ज्यिउदै जलाइएकी हासमीको अन्ततः मृत्यु

काठमाडौं, मंसिर २८,

दीपक दाहाल :- बिहे गर्न नमानेपछि शरीरमा पेट्राल छर्किएर आगो लगाइएकी बर्दियाकी शिवा हासमीको बुधबार वीर अस्पतालमा मृत्यु भएको छ।

उपचार भइरहँदा मंगलबार चिकित्सकहरूले सुधारको केही संकेत देखिएको बताएका थिए। तर बुधबार बिहान एक्कासि अवस्था गम्भीर भएपछि तयारी अवस्थामा राखिएको भेन्टिलेटरसमेत जोड्न नभ्याएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। प्लास्टिक सर्जन डा. पियुष दाहालले शरीरको ९० प्रतिशत भाग गहिरो गरी जलेकाले हासमीलाई बचाउन नसकिएको बताए। '३० प्रतिशतभन्दा बढी भाग जल्यो भने खतरा हुन्छ। उनको ९० प्रतिशत जलेको थियो,' उनले भने, 'धेरै प्रयासले केही सुधार आएजस्तो भएको थियो। बुधबार त बिहानै मृत्यु भयो।'

 गलरिया­८ की १६ वर्षीया हासमी शुक्रबार बिहान आफ्नै घरपछाडि धाराछेऊ शरीर ह्वारर्ह्वाती बलिरहेको अवस्थामा फेला परेकी थिइन्। घटनालगत्तै उनलाई जिल्ला अस्पताल बर्दिया र त्यसपछि नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगिएको थियो। अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरूले तत्काल काठमाडौं लैजान भने पनि सहयोग रकम जुटेपछि उनलाई सोमबार मात्रै वीर अस्पताल ल्याइएको थियो। गहिरो गरी जलेको अवस्थामा शरीरले विस्तारै काम गर्न छाड्छ। 'काठमाडौ ल्याइपुर्‍याउँदा पिसाब थिएन्, अक्सिजनको मात्रा निकै कम थियो,' डा. दाहालले भने, 'अक्सिजन र दुखाइ कम गर्ने औषधी दिएपछि मेन्टेन भइरहेको थियो।'

चिकित्सकका अनुसार उनी बेल्न नसक्ने भए पनि भनेको बु‰ने अवस्थामा थिइन्। 'मुख खोल'भन्दा खोल्थिन्। आँखा चलाएर संकेत गर्थिन्। उनी सचेत अवस्थामै रहेकाले चिकित्सक टोलीले भ्यान्टिलेटर तयारी अवस्थामा राखे पनि जोडेको थिएन। तर बुधबार बिहान अचानक भ्यान्टिलेटरसमेत जोड्न नभ्याउने गरी हासमीको अवस्था खस्किएको अस्पतालले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र महिला तथा बालबालिका कार्यालयको समन्वयमा विभिन्न अधिकारवादी संस्थाले आर्थिक स्रोत जुटाएर उपचारका लागि हासमीलाई काठमाडौं ल्याइएको थियो। पछि सरकारले उनको सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएको थियो।

 'घटनालाई मोड्न खोजियो' बिहे प्रस्ताव अस्वीकार गरेको भन्दै गुलरिया-८ मै डेरा बस्ने भारत बहराइचक बाबु खानले पेट्रोल छर्किएर आगो लगाएको किटानी हासमीले प्रहरीसमक्ष गरेकी थिइन्। जिल्ला अस्पतालमै पीडितको किटानी बयानपछि बर्दिया प्रहरीले २३ वर्षे खानलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ। तर अहिले घटनालाई अन्यत्रै मोड्ने प्रयास भइरहेको आरोप हासमीको परिवारले लगाएको छ। मृतकका दाइ तनवीर अहमद हासमीले जिवित अवस्थामा स्वयं पीडितले दिएको किटानी नै ठोस प्रमाण भएको बताए। ‘बहिनीलाई एक्लै राखेर जिल्ला अस्पतालमा प्रहरीले लिएको बयानभन्दा अरु के प्रमाण के हुन सक्छ?,' उनले भने।

 स्थानीयवासी र खानका आफन्तले पीडित किशोरीले त्यतिबेला दिएको किटानी बयान र पीडित परिवारको जाहेरी गलत भएको दाबी गरिरहेका छन्। ‘कोठाबाट चिच्याउदै किशोरी निस्केको हुँदा बाहिरको व्यक्ति गएर जलाएको हुन सक्दैन,' स्थानीय आरिफ अहमद राईले भने, ‘म घटनास्थल पुग्दा कोठाभित्रबाट चिच्याउँदै बाहिर पानी जमेको गड्डा(खाल्डो)मा ऊ हाम फालेकी थिई।' घाइतेलाई उपचार गर्न अस्पताल लैजानु साटो परिवारले घरमै राख्न खोज्दा आफैंले लैजाने व्यवस्था गरी प्रहरीलाई खबर गरिदिएको उनको दाबी छ। 'किशोरी जलिरहेका बेला बाबु खान आफ्नै ओछ्यानमा सुतिरहेका थिए,' उनले भने।

आरोपी खान बस्ने घर र घटनास्थलको दुरी भने करिब २० मिटर मात्र रहेको स्थानीय बताउँछन्। प्रहरी नियन्त्रणमा रहेका खान निर्दोष रहेको भन्दै स्थानीयले मंगलबार बर्दियामा नाराबाजीसमेत गरेका थिए। खान निर्दोष रहेको भन्दै मुस्लिमसम्बद्ध संस्था र स्थानीयले प्रहरी-प्रशासनको ध्यानार्कषण गराएका थिए।

अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने र हासमीको परिवारलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ। प्रमुख जिल्ला अधिकारी मानबहादुर बिकले घटनाको सूक्ष्म अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन दिएको जनाए। ‘किशोरी बाँचेको भए, धेरै रहस्य खुल्यो,' उनले भने, 'अनुसन्धान गर्ने काम प्रहरीको हो। पक्कै पनि विस्तृत कुरा थाहा हुनेछ।'नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com