बुद्ध र लुम्बिनीलाई व्यवसायको विषय बस्तु बनाउनु हुन्न,


काठमाण्डौ मङ्सिर ३०,


भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठीले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधारको थप विकास गर्ने उद्देश्यले कपिलवस्तु, नवलपरासी र रूपन्देही जिल्ला समेटी एकीकृत विकासको कार्यक्रम लागु गरेको जानकारी दिनुभएको छ । 

कपिलवस्तु समाजको २३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले विकासको पूर्वाधारका रुपमा सडक सञ्जाल विस्तार र भैरहवा विमानस्थलको उन्नतिमा सरकारले प्राथमिकता दिएको हो भन्नुभयो । 

 उहाँले भन्नुभयो, “एकीकृत विकासका लागि गुरुयोजना तयार गरी सडकको पूर्वाधारको काम सुरु भइसकेको छ ।” लुम्बिनीलाई शान्ति सहरका रुपमा विकास गर्न सरकारले गुरुयोजना तयार गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “बुद्ध र लुम्बिनीलाई व्यवसायको विषय बस्तु बनाउनु हुन्न, यी त ऐतिहासिक विषय हुन् ।” 

सो अवसरमा मन्त्री त्रिपाठीले समाजद्वारा प्रकाशित स्मारिकाको सार्वजनिक गर्नुभएको थियो । सो स्मारिकामा लुम्बिनीसम्बन्धी विभिन्न लेखकद्वारा सृजित ४० वटा लेख समावेश गरिएका छन् । नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले लुम्बिनीको विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

 समाजका अध्यक्ष त्रिभुवननाथ पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष सुधनप्रसाद अर्याल, पूर्व अध्यक्ष कालिकाप्रसाद दवाडीले समाजको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।नेपालब्रिटेन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com