महानगरभित्रै सुत्केरी महिलालाइ अस्पताल सुबिधा पुर्याउन नसकेको आम गुनासो

काठमाडौं, मंसिर २९,

प्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक महत्व बोकेको काठमाडौँ महानगरपालिकालाई समुन्नत र विशिष्ट सहर बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। आज 'काठमाडौं महानगरपालिकाको १८ औं स्थापना दिवस'को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगरलाई वास्तविक महानगर बनाउन सरकारले विशेष भूमिका खेलिरहेको र त्यो भूमिका अझै पूर्ण नरहेको बताए। 

महानगरलाई आधुनिक र समुन्नत सहर बनाउन सरकार, गैरसरकारी निकाय, स्थानीयबासी तथा सरोकारवाला सबै निकायको उत्तिकै योगदान हुनु आवश्यक रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भने, 'महानगरपालिकालाई महानगर जस्तो बनाउन सरकारको मात्रै लगानी भएर पुग्दैन, सबै सरोकारवाला निकायको उत्तिकै लगानी आवश्यक रहन्छ।' काठमाडौँ महानगरभित्र सरकारले १८० किलोमिटर सडक निर्माणको कामलाई तीव्रता दिएको र केही समयभित्रै त्यो सम्पन्न हुने विश्वास पनि उनले व्यक्त गरे। 

निर्माण जारी रहेको सडक सम्पन्न भइसकेपछि काठमाडौँले नयाँ रुप पाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री भट्टराईले जारी विकास निर्माणको कामलाई तत्काल सम्पन्न गर्न सरकारले निर्देशन दिइसकेको बताए। सुशासनलाई इमान्दारपूर्वक लागू गर्न महानगरपालिकामा कार्यरत सबै कर्मचारीको महत्वपूर्ण भूमिका रहनुपर्ने पनि उनको भनाइ थियो। राजनीतिक संक्रमणकालका कारण जनताले चाहेजस्तो सुविधा र सेवा पाउन नसकेको बताउँदै प्रधानमन्त्रीले देशमा जारी संक्रमणकाल चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे। 

वर्तमान राजनीतिक सङ्कट अन्त्यका लागि आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहेको उनले दहोर्‍याए। आगामी वैशाखमा संविधानसभाको नयाँ निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने-.'केही दिनमा दलहरुबीच सहमति बन्ने मलाई विश्वास छ, त्यो दिशामा दलहरु सक्रियतापूर्वक लाग्छन् र सफल हुन्छन् भन्ने मलाई लागेको छ। महानगरपालिकालाई सफासुग्घर बनाउन 'सफा काठमाडौँ हाम्रो काठमाडौँ' नाराका साथ मनाइएको महानगर दिवसमा आफ्नो मन्तव्य राख्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माणको कामले गति लिन नसकेको बताए। 

जनप्रतिनिधिहरुको अभावमा उनीहरुले निभाउनुपर्ने भूमिका समेत कर्मचारीहरुले निभाउनु पर्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी निर्देशक तथा प्रमुख केदारबहादुर अधिकारीले महानगरलाई महानगर जस्तो बनाउन सबैको सहयोग जरुरी रहेको उल्लेख गरे। बढ्दो जनसङ्ख्या र सहरीकरणका कारण महानगरपालिकाभित्र पूर्वाधार विकास, पानी, बिजुलीको बढ्दो माग, सार्वजनिक यातायात व्यवस्थापन, फोहोर व्यवस्थापन एवम् वातावरणमा सुधार ल्याउनुपर्ने खाँचो रहेको छ। 

महानगरभित्र गरिबीका कारण सुत्केरी महिलाले अस्पतालको सेवा लिन नसकेको र स्वस्थ तथा सक्षम जनशक्तिको अभावमा उचित सेवा पुर्‍याउन नसकेको भन्ने आम गुनासो पनि महानगरप्रति रहने गरेको छ। कुल बजेटको ठूलो परिणाम कार्यालय सञ्चालन र प्रशासनिक कार्यमा खर्च गरिरहेको महानगर पालिका को ठूला पूर्वाधारमा लगानी गर्ने क्षमता छैन। योजनाबद्ध विकासको अभावमा भएका साधनको समेत उचित सदुपयोग हुन नसकेको, कर्मचारीहरुको व्यवस्थापकीय क्षमता बढ्न नसकेको, स्थानीय निकायको कार्य कुशलता मापन गर्ने योजना अगाडि सारिएपनि त्यो प्रभावकारी रुपमा लागु हुन नसकेको काठमाडौँ महानगरपालिकाका प्रमुख अधिकारीले बताए। 

महानगरपालिकाले वडा कार्यालयलाई सेवा केन्द्रको रुपमा विकास गरिएको जानकारी दिँदै अधिकारीले जनसङ्ख्या, क्षेत्रफल र आय सङ्कलनका आधारमा ठूला वडालाई रु ४० लाख, मझौला वडालाई रु २० लाख र साना वडालाई रु १५ लाख बजेट निकासा गरिने व्यवस्था गरिएको उनले उल्लेख गरे। उनका अनुसार विगत सात वर्षदेखि पूरा हुन नसकेको लेखापरीक्षण सम्पन्न गरिएको र राजस्व असुलीका लागि ३५ वटै वडामा सफ्टवेयर तयार गरी जडान गरिएको र सो सफ्टवेयर जडानपछि करिब ५० हजार घरजग्गाको अभिलेख राखी सकिएको छ। 

यस्तै महानगरपालिकाले एकसय वर्ष पुगेका जेष्ठ नागरिकलाई एकमुष्ट रु दश हजार नगदसहित सम्मान र विसं १९९७ मा सहिद हुनुभएका परिवारका सदस्यलाई मासिक रु दश हजार वृत्ति दिने अभियान पनि सुरु गरेको छ। यस्तै सार्वजनिक-निजी साझेदारीमा पुरानो बसपार्कमा कार पार्किङ, बस पार्किङसहितको बहुतले भवन परियोजना समेत अगाडि महानगरपालिकाले अघि सारेको छ। विपद्को समयमा ३० मिनेटभित्रै एम्बुलेन्स उपलब्ध गराउन प्रतिव्यक्ति रु १५० कर लिने नीतिलाई अगाडि सारिएको छ भने केही समयभित्रै आकस्मिक सुविधा सहितको दमकलका लागि १०२ मा फोन गरेर सेवा लिने व्यवस्था गर्न लागिएको छ। 

यस्तै आजको कार्यक्रममा दिइएको जानकारी अनुसार भवन निर्माण संहितालाई कडाइका साथ लागू गर्ने र मापदण्ड विपरीतका संरचना भत्काउने योजना पनि महानगरपालिकाले अगाडि सारेको छ। महानगर दिवसको अवसरमा प्रधानमन्त्री भट्टराईले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए। सम्मानित हुनेहरुमा नर्वेली नागरिक नाभियो एलकार, नेपाली सेनाका पूर्व अप्राविधिक अधिकृत अमर पन्त, कुमार गोरख शम्शेर लगायत दुई दर्जन भन्दा छन्। यसैबीच महानगरपालिका दिवसको अवसरमा आज बिहान वसन्तपुरबाट झाँकीसहित एक र्‍याली निकालिएको थियो।नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com