भिक्टोरिया क्रस पाएका गजे घलेहरुले लडेको लडाइूसूंग नेपाल राष्टूको सार्वभौमसत्ता र नेपाली जनताको स्वार्थको कुनै पनि सम्बन्ध थिएन, कति नमीठो कुरा ?
शारदा शर्मा ; बुबाले हामीलाई केटाकेटीमा गजे घलेको कथा सुनाउनुहुन्थ्यो । गजे घलेले लडाइँमा लासहरूको थुप्रोबीच कसरी आफू मरेको अभिनय गरे र पछि जुरुक्क उठेर शत्रुहरूलाई मेसिनगनले भटटट सखाप पारेर भिक्टोरिया क्रस प्राप्त गरे भन्ने कथा सुनिरहँदा सास रोकेर हामी उनले गरेको एक्सनको कल्पना गथ्यौ । यस्तो लाग्थ्यो, खुकुरी भिरेका गजे घले हामी आफैं हौं ।
शरीरमा काँडा उम्रन्थे, रगतमा उन्माद दौडन्थ्यो । हामीले हाम्रा शत्रु को थिए भनेर पनि सोधेनौं, बुबालाई । गजे घले कसका लागि लडे भनेर पनि सोधेनौं । हामी पोखरामा थियौं, त्यतिखेर । गाउँघर, बजारतिरबाट लाहुर गइरहन्थे, युवकहरू । भर्ती खुलेको छ भन्थे, जीवनको सामान्य अंगजस्तै लाग्थ्यो त्यो । मानौं राम्रो पैसा आउने विदेशी जागिर खान गएका थिए । इज्जतको कुरो थियो । लाहुरे भनेपछि केटीहरू पनि हुरुक्क हुन्थे रे ।लाहुरेसम्बन्धी गजबका रुमानी गाना बज्थे रेडियोमा । तिनका रसिला कथा सुनिन्थे । लाहुरेका हिन्दी मिसिएको नेपाली बोलीको नक्कल गर्थे मान्छे । तर भर्ती कसले लिन्छ र किन लिन्छ भन्ने थाहा थिएन, हामीलाई । पोखराको 'पिन्सिन क्याम्प' को नामचाहिं कण्ठै थियो, त्यो केका लागि थियो भन्ने थाहा थिएन ।
जातले पेसा निर्धारण गर्ने चलन पनि थियो क्यारे त्यतिखेर । पोखरामा पोहोर दसैंतिर गएका बेला बहिनी चन्द्रा गुरुङको रिटायर्ड बि्रटिस पेन्सनर बाबा तुलबहादुर गुरुङले भन्नुभएको थियो- गुरुङको छोरो नानी, सानैमा भर्ती जाने चलन थियो, स्कुल त जानै पाएन पो म त ।लागेको हो, नपढेका रिकुटे ठिटाहरूलाई तह लगाउन, ठग्न, शोषण गर्न बि्रटिस सरकारलाई सजिलै पनि भयो होला त्यतिखेर ।
अस्ट्रेलियाको राजधानी क्यानबरामा एउटा म्युजियम रहेछ, वार म्युजियम । प्रथम र द्वितीय विश्वयुद्ध लगायतका अरू आफ्ना लडाइँमा अस्ट्रेलिया कसरी प्रभावित भयो, कुन देशमा कुन मोर्चामा कति अस्ट्रेलिया यी सिपाही मरे, कति अरू मरे, कस्ता-कस्ता आक्रमण भए र अस्ट्रेलियायी सिपाहीहरूले त्यसको प्रतिकार कसरी गरे, कस्ता चूडान्त आपत बेहोरे वा सन्तोषका कस्ता क्षण अनुभव गरे भन्ने कुराहरूका सानामसिना अभिलेख बडो व्यवस्थित रहेछ यहाँ । बेलायतको उपनिवेश रहेको अस्ट्रेलियाले आफ्ना पक्षबाट हेरेको-बेहोरेको युद्धको उन्माद र पीडा सकेसम्म जीवित राख्ने प्रयत्न गरिएको रहेछ । यसपल्टको दसैंतिर त्यहाँ जाने अनुकूल मिलेको थियो ।
पहिलो र दोस्रो विश्वयुद्ध गोर्खा सैनिकले पनि अस्ट्रेलियाजस्तै गरी बि्रटेनकै लागि लडेको हो । यद्यपि नेपाल बि्रटेनको उपनिवेश थिएन । अस्ट्रेलियायी सैनिक लडेकै कतिपय मोर्चामा गोर्खाली सैनिक पनि लडेका थिए । म्युजियमको एक ठाउँमा सानो खुकुरी देख्ता त्यो युद्ध आफ्नोजस्तो पनि लागेको हो मलाई एकपल्ट । अस्ट्रेलियन वार मेमोरियलको वेबसाइटमा गोर्खा सैनिकका बारेमा दिइएका सूचना हेर्दै गर्दा गजे घलेको तस्बिर पहिलोपल्ट देखें र छक्क परें । जुनसुकै हैसियतमा लडेका भए पनि गोर्खा सैनिकको चर्चा नगरीकन त विश्वयुद्धको चर्चा कहाँ पूरा हुन्छ र ?
अरूले भनिदिएको र हामीले पनि सधैं वीरता र शौर्य ठानेरै आएको यो गोर्खाली युद्धगाथालाई सम्भवतः पहिलोपल्ट नेपाली साहित्यमा भूपी शेरचनले दुःखान्त नै हो भनेर घोषणा गरेथे । यी युद्धका पीडा लेखे उनले, विश्वयुद्धमा सामेल भएका नेपालीका घाउलाई मार्मिक कविता बनाएर पोखे । रोजगारीको बोझ बिसाउने उद्देश्यले नितान्त अर्काका लागि सिपाहीका रूपमा प्रयोग भएका नेपालीको बलिदान गौरवको नभएर क्षुब्धताको विषय भएको अथ्र्याए । आफ्नो र आफ्नाको रगतको मूल्यमा संसारले दिएको तथाकथित गोर्खाली वीरताको उपमाको धज्जी उडाए भूपीले-हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ...
हामी केवल पाइताला हौं ।
जर्मनको धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रबडका वनमा होस्
या नेफा र लद्दाखका पराई लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
यर्थ ।
यी पंक्तिहरूको वास्तविक अर्थ मलाई वार म्युजियम घुमेपछि अझ प्रस्ट भएजस्तो लाग्यो ।
त्यतिखेर पारिजातको शिरीषको फूलका शिव र सुयोगवीर मेरा मनमा सल्बलाएका थिए । विश्वयुद्धले नेपालीको जीवनमाथि पारेको विद्रुप प्रभावको वर्णन गरेकी छन् पारिजातले यी पात्रका माध्यमले । डेथ भ्यालीमा जीवन र मृत्युबीच लत्रिरहेको सिपाही शिवकुमारको यो कथनको उत्तर मैले त्यो म्युजियमभरि खोजें-यो लडाइँ जित्नु र हार्नुसँग हाम्रो के स्वार्थ ?
नेपालका सुयोगवीर र शिवको यो प्रश्न वार म्युजियमले सम्झाएका सबै लडाकुका साझा प्रश्नजस्ता लागे मलाई । नेपालको थप दुःखान्त के रह्यो भने विश्वयुद्ध यस्ता लडाइँ रहे, जसमा नेपाली त सामेल भएका थिए, नेपाल सामेल भएको थिएन । युद्ध सकिएको वर्षौं बितिसक्दा पनि नेपाली जीवनका हरेक पक्षलाई यी युद्धहरूले अहिलेसम्म गहिरो ढंगले प्रभावित पारी नै रहेका छन् ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले अणु बम खसालेपछि जापानले गरेको आत्मसमर्पणपछि सकिएका ती युद्धमा कसको जित भयो, कसको हार, पूरै म्युजियम घुमिसकेर पनि मैले थाहा पाउन सकिनँ ।
ललल
झलक सुवेदीले लेखेको 'बि्रटिस साम्राज्यका नेपाली मोहरा' भन्ने पुस्तक पढिसिध्याएपछि भने बहादुरी भनेर महिमामण्डित यी गाथाहरू अझ गम्भीर प्रश्नमा परेका छन्, मनमा टाँगिएको एउटा पुरानो बिम्ब धमाधम भत्कँदै छ, मभित्र । भिक्टोरिया क्रस पाएका गजे घलेहरूले लडेको लडाइँसँग नेपाल राष्ट्रको सार्वभौमसत्ता र नेपाली जनताको स्वार्थको कुनै पनि सम्बन्ध थिएन, कति नमीठो कुरा ?
गोर्खाली सेनाले भयंकर तरिकाले विश्वयुद्धहरू लड्यो । पहिलो विश्वयुद्धमा दुई लाख र द्वितीय विश्वयुद्धमा करिब साढे दुई लाख नेपाली युवक युद्धमा संलग्न भए । तीमध्ये साठी हजार त युद्धमै मरे । करिब सन्ताउन्न लाख जनसंख्या भएको त्यतिखेरको नेपालमा यति धेरै मान्छे युद्धमा जानु र मर्नु आफैं एउटा चरम असन्तुलनको अवस्था हुँदो हो पक्कै । कति घाइते वा अंगभंग भए, कति विसंगत मनस्थितिमा बाँचे, कति बेपत्ता भए, त्यसको हिसाब छैन । १९४५ मा दोस्रो विश्वयुद्ध सकियो । अस्थायी सैन्य कम्पनीहरू बन्द गरिँदा रिडेन्डेन्सीमा परेर लाखौं नेपालीलाई घर आउने खर्च मात्र दिएर बि्रटिस सरकारद्वारा रित्तै हात बिदा गरियो । तीमध्ये सयौं घाइते पनि थिए, बमका छर्रा शरीरभित्र भएका, अंगभंग भएका । तिनका लागि त झन् शून्य नै भयो होला संसार । न शरीर थियो तिनको सग्लो, न भविष्य ।
लाहुरेले घरमा छोडेर गएका श्रीमती र परिवारजनका बेग्लाबेग्लै प्रकृतिका दुःखको तस्बिर छ पुस्तकमा । परिवारका मूलीको लामो समयसम्मको अभावले लाहुरे परिवारमा पैदा गरेको भयावह रिक्तता छ । तिनले बेहोरेको मनोवैज्ञानिक र भौतिक असुरक्षाबाट सिर्जित अनेक नमीठा अप्ठ्यारा स्थितिको उल्लेख छ ।
यो सब किन ? कसका लागि ? कुन प्रतिफलका लागि ? भनेर गुन्दा पुस्तकमा हात लाग्यो शून्यको स्थिति देखाएका छन् लेखकले ।
करिब १९६ वर्ष पहिला, अर्थात सन् १८१४-१६ मा नेपाल र इस्टइन्डिया कम्पनीबीच भएको लडाइँमा हारेका नेपालका शासकले १८१६ को सुगौली सन्धिपछि नेपाली युवालाई बि्रटिस साम्राज्यको सेनामा प्रयोग गर्न दिने सम्झौता गरेका रहेछन् । यसअघि नेपालसँग भएका लडाइँमा नेपाली सेनाको युद्ध कौशलबाट प्रभावित बि्रटिस सेनाले उनीहरूलाई आफ्नो सेनामा भर्ती गर्न चाहिरहेकै थियो । भर्तीलाई त्यतिखेरका शासक जंगबहादुरले निरुत्साहित गरे पनि उनीपछि नेपाली राजनीतिमा शासकहरूको आपसी कलह र हानाथाप हुँदै गइरहेको मौका हेरिरहेको बि्रटिसले सन् १८७८ मा रणोद्दीपको शासनकालमा एक हजार रिक्रुटको माग गरेछ । आफ्नो शासनलाई टेवा पुग्ने देखेर रणोद्दीपले उनीहरूले मागेअनुसार सिपाही दिन सम्झौता गरेछन् ।
रणोद्दीपलाई मारेर सत्ता लिएका वीर शमशेरले बि्रटिसलाई खुसी पार्न भर्तीको अवरोध थप खुकुलो बनाइदिए । उनकै समयमा भर्ती हुने प्रतिजवान बीस रुपैयाँ र कुल ८ हजार राइफल बर्सेनि प्राप्त हुने सर्तमा नेपालीहरू बि्रटिस सेनामा पठाइएछन् ।
चन्द्र शमशेरले अझ अघि बढेर प्रथम विश्वयुद्धमा बेलायतलाई आफैं सहयोगको प्रस्ताव गरेछन् । १६ हजार नेपाली सेनाको नेतृत्व गर्दै आफ्ना भाइहरूलाई पठाएर भारतीय क्याम्पहरूको सुरक्षा गरेर बि्रटिस साम्राज्य टिकाउन सहयोग गरेछन् उनले । अंग्रेजहरूको मागबमोजिम उनले भर्ती थप्ने व्यवस्था मात्र नगरेर नगद हतियार र सरसामान पनि सहयोग गरे । बिदामा बसेका गोर्खा सैनिकलाई समेत गाउँगाउँमा दूतहरू पठाएर लडाइँमा जान लगाए ।
उनैको यो विशेष उत्साहका कारण पहिलो विश्वयुद्धमा बि्रटिस सेनामा नेपालीको संख्या दुई लाख पुग्यो जुन त्यतिखेरको जनसंख्याको झन्डै बीस प्रतिशत बालिगहरूको संख्या थियो । तीमध्ये बीस हजार त युद्धमा मरेछन् । घाइते र अपांगता भएकाको हिसाब कतै देखिन्न । यो उपकार निम्ति बि्रटिस सरकारले चन्द्रशमशेरलाई मानपदवीलगायत प्रत्येक वर्ष नेपाललाई १० लाख रुपैयाँ सलामी दिन थालेछ । पछि त्यो रकम पन्ध्र लाख हुँदै बीस लाख पुग्यो रे, तर त्यसको हिसाब शासकहरूकै तजबिजमा, अपारदर्शी नै रहेछ । हुन त त्यही गुनले खुसी भएर बेलायतले नेपाललाई सन् १९२३ मा सन्धि गरेर बि्रटिस अधीनस्थ भारतीय रजवाडाभन्दा अलग स्वतन्त्र राष्ट्रको मान्यता पनि दिएको थियो ।
दोस्रो विश्वयुद्धताका नेपालमा जुद्धशमशेरको समय थियो । गोर्खा रेजिमेन्टहरूमा भर्ती हुने प्रथाको व्यापक विस्तार यतिखेरै भयो । गुरुङ, मगरको अधिकता भइरहेका ठाउँमा राई, लिम्बुहरूलाई पनि भर्ती गर्न थालियो । बटौलीको बाटो हुँदै लाहुर जान निस्कन्थे रे युवाहरू त्यतिखेर, यतैबाट र्फकन्थे पनि रे । घर र्फकंदा यहीं बास बसेका अवस्थामा भरौटीवाल्नीहरूलाई कमाएको सिरिखुरी सुम्पेर बिल्लीबाठ भएका लाहुरेका कथा पनि थुप्रै छन् पुस्तकमा ।
आफ्नो शासनलाई डग्न नदिन बि्रटिसलाई खुसी पार्ने उद्देश्यले त्यतिखेरका राणा शासकहरूले आफ्नो स्वार्थअनुकूलका भर्ती नीति त बनाएछन्, मुलुकका अनेक ठाउँमा भर्ती केन्द्र पनि खोलेछन् । बि्रटिसका गल्लावालहरूलाई नेपालका गाउँगाउँ पसेर युवकहरूलाई बाटैमा समातेर भर्ती गराउने छुट पनि दिएछन् । तर यसरी सन्धि गरेर लडाइँमा पठाइएका नेपालीहरू कुन हालतमा छन्, त्यसको भने कुनै खोजी गरेनछन् । कर्तव्यपरायण र इमानदार ठानिने गोर्खा रिकुटेहरूको स्थिति बि्रटिसका किनिएका दासजस्तो देखिन्छ ।
अत्यधिक जोखिममा काम लगाएर तिनको श्रमको अधिकतम प्रयोग गरे पनि पारिश्रमिक भने बि्रटिस सेनाका तुलनामा नगण्य दिने रहेछ बेलायतले । कयौंलाई त काम सकिएपछि अलपत्र पारेर फर्काइदिएको रहेछ । । मलायाका डरलाग्दा जंगलमा अजिंगरले बेरेका प्रसंग, निरपराध नागरिकमाथि गोली चलाउने आदेश पालना गर्नुपर्दा सैनिक मनभित्र पैदा भएका अपराधबोधका प्रसंगले मन हल्लाउँछन् ।
कुनै पेसा अँगाल्नु वा कुनै देशको सेनामा भर्ती हुनु वा नहुनु मान्छेको आफ्नो अधिकार र छनोटको कुरा हो । तर आफूले चुनेको काम पूर्ण सूचित भएर गरिएको छ कि छैन वा त्यहाँ उसको शोषण भएको छ कि भन्ने कुराचाहिं अरूको पनि चासोको विषय हुन्छ । सन्धि गरेर पठाएका आफ्ना सैनिकप्रति राष्ट्रको रूपचारिक जिम्मेवारी सबैभन्दा बढी हुनुपर्ने हो । गोर्खा भर्तीसँग सम्बन्धित विषयमा विभिन्न समयमा बि्रटिस पक्षले गोर्खा सैनिकमाथि देखाएको चरम अमानवीयता र त्यतिखेरको नेपाल सरकारले गरेको घनघोर उपेक्षा र गैरजिम्मेवारी यो पुस्तकमा पढ्न पाइन्छ ।
पीडित पक्षलाई आफ्नै राज्यले गर्न नसकेको सहयोग एउटा भूपू गोर्खा सैनिकको व्यक्तिगत इच्छाशक्ति र नेतृत्वमा भएको पढ्दा भने मन हलुंगो हुन्छ । पन्ध्र वर्षको अल्लारे उमेरमा बि्रटिस सेनामा भर्ती भएका भुक्तभोगी पदमबहादुर गुरुङले नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि गेसो भन्ने संस्था स्थापना गरेछन् र त्यसैका माध्यमले बि्रटिस नीतिका कारण अन्यायमा परेका सिपाहीहरूका पक्षमा बीस वर्ष निरन्तर लडेछन् । त्यसैको फलस्वरूप बि्रटिस सरकार आफ्ना नीतिनियम परिवर्तन गर्न बाध्य बनेको प्रसंग यो पुस्तकको सबैभन्दा ठूलो प्रेरणा हो ।
गेसोका अध्यक्ष यिनै पदमबहादुरको अग्रसरतामा हालसालै केही समयअगाडि स्याङ्जा फेदीखोलाको साल्मेडाँडामा गोर्खा स्मारक संग्रहालयको शिलान्यास भएको छ । दुवै विश्वयुद्धमा मरेका साठी हजार नेपालीमध्ये गुरुङ, मगर, राई र लिम्बुको संख्या बढी भए पनि एघार जाति-समुदायका युवकहरूले जीवन अर्पेका रहेछन् । यस स्मारक मार्फत सम्भवतः अब नेपालीले आफ्ना युद्धका कथाव्यथा आफैं भन्नेछन् । आफ्ना यी कर्मद्वारा पदमबहादुर गुरुङ भने अब नेपालको गोर्खा सैन्य इतिहासमा बिर्सनै नमिल्ने नाम बनेका छन् । भर्तीका नियमहरूमा सुधार भएको पृष्ठभूमिमा यतिखेर पनि पोखराको भर्तीकेन्द्र मार्फत भर्तीको त्यो परम्परा बाँचेकै छ । बर्सेनि २३० नेपाली युवा यतिखेर पनि बि्रटिस सेनामा भर्ती हुन्छन् ।
हामी नेपालीले हाम्रा पुर्खाले विदेशीसँग वा विदेशीका लागि गरेका युद्धलाई सधैं वीरतासँग जोड्यौं । त्यो वीरतासँग हाम्रा सिपाहीहरूका व्यथा जोडिएको कुरा थाहै भएन हामीलाई । वीर कहलाउन तिनले चुकाएको चर्को मूल्यको हेक्कै रहेन । सायद युद्ध बेहोर्नेहरूले पनि मुलुक र्फकेर हामीलाई त्यसको मर्म र पीडा बताउन सकेनन् । हामी हेर्नेहरूले तिनले घरै बसीबसी पेन्सन थाप्न गएको मात्र देख्यौं ।
हुन त जतिसुकै वीरता देखाएर वा नदेखाएर मरे पनि वा मारिए पनि युद्ध युद्ध नै हो । त्यसले मान्छे र उसको सभ्यतालाई जरैदेखि डढाएर हल्लाएर जान्छ । मनमा दुइटा विश्वयुद्धका छाप डामेर कमाएको अलिकति पेन्सन र महारानीले दिएको तक्माले नै पनि वीर कहलिएका सिपाहीलाई कति सान्त्वना दिन सक्यो, भिक्टोरिया क्रस पाउनेहरूलाई नै थाहा होला । यद्यपि बेवारिसे भएर लडाइँ लड्नुको पीडा त्यसभन्दा पनि कयौं गुणा दुःखदायी हुन्छ भन्ने कुरा झलक सुवेदीको यस पुस्तकले छर्लङ्ग पारेको छ ।
हामी साना हुँदादेखि बारम्बार रेडियोमा सुन्दै आएको, झलकमान गन्धर्वको स्वरको यो युद्ध-गीतमा यस्तै वीरताको बेवारिसे युद्धमा मर्दै गरेको एउटा नेपाली युवकको भग्न मनस्थिति छामिरहेकी छु म यतिखेर-
बाबुले सोधे नि खै छोरा भनी रणमा पर्र्यो भन्दिए....
बैनीले सोधे नि खै दाजु भनी, चोली घट्यो भन्दिए..
(इकान्तिपुर )