जनकराज सापकोटा ;- रेखा महर्जन साँझपख घरधन्दा सकेपछि काखे छोरीलाई घरमै छाडेर झोला च्यापेर हिँड्छिन्। ५ कक्षा पास गर्नेबित्तिकै लगनगाँठोमा कसिनुपरेपछि छुटेको पढाइ सम्हाल्न उनलाई १३ वर्ष कुर्नुपर्यो। तैपनि, समय बितेको पछुतो उनको अनुहारमा झल्किँदैन। बरू एसएलसी त जसरी पनि पास गरिहाल्छु नि भन्ने अनौठो आत्मविश्वास देखिन्छ उनमा।
रेखाजस्तै विद्यार्थीको जमघटका कारण घाम डुब्दै गएपछि काठमाडौँ, नक्सालमा रहेको नन्दी रात्रि स्कुलमा चहलपहल बढ्छ। बढ्दो चिसोबाट बच्न मान्छेहरू घरभित्र पसिसक्दा पनि राती १० बजेसम्म यो स्कुल त्यत्तिकै चलायमान र झलमल्ल रहन्छ।
८ कक्षा पास गरेर बिहे गरेकी ज्योति शर्मा, २२, लाई पनि आफ्नो छुटेको पढाइ सुरु गर्न अर्को आठ वर्ष कुर्नुपर्यो। पढाइदिन्छु भन्ने वाचा गरेका लोग्नेले चासो नदिएपछि उनको धोको वर्षौंसम्म मनमै गुम्सेर रह्यो। अहिले ज्योतिले फेरि ८ कक्षाबाटै पढाइ सुरु गरेकी छन्। तर, उनले यसका निम्ति आमा र जागिरेको व्यस्त भूमिकाबाट फुर्सद निकाल्नुपर्छ।
रेखा र ज्योतिजस्तै यहाँ पढ्ने धेरै विद्यार्थीले आफ्नो चढ्दो उमेरको ख्यालै नगरी छुटेको पढाइलाई निरन्तरता दिइरहेका छन्। उनीहरूको शिक्षाप्रतिको सम्मोहनको कथा आफैँमा अनौठो त छ नै, धेरैका निम्ति त्यो शिक्षाको महत्त्व बुझाउनसमेत काफी छ।
१८ वर्षकै उमेरमा बिहे भएपछि रेखाले स्कुल जाने समय कहिल्यै पाइनन्। श्रीमान् खाडी मुलुकको श्रम बजारमा पुगेपछि त रेखाले पढ्ने कुरा सोच्न पनि सकेकी थिइनन्। बूढाससुरा र दुई छोराछोरीको जिम्मेवारी बोकेकी रेखा दिनभर आफ्नो सानो चिया-चमेना पसलमा व्यस्त रहन्छिन्। तर, बिहान ५ नबज्दैदेखि राती ११ बजेसम्मको व्यस्तताका बीचमा पनि उनले होमवर्क गर्न भ्याएकी छन्। भन्छिन्, "नपढेका मान्छेको इज्जत छैन भन्ने थाहा पाएपछि पढ्ने रहर बढेको छ।" आफूभन्दा धेरै वर्ष साना बाबुनानी सँगसँगै कक्षामा बसेर पढ्न रेखालाई रत्तिभर अप्ठ्यारो लाग्दैन।
अखबारका अक्षरमा आँखा दौडाइरहँदा एकदिन रेखाको नजर '७५ वर्षका वृद्धले एसएलसी दिँदै' भन्ने समाचारमा पुगेर टक्क रोकियो। त्यसपछि उनलाई लाग्यो, यति वृद्धले त पढ्न सक्छन् भने मैले किन नसक्नु ? यही आत्मविश्वासले रेखालाई स्कुलसम्म पुर्यायो। त्यसो त सुरुका दिनमा उनले घर-छिमेकीलाई समेत ढाँटिन्। पढ्नका निम्ति बूढाससुराको अनुमति लिन त उनलाई समस्या परेन तर विदेशमा रहेका श्रीमान्ले भने बुढेसकालमा किन पढ्नुपर्यो भन्ने प्रश्न तेर्साए। भन्छिन्, "मैले हिम्मत हारनिँ। नपढेका मान्छेको दुःख देखाएर श्रीमान्लाई सम्झाएँ।"
अहिले रेखाकै पछि लागेर उनकी जेठानी र भाउजूसमेत स्कुल जान थालेका छन्। रेखाकी भाउजू अर्थात चार छोराछोरीकी आमा लक्ष्मी महर्जन, ५०, समेत अहिले उनीसँगै स्कुल जान्छिन् र अक्षर चिन्छिन्। आफूले हिँडेको बाटो अरूले पनि पछ्याएको देख्दा रेखालाई लाग्छ, "राम्रै काम पो गरिएछ !"
बाँसबारी बस्ने ज्योतिको बिहान यूकेजीमा पढ्ने छोरालाई स्कुल पठाउने तयारीमै बित्छ। दिनभर ट्रेकिङ् एजेन्सीमा स्टोर किपरको काम गर्ने उनी अफिस छुट्न नपाउँदै स्कुल कुद्छिन् र राती अबेर मात्रै घर फर्किन्छिन्। पढ्नु र नपढ्नुमा जिन्दगी कति फरक हुन्छ भन्ने सायद ज्योतिले जति अरू कसैले बुझेको छैन। उनीसँगै स्कुल पढेका कैयन् साथी डाक्टर र इन्जिनियर भए।
तिनीहरूको प्रगतिको कुरा सुन्दा आफूले पढाइ छाडेकै कारण केही गर्न सकिनँ भनेर उनको मन बिथोलिइरहन्छ। भन्छिन्, "नपढेपछि त संसार बुझ्ने चेतना पनि हुँदो रहेनछ।" त्यही भएर ज्योति पढ्न भनेपछि हुरुक्कै हुन्छिन्। खुरुखुरु पढेको भए केके हुन्थ्यो भन्ने सोच पनि उनको मनमा नआउने होइन तर बिग्रेको केही छैन भन्ने सोचेर सम्हालिन्छिन्। छोरालाई पनि पढाउँदै गर्दा उनी पढाइका कुरा छिटो बुझ्ने भएकी छन्।
नन्दी रात्रि स्कुलमा पढ्ने अधिकांश विद्यार्थीको पृष्ठभूमि उस्तैउस्तै छ। दिनभर अरूको घरमा वा अफिसमा निम्न तहको काम गर्ने यस्ता विद्यार्थी मुस्किलले जीवन धान्न पुग्ने तलब थाप्छन् र साँझ स्कुल धाउँछन्। अरू स्कुलमा जस्तो यहाँ पढ्नेको उमेर समूह भने फरकफरक छ। एउटै कक्षामा सानो उमेरका किशोर-किशोरीदेखि लिएर अधबैँसे उमेरमा हिँडिरहेका विद्यार्थीसम्म छन्। उनीहरू कक्षामा दाइ र दिदीको सम्बोधन गर्छन् र सुखदुःख बाँड्छन्।
संसार बुझ्न त पढेकै हुनुपर्दो रहेछ भन्ने जानेरै चण्डिका धिताल, २२, ले सात वर्षअघि छुटेको आफ्नो पढाइलाई निरन्तरता दिइन्। नन्दी रात्रि स्कुलमै ९ कक्षामा पढाइ सुरु गरेकी उनले सिन्धुपाल्चोक लागर्चेको घर छाडेपछि वर्षौंसम्म एक नेताको घरायसी काम गरेर पाँच वर्ष बिताइन्। आफन्तको सहयोगमा काठमाडौँस्थित एउटा प्लस टू कलेजमा आयाको काम पाएपछि भने दैनिकी फेरियो र उनी स्कुल धाउन थालिन्।
स्कुल पुग्ने बेला आफ्नै उमेरका विद्यार्थीले फरर अंग्रेजी बोलेको र आत्मविश्वासी भएको देखेर उनलाई अनौठो मात्रै लागेन, म किन अरूजस्तो छैन भन्ने प्रश्नले पनि घेर्यो। आफूभन्दा धेरै पढेकासँग कुरै गर्न डर लागे पनि उनलाई लाग्यो मैले फेरि पढाइ सुरु गर्नुपर्छ। हिजोआज उनी कलेजको काम भ्याएर साँझ स्कुल धाउँछिन् र फुर्सदका बेला बाबुको तरकारी पसलमा सघाउँछिन्।
रेखा, ज्योति र चण्डिका तीनै जनासँग ठूला सपना छैनन्। जति धेरै पढ्न सकियो, अघि बढ्न त्यति सहज हुन्छ भन्नेमा उनीहरू विश्वस्त छन्। त्यही भएर त उनीहरू दिनभरको काम भ्याएर, हतारोहरूलाई पन्छाउँदै स्कुल धाइरहेछन्। रेखा भन्छिन्, "अरूले के भन्ला भन्ने डर भन्दा पनि पढेर आफ्नो जीवनमा के परविर्तन हुन्छ भनेर बुझ्नु ठूलो कुरा हो।" एसएलसी मात्रै गर्न सकियो भने आफूले काम गर्ने कलेजमै पढ्न पाइएला भन्ने चण्डिकाको आश छ।
इनरुवा घर भएका बाबुराम नेपाल, २६, दिनभर नेपाल विद्युत् प्राधिकरणको गाडी कुदाउँछन्। १४ वर्षअघि ६ कक्षा पास भएर पढाइ छाडेका बाबुरामलाई वषौर्ंसम्म 'पढेर पनि को ठूलो मान्छे भएको छ र !' भन्ने लाग्यो। अर्थोपार्जनको बाटो खोज्दै उनले तीन वर्षसम्म मालवाहक ट्रकमा सहयोगीको काम गरे। ट्रकमा बसेर अनेक ठाउँ घुम्न पनि पाइने र पैसा पनि पाइने भएपछि यही पेसामा उनको मन बस्यो। ट्रक चलाउन सिके र साहूजीको गाडी वर्षौंसम्म कुदाए। जति ट्रक कुदाए पनि आफ्नो जीवनको गति नदौडेको देखेर बाबुराम आत्तिए। उनलाई लाग्यो, 'नपढेका मान्छेको जीवन सधैँ यस्तै हुन्छ।' यही सत्यको बोध गरेर उनी हान्निए नन्दी रात्रि स्कुलतिर।
बाबुराम दिनभर गाडी कुदाउँछन्। सरकारी कर्मचारीलाई मिटिङ्, सभा हल र अनेक ठाउँ उनले नै पुर्याइदिनुपर्छ। दिउँसो फुर्सद भएका बेला उनी गाडीमै बसेर होमवर्क गर्छन् र नबुझेका पाठ पढ्छन्। स्कुल सकेर जोरपाटी नजिकैको कोठामा पुग्दा झन्डै मध्यरात भइसकेको हुन्छ । तैपनि, उनी आफ्नो खानाको जोहो गरेर, दुई-चार अक्षर नपढी सुत्दैनन्। लोडसेडिङ्को रातमा पनि उनी मैनबत्ती बालेर अक्षरमा आँखा डुलाउँछन्। भन्छन्, "पढाइको महत्त्व अहिले बुझ्दै छु।" पढेर धेरै ठूलो मान्छे बन्ने र संसार जित्ने सपना त उनको छैन । तर, जे काम गरे पनि पढेका मान्छेले गर्नु र नपढेकाले गर्नुमा आकाश-जमिनको अन्तर हुन्छ भन्ने उनले बुझेका छन्।
नन्दी रात्रि माविकी प्रधानाध्यापक विजयलक्ष्मी शर्मा गरबि र निम्न आय भएका तर मनैदेखि पढ्नुपर्छ भन्ने बोध भएका विद्यार्थीलाई वर्षौंदेखि नियालिरहेकी छन्। उनलाई लाग्छ, मान्छेहरू पढ्नका निम्ति दुःख उठाउँछन्। भन्छिन्, "सहरमा पढ्न रहर भएका धेरै मान्छेलाई नन्दी रात्रि स्कुल धाइरहेका यी विद्यार्थीबारे थाहै छैन।"