सेन्टर सञ्चालन गरिने कार्यक्रम रहेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। नेपाल, भारत, बङ्गलादेश र भुटानमा समानान्तर रुपमा सञ्चालन हुन लागेको सो आयोजनाको निर्माणसम्बन्धी सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट सहसचिव तथा आयोजनाका आयोजना निर्देशक सुशीलकुमार ओझा तथा ठेकेदार कम्पनीका तर्फबाट वरिष्ठ प्रवन्धक सुङ यु किमले हस्ताक्षर गरेका थिए ।

सो आयोजनाको कार्यान्वयन गर्ने संस्थाको रुपमा सञ्चार मन्त्रालय, सेवा संस्थाको रुपमा नेपाल टेलिकम तथा अनुसन्धान तथा तालिम केन्द्रको रुपमा काठमाडौँ विश्वविद्यालय रहेको जनाइएको छ। आयोजनाको निर्माण दश महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com