किन होला मष्तिष्क नै थाकेको छ आजभोलि
सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि ,
अनगिन्ति सम्झनालाई दवाउँदै सुत्दा पनि
कसले कसले सपनीमा डाकेको छ आजभोलि,
बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै
समयले खाडलमा जाकेको छ आजभोलि,
तुवालो र कुहिरो झैँ फैलिएर आकांक्षालाई
कालो कालो बादलुले ढाकेको छ आजभोलि,
डर र त्रासले सताउँदै रात दिन सधैँ भरि
नियतिले तीखो वाण ताकेको छ आजभोलि,
जिन्दगीको अवसान अशान्तिले नहोस भन्दै
हृदयले देवी देवता भाकेको छ आजभोलि,
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका