'सेतो धरती'बाट 'घर्ती' भन्ने शब्द हट्ने

पुस १,

गजेन्द्र बोहरा, घोराही :- यो वर्षको मदन पुरस्कार विजेता पुस्तक 'सेतो धरती'बाट 'घर्ती' भन्ने शब्द हट्ने भएको छ। 

लेखक अमर न्यौपानेले दाङमा शनिबार पाठकसँग साक्षात्कार गर्दै पुस्तकको तेस्रो संस्करणबाट 'घर्ती' शब्द हटाउने जानकारी दिएका हुन्। पोखराका भुजेलहरुले आपत्ति जनाएपछि उनी यो निष्कर्षमा पुगेका हुन्। 

'त्यो शब्द हटाउँदा सेतो धर्तीलाई केही फरक पर्दैन, तेस्रो संस्करणमा हुने छैन,' उनले भने, 'मेरो आशय कसैको मन दुखाउनु चाहिँ थिएन, बरु त्यसले उहाँहरुको इतिहासलाई अझ बलियो बनाएजस्तो मलाई लाग्छ।' कथाको परिवेशअनुसार उनले 'घर्ती'हरुलाई सकारात्मक रुपमा प्रयोग गरिएको बताए। 

'बालदुलही तारालाई बोकेका बेला पिठ्युँमा चिमोटेको कुरा छ, त्यो उनको बालविवाहलाई अस्वीकार गरेको विम्बको रुपमा आएको छ,' उनले प्रष्ट्याए, 'त्यस्तै तारा किरिया बसेका बेला त्यो मैलो शरीर(घर्तीको)बाट आएको पसिनाको गन्ध, बालबिधवाको गन्धको रुपमा चित्रित छ।' उनले त्यसबारे अनेक विवाद आए पनि आफूले गलत रुपमा प्रयोग नगरेको जीकिर गरे। 

'अहिले हटाइदिन्छु, केही छैन, तर एकदिन उहाँहरुले फेरि घर्ती शब्द राखिदिनुस् भन्नुहुनेछ भन्ने मलाई लाग्छ,' न्यौपानेले भने, 'त्यतिबेलाको यथार्थलाई मैले देखाउन खोजेको हुँ, कसैलाई नराम्रो चित्रण गरेको होइन।' 

दाङमा 'मदानी साहित्यिक समूह'को आठौं शृंखलामा पाठकहरुसँग साक्षात्कारका निम्ति आएका लेखक न्यौपानेले लेखनका प्रसङ्गहरु सुनाएका थिए। उपन्यास बालबिवाह तथा बालबिधवाको जीवन भोगिरहेकाहरुको कथामा लेखिएको छ।नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com