१,
संकुचित विचार त्यागी खुल्ला आकाश हेर्ने गर
उदण्डता आफ्नो सबै बोधित्वले घेर्ने गर
कुनै बेला जित्न खोज्ला अविवेकी मन्ले
नफुस्किने गरि त्यो नियमले बेर्ने गर
सेवा नै धर्म हो भन्ने आस्था जगाई मन्मा
नमेटिने स्वर्ण अक्षर पन्नामा केर्ने गर
घमण्डले चुर्ण हुदाँ मपाँईत्व हावी होला
घमण्डको घाँटी तिमी विचारले सेर्ने गर
२,
आजभोली तिमी त्यसै रिसाउँछौ
तर पनि थोरै माया मिसाउँछौ
दु:ख बिसाउने चौतारी पो ठान्यौ
भएभरको पीडा ल्याई बिसाउँछौ
जब छुन्थ्यौ बल्थ्यो आगोसरी जिउ
तातात्तो सम्बन्ध आफै चिसाउँछौ
बैरी लाग्यो,घुन लाग्यो हाम्रो मायामा
घुनसंगै यो मन पनि पिसाउँछौ
राजेश रुम्बा लामा'अतृप्त'