कविता-"मलाई विश्वास छ : By, Rajesh Rumba Lama



अलिकति आक्रोश
अलिकति उत्तेजना
अनि, अलिकति पीडाको बिस्कुन
मनभरि बोकेर
रेगिस्थान छिरेको नि बर्षौं भएछ
समयको सम्भोगसंगै
स्खलित मेरो मन
आज निक्कै गलेको छ
सायद हलचल गर्नै नसक्ने गरि
साँच्चै बिस्कुन त
मरुभूमिको तातो घामले
भसक्कै डढेछ नि !
कस्तरी अंगार बनेछ नि !
हैन भने,
खै त त्यो आक्रोश?
बेरोजगारीसंगको
खै त त्यो उत्तेजना?
उमेरसंगको
खै त त्यो पीडा?
आफन्तसंग छुट्टीदाको
उफ्फ्फ़ !!!!
सब नष्ट भएछन
यो मरुस्थलामा
पचास डिग्रीको तातो घामसंगै
ध्वस्त भएछन सब का सब
अरे!
मैले त एउटा सपना बोकेकोथें
ल्याएर यतै रोपेकोथें
हो,रोपेकोथें
खजुरमा
अलखोरमा
वालुवामा
टपफर्म रेस्टुराँमा
तर,
खै त त्यसले पालुवा हालेको?
पालुवा हँ?
यो मरुभूमिमा?
दिवास्वप्न .....
नत्र, खै त म देख्दिन त !
त्यस्को अवशेष पनि
सायद समाधि लिएछ
चौध घण्टाको लगातार जागिरमुनि
एकमुठ्ठी रियाल मुनि
फगत भ्रमित दुनियाँ पो रहेछ
एकमुठ्ठी रियाल मुनि
यहिंनेर एउटा परिकल्पनाको अन्त्य भएकोछ
अन्त्यसंगै शुरुवात पनि भएकोछ
एउटा आयामिक जीन्दगीको
लम्बेतान बडेमानको
नोस्टालिजिया चढेर वेगसित
अवतरित हुदैंछु म
त्यो क्षितिजपारीको
हिमालहरुको देशमा
जहाँ हिमनदीहरु
आफ्नो वैंश छचल्काउँदै
सुकुमारी घामसंग आफ्नो यौवन साट्छन्
र गर्वभती हुन्छे तराई
हो,
त्यहि म आफ्ना सपनाहरुलाई रोप्नेछु
पौरखी हातहरुले गोड्नेछु
सिंचित गर्नेछु पसिनाको भेलले
मलाई विश्वास छ पक्कै पनि
फुल्नेछन मेरा सपनाहरु
सुगन्धित सपनाहरु
जस्को बास्नाले लठ्ठ पार्नेछ
मेरा रेगिस्थानी दाजुभाईलाई
र त्यहि सुगन्धमा सम्मोहित भएर
फिर्नेछन स्वदेश
मुस्कुराएका सपनाहरु हेर्न
सुगन्धित सपनालाई भेट्न
मलाई विश्वास छ
पक्कै पनि फिर्नेछन्
पक्कै पनि फिर्ने छन
-राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com