जुम्ला, माघ १७,
चार वर्षअघि बोतामालिका-८ जुम्लाका गोविन्द रावतसँग बाध्यकारी विवाह गर्न पुगेकी दीपा रावतको जीवन घरेलु हिंसाका कारण अहिले कहालीलाग्दो मोडमा पुगेको छ। डाँडाखाली-५ सुर्खेत जन्मघर भएकी दीपाको घरमा बाबुको मृत्यु र आमाको मानसिक अवस्था बिग्रिएपछि पारिवारिक वातावरणमा ग्रहण लागेको थियो।
आफ्नै घरमा दाजु भाउजू भए पनि बस्ने वातावरण सहज नभएपछि आफू सुर्खेत इत्राममा फुपू भीमकला थापासँग बस्दै आएको उनी बताउँछिन्। यही क्रममा सुर्खेतमा होटेल व्यवसाय गर्दै आएकी जुम्ला शनिगाउँ निवासी रुपक्यौडा थापासँग भेट हुँदा उनले आफूलाई जुम्लाका एक धनी र असल केटासँग विवाह गराईदिन्छु भनेपछि आफू आश्वस्त भएको उनको भनाइ छ।
पछि होटेल व्यावसायी थापाले जुम्लाबाट केटा मगाइ सो केटासँग कुनै परिचय नै नगराइ सुर्खेतबाट हवाइजहाजद्वारा सोझै जुम्ला भगाइ कोही कसैलाई नभन्नु भनी सल्लाह दिएको उनी बताउँछिन्। जुम्ला पुगेको धेरै समयपछि मात्र आफ्नो पति भनिएको व्यक्ति आंशिक दृष्टिविहीन रहेको थाहा पाएको बताउने दीपाको डेढ वर्ष पतिसँग टकरावमै बित्यो
जब दीपाको गर्भमा बच्चा रहेको पति गोविन्द रावतलाई थाहा भयो, त्यसपछि दीपाका दुःखका दिनहरु सुरु भए।
केही समयपछि दीपाबाट एक छोरी जन्मिइन, तर रावतले 'यो छोरी मेरो होइन, जसको हो त्यसै कहाँ लग, म तँलाइ श्रीमती बनाएर राख्न सक्दिन' भन्दै गाली र कुटपिट गर्दा पनि दुई वर्षसम्म सहेर बसेको उनी बताउँछिन्।
घरमा सासु र समाजका अन्य भद्रभलाद्मीले आफूलाई धेरै सहयोग गर्दा पनि पतिबाटै पीडा सहन नसकेर दुई वर्षकी छोरी छोडी करिब एक महिना अगाडि घर छोडेर इलाका प्रहरी चौकी हाडसिंजाको सम्पर्कमा आएको दीपाले बनाइन्।
त्यसपछि हाडसिंजा प्रहरी चौकीमा पीडक पक्षका मान्छेहरु कसैले पनि पीडित दीपाको जिम्मा नलिएपछि प्रहरीले पुस २१ गते विराट-९ सिजामा रहेको सामुदायिक सेवा केन्द्रकी अध्यक्ष संजु उपाध्यायको जिम्मामा दीपालाई सुम्पेको थियो।
उनको जीवनको रक्षा र भविष्यको सुनिश्चिताका लागि अध्यक्ष उपाध्यायले पीडित दीपालाई सदरमुकाम ल्याएपछि महिला तथा बालबालिका कार्यालयले कुनै वास्ता नगर्दा झन् पीडा थपिएको अध्यक्ष उपाध्यायले बताए। प्रहरीको महिला तथा बालबालिका निकायले पनि दीपालाई जिल्ला सेवा केन्द्र जान सिफारिस गर्योक। स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले पनि कुनै ठोस निर्णय दिन नसकेपछि जिल्ला सेवाकेन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले आश्रयको सुनिश्चिता गर्न जिल्ला प्रशासन कार्यालय जुम्लामा लगे।
त्यहाँ प्रजिअ हरि प्याकुरेलले अल्पकालीन आश्रयका लागि सेवा केन्द्रकी अध्यक्ष श्रेष्ठलाई राख्न सल्लाह दिँदै पीडित दीपालाई न्याय दिलाउन यथाशीध्र कारबाही अगाडि बढाउन सरोकारवालाहरुसँग तत्काल छलफल गरिने बताउनुभएको छ। पीडित दीपालाई केही समयका लागि घरेलुहिंसा तथा यौनजन्य दुर्व्यावहारबाट प्रभावित महिलाका लागि आश्रयसहितको जिल्ला सेवा केन्द्रमा राखिएको छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै