हेटौंडा, पुस १७ ,
प्रताप बिष्ट : सँगै मर्ने-बाँच्ने कसम खाएर दाम्पत्य सम्बन्ध गाँसेका एक युवकले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नीको हत्या गरेका छन् ।
बेलुका खाना खाएर दुवै जना कोठामा गएपछि युवकले शारीरिक सम्पर्क गर्न खोज्दा पत्नीले नमानेकाले कपालमा समातेर भुइँमा टाउको ठोक्दै हत्या गरेको खुलासा भएको हो । मकवानपुरको उत्तरी गोगने-५ का प्रेमबहादुर मुक्तानले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नी बिबिमायाको हत्या गरेका हुन् ।
प्रहरी हिरासतमा रहेका ३५ वषर्ीय प्रेमबहादुरले घटनाको विवरण सुनाउँदै 'मंसिर २५ को राति पत्नीले यौनसम्पर्क गर्न नदिएपछि कपालमा समातेर भुइँमा ठोक्दा मृत्यु भएको' कान्तिपुरसँग बताए । '४७ वषर्ीया बिबिमाया खोकी र दमबाट पीडित थिइन्, उनको पाठेघर खसेको थियो, महिनावारी पनि रोकिएको थियो,' अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक सूर्य श्रेष्ठले भने, 'उमेरले बिबिमायाभन्दा १२ वर्ष कान्छो र निरोगी प्रेमबहादुरलाई यौनतृष्णा मेटाउन नसकेका कारण उनको हत्या गरेको खुलासा भएको छ ।'
सुत्ने कोठामा पत्नीको हत्या भएपछि राति नै डोकामा शव राखी आफैंले बोकेर नजिकको भीरबाट खसालेको पनि प्रेमबहादुरले बताए । अपराधबाट बच्न सुरुमा उनले 'जंगलमा घाँस लिन जाँदा भीरबाट खसेर मरेको' छिमेकीलाई बताएका थिए ।
एक वर्षयता बिबिमाया र प्रेमबहादुरका बीचमा बेला-बेलामा झगडा हुँदै आएको उनका छिमेकीले बताए । 'तर हत्या नै गर्छ जस्तो लागेको थिएन,' स्थानीय जसबहादुर स्याङतानले भने, 'कसरी बिबिमायालाई मार्यो थाहा भएन ।'
बुवाले आमाको हत्या गरेको ७ वषर्ीय छोरा कविलासले मात्र होइन, घरमै रहेका प्रेमबहादुरका भाइले पनि थाहा पाएनन् । प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठका अनुसार घटनाको एक सातापछि मात्र प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धान क्रममा प्रेमबहादुरले यौनसम्पर्क गर्न नपाएको झोंकमा पत्नी बिबिमायाको हत्या गरेर भीरबाट फालेको बयान दिएका छन् । 'प्रेमबहादुरमाथि ज्यान मुद्दा दर्ता गराएका छौं,' उपरीक्षक श्रेष्ठले भने ।
'यौनसम्पर्क गर्न नमानेपछि सहनै सकिनँ र पत्नीको हत्या गरंे,' प्रेमबहादुरले कान्तिपुरसँग भने, 'अब चिन्ता दुई कक्षामा पढ्दै गरेका ७ वर्षे छोरा कविलासको बिचल्ली हुने भो भन्ने भएको छ ।'
प्रेमबहादुरले आग्रा-५ डाँडावासबाट बिबिमायालाई आठ वर्षअघि दोस्री पत्नीका रूपमा भित्र्याएका थिए । बिबिमायाको पनि प्रेमबहादुर दोस्रा पति हुन् । डाँडावासमा पहिलो श्रीमान्बाट जन्मेको एक सन्तानलाई छाडेर बिबिमाया प्रेमबहादुरसँग आएकी थिइन् । प्रेमबहादुरकी पहिलो पत्नीको १० वर्षअघि सुत्केरी हुने क्रममा मृत्यु भएको थियो ।इकान्तिपुर;